ओद्दा खर्कका मुढा पल्टाउँदै
सिस्नेरीको ठूलो ढुंगो लछार्दै
अम्रास खोलाको काठेपुल भत्काउँदै
पशु चौपाया, गोठ र गाउँ बगाउँदै
उर्लेर आयो त्यो नदी हेर
भदौको भेल बनेर।
मालढुंगा, कालढुंगा
ठूलढुंगा र सानढुंगाका नाममा
एकअर्कालाई उक्साउँदै
जुधाउँदै,लडाउँदै
चोइट्याउँदै, टुटाउँदै र छुटाउँदै
उर्लेर आयो त्यो नदी हेर
भदौको भेल बनेर।
मुसलधारे झरी र खहरे खोलाको
कलिलो र आलो रगतको बलमा
झनै उग्र हुँदै झनै व्यग्र र तीव्र हुँदै
पाखा, पखेरालाई खबरदारी गर्दै
थर्काउँदै र कपाउँदै
उर्लेर आयो त्यो नदी हेर
भदौको भेल बनेर।
माछाका भुराहरु कुरमा बस्न नपाउँदै
मछलीहरुले प्रेम साट्न नपाउँदै
रुखका जराले निमेषमै भत्काइदियो
त्यो सुन्दर मछली संसार
माछाहरुको भागदौड मच्चियो
भाग्दा भाग्दै खकौली र खुँगाको एम्बुसमा परेर
मछली संसार त क्षणभरमै तहसनहस पो भो!
नदी जवाफ दिँदैन।
गड्याङगुडुङ गर्दै मेघ गर्जन भो
बिजुली चम्किँदा चम्किँदै
कैँयन चट्याङ सहिदहरु थपिए
नदी झनै उत्तेजित र उत्साहित हुँदै
भदौको विगुल बजाउँदै
ब्रिफिङ गर्न थाल्यो।
हामी भदौ सफलताको नजिक नजिक पुग्यौँ।
टक्र्यायो विशेष धन्यवाद!
खहरे खोला, आँधी, तूफान, मुसलधारे झरी
र चट्याङ्गे गड्याङगुडुङलाई।
किनारको बालुवामा गिल्स चलाउँदै
प्याक्प्याक्ति मुख बाहिरहरेको माछालाई हेर्दै
सेतीबगरमा लस्करै ढलेका दाउराका
लासहरुलाई नियाल्दै
नदी भदौ सफल भएको घोषणा गर्दछ।
चैतको दिनमा सोही नदी
आत्मसमीक्षा गर्दैछ।
मरेको जाँगरमा खुइय! खुइय! गर्दै
आफ्नो विगत भदौ सम्झिँदै
जब कमिलाहरु आफ्नै टाउकामा टेकेर
वारपार गरेको देख्छ।
चैतकै दिनमा सन्तान गुमाएको शोकमा
रुखहरू पुर्पुरोमा हात लाउँदै भन्दैछन्
'अब राहतको रत्तिभर पनि आश छैन,
नदी त सुक्यो!'
चैतकै दिनमा पीडित ढुंगाहरुले
ढुंगे प्रतिष्ठान निर्माण गर्दै,
एउटा ढुंगोले उद्घोष गर्यो,
'शोक सन्तप्त, घाइते, वेपत्ता र अपांग ढुंगाहरुको
न्यायको लागि आवाज उठाउँदै,
अब हामी ढुंगाहरू एक हुनेछौँ।
चैतकै दिनमा ढुंगे अधिकारकर्मीलाई बोल्ने साहस पलाउँछ
र भन्छन्-
भदौको भेलले सबैलाई अनायासै जुधायो।
कसैले फिस फ्राइ खाए।
कसैले पुस, मागमा आगो तापे।
जुन मुद्धा अब हामी हेग लान्छौँ।
जेष्ठको अन्त्यतिर,
नदी बेसरम भएर भन्दैछ
फेरि पनि
मुसलधारे झरी, खहरे खोला र गड्याङगुडुङहरुको
साथ मिल्नासाथ म अर्को भदौ
लिएर अवश्य आउनेछु।
चारैतिर सन्नाटा छ...