उस्ले नबोल भन्दा म बोलिरहन्छु
उस्ले नहेर भन्दा म हेरिदिन्छु
उस्ले टाढा जा भन्दा नजिक भैदिन्छु
उस्ले जे नगर भन्छे म त्यही गरिदिन्छु
उस्लाई सरी मन पर्दैन, मै त्यही भनिदिन्छु
उस्लाई जे मन पर्दैन म सधैँ त्यही गर्छु
बुझेर या बुझ पचाएर
जानेर या नजानेर
थाहा छैन किन?
ऊ रून्छे म नि रून्छु
ऊ हाँस्छे म नि हाँस्छु
फरक यति छ
ऊ मलाई हँसाउछे म उस्लाई रुवाउँछु।
मेरो इच्छा कहिल्यै उस्लाई नरुवाउँनु हो
तर मेरा शब्दहरूले मलाई नै झुक्याएर
तिर बनेर उस्को छातीमा बज्रिँदा
म पनि हुरूक्क हुन्छु।
फरक यति छ
उस्को हुरुक्क मलाई थाहा हुन्छ
मेरो हुरुक्कले अर्कै रूप लिन्छ।
मलाई सोचेर बोल्न पनि राम्रोसँग आउँछ
तर ऊसँग के सोचेर बोल्नु जस्तो लाग्छ।
मलाई पत्तै हुँदैन मेरा शब्दहरूले
उस्लाई छिया छिया पार्छ।
मैले हाँसेर बोलेका केही वाक्यहरूले
उस्को वाक्य बन्द गरिदिन्छ।
मैले कहिले सोचिनँ
मलाई सायद जिस्किन आँउदैन
या त उस्लाई जिस्केको मन पर्दैन।
खै के हुन्छ, बारम्बार हाम्रो यस्तै हुन्छ
फरक यति छ म बोलाइरहन्छु
ऊ बाई अब नबोल भनिरहन्छे।
म एक्लो हुन्छु उस्लाई नदेख्दा
एकदम रित्तो हुन्छु उस्लाई नभेट्दा
उस्ले नभेटम् भन्दा भेट्न मन लाग्छ।
उस्ले नसोचेको बेला पुग्न मन लाग्छ।
ऊ रिसाउँछे मलाई फकाउन आँउदैन
म रिसाएको कहिल्यै हुँदिनँ
तर किन मन बेचैन हुन्छ
मलाई केही थाहा छैन।
फरक यति छ
म रिसाएको जस्तो गर्छु
ऊ साँच्चिकै रिसाएकी हुन्छे।
मैले धेरै रुवाएको छु उस्लाई
रोदनको कारण बनेको छु म सधैँ
रूँदा रूघा उस्लाई लाग्छ
मलाई यतिकै थाहा हुन्छ
ऊ रोएकी छैन बिन्दास हो भन्छे
आँखाले रूवाइको प्रमाण दिन्छ।
मेरो कारणले कति रूनु परेको
अमूल्य मोति दाना आँसु झरेको
मलाई नि साँच्चै नराम्रो लाग्छ।
सोच्छु मैले किन यस्तो गरेको?
फरक यति छ
मलाई गल्तीको महशुस हुन्छ
उस्लाई मैले जानी जानी गरे जस्तो लाग्छ।
तिमीसँग धेरै सोचेर बोल्नु परेको दिन
मनको कुरा अरूसँग खोल्नु परेको दिन
कि त म यो दुनियाँमा हुँदिनँ होला
तिम्रो आवाज पक्कै सुन्दिनँ होला।
तिमी रुँदा रुँदिनँ होला
हाँस्दा हाँस्दिनँ होला।
मलाई हिजोको विगतले बोलाउँदा
उस्लाई भोलिको चिन्ताले सताउँछ।
म वर्तमानमै रमाउन खोजूँ भन्छु
फेरि भविष्यको चिन्ता थपिन्छ।
यस्तै चल्दैछ अचेल जीन्दगीमा।
नरिसाऊ यार भन्ने त हो
रिसाएको त कहाँ देखिन्छ र?
नरोऊ भन्ने त हो
रोएको कहाँ देखिन्छ र?
यति भन्छु मेरो कारणले उस्को मन नदुखोस्
आँसु नझरोस् पीडा नहोस्।