म लेख्छु। मलाई लेख्नुछ। मेरो भोगाइको मसीमा चोपेर मेरा भावनाको कलमले केही अक्षरहरु कोर्नु छ। कत्तिले सुन्न बाँकी कथा लेख्नु छ। धेरैले भोग्न बाँकी व्यथा लेख्नु छ।
मायाको भाव नबुझ्ने ती मुटुहरुका सेता पर्दा मेरा काला अक्षरले हटाउनु छ। बासनालाई प्रेम देख्ने प्रेमीहरुको मनमा प्रेमको अर्थ खोपिदिनु छ। धनले छेकेको मनमा अलिकति आत्मियता रोपिदिनु छ।
चस्मा टल्काउने होडबाजीमा नजर संग्ल्याउने शब्द खोज्नु छ। मेरा अक्षरका रंगले कसैको फुस्रो जीवनमा रंग भर्नु छ। मलाई मेरा शब्दका प्रहारले केही कुविचारहरुलाई फाँसी लाउनु छ अनि कुविचार जन्माउने ती बिउहरुलाई काँसी लानु छ।
मेरो कल्पनाको कथाले कसैको वास्तविक व्यथा भुलाउँछ भने, मलाई त्योभन्दा बढी के चाहियो र? मेरा शब्दका रापले कसैका हरेस खाएका आँत ब्युँतिन्छन् भने त्यो मेरो जित हो। मलाई शब्दका सागर बेचेर इँटाका घर ठड्याउनु छैन।
इँटाका खातले त मात्र माटो बोकेको हुन्छ तर मेरा अक्षरका खातले धेरैका ढुकढुकी बोकेका हुन्छन्। मलाई लेख्नु छ, धेरै लेख्नु छ। नेपालका कुना कुनामा लुकेका जीवन खोतल्नु छ। खाडीका बालुवामा भासिएका सपना खोज्नु छ।
न्यायले मुन्टो बटारेका आँसुको भित्री मर्म बुझ्नु छ, विद्वान् भनिने महाज्ञानीको मनको धर्म बुझ्नु छ। चाहे मैले कुनै मिठो फल नपाउँ या त तितो फल भोग्नु नै परोस् मलाई केबल मेरो कलमलाई चलाएमान बनाउनु छ।
म मेरो अक्षरलाई कहिल्यै सकिन दिन्नँ, कलमलाई कहिल्यै रोकिन दिन्नँ। भलै यसले पेट भरिन्न होला, तर यसले खाली पेटको पीडा अरुमा भर्दिनेछ। भलै यसले आङ नढाकियोस् तर यसले ती नांगिएका विचारलाई ढाक्नेछ।
सायद यसले प्यास मेटाउन नसक्ला तर ती कुकर्म गर्ने प्यासहरु मेटाउने छ। स्वार्थमा बिकेका चाहनाहरुमा सेवाको भाव सल्काउनेछ। ती कुर्सीमा उफ्रिने पोटिला जुँगे ओठहरु झैं सपनाको व्यापार यसले गर्न नसक्ला, तर यथार्थमा बाँचिरहेका चाउरिएका सुकेका ओठहरुमा अलिकति आँट भर्दिने छ, अलिकति सास भर्दिने छ।
म सबै गरिबलाई धन पस्किने हैसियत राख्दिनँ न त हरेक भोकालाई भात पस्किने नै। तर म टन्न खाएर डकार्नेहरुको दिमागमा भोकको अर्थ पस्किन सक्छु। मेरो कलमले अपराधीलाई मार्न नसक्ला, मेरो कलमले बलात्कारीलाई काट्न नसक्ला। तर मेरो शब्दले न्यायापालिकालाई तर्साउन सक्छ, सुस्ताएकी ती न्याय देवीलाई तंग्र्याउन सक्छ।
कसैका शब्द मूल्यमा बिक्लान् त कसैका विचार सिद्धान्तमा तर मेरा अक्षरका मर्म मात्र चेतनामा बिक्छन्। शिक्षाका पसल बजारमा छ्याप्छ्याप्ती छन्, स्वास्थ्यका पसल मोड मोडमा छन्। तर चेतनाको पसल पाउन निकै कठिन छ। हो, त्यसैले म लेख्छु, जबसम्म मेरा अक्षरले चेतनाको फु... गर्न थाक्दैनन् तबसम्म म लेख्छु।
फरकपन सोचमा हुन्छ, जोसमा हैन। म होसमा लेख्छु बेहोसमा हैन। डाक्टरले मर्न लागेको ज्यान जोगाउँछ अनि मेरो कलमले मर्न लागेको आत्मा। दर्जीले च्यातिएको लुगा सिलाउँछ अनि म च्यातिएका विचार सिलाउन कोशिश गर्छु। भलै म चेलीका च्यातिएका चोली टाल्न नसकूँला तर फाटेका मनमा शब्दको मल्हम पोतिदिन सक्छु।
म उध्रेको चोलीमा रमाउने रहर छेक्न नसकूँला तर ती पिपासुका प्यासलाई क्रोधित वाक्यले पुरिदिने प्रयास गर्नेछु। मैले अझै धेरै गर्नुछ, धेरै लेख्नुछ। मेरा आँसुले रुझेका कथा कोर्नुछ, मेरा हाँसोले भोगेका व्यथा गोढ्नु छ।
खरको छानामुनी उम्रिएका सपनालाई हुर्काउनु छ। डलरको छानामुनि टुक्रिएका सम्बन्धलाई फर्काउनु छ। फाटेका मन टाल्नु छ, निभेका विचार बाल्नु छ। अझै धेरै लेख्नु छ।
चाहे मेरो हात थाकोस्, या त कसैले औंला समातोस् मेरो अक्षरले सदैव कोरिरहनेछ। चाहे कसैले धम्क्याओस् या तर्साओस्, चाहे कसैले उसको उत्तर नभेटोस् या त ठूलो प्रश्न नै तेर्साओस् कि ‘लेखेर के पाउँछस्?’