आदरणीय गुरुआमा,
हेमन्त ऋतुको सिरेटोले मुटु कमाएको छ। आकाश धुम्म छ। बादलले सूर्यको न्यानो घामलाई छेकेको छ। जसरी मेरो मन अँध्यारिएको छ, त्यसैगरी धर्ती पनि बिरक्तिएकी हुन् कि जस्तो भान भइरहेछ मेरो मनमा।
गुरुआमा, तपाईंलाई चिठी नलेखी बस्न सकिनँ किनकि म अचेल साह्रै एक्लिएको छु। तपाईंको साथ हुँदा फेरेको सुखको श्वास अहिले पीडामा परिणत भएको छ। तपाईं कहाँ हुनुहुन्छ? के गर्दै हुनुहुन्छ? म बेखबर छु।
बारम्बार कल्पे चिठी नलेखूँ। तर सेतो कागजमा मनको बेदना पोख्दैछु, कलम र शब्दहरुको संयोजनबाट। यतिबेला म विद्यालयमा हुनुपर्ने हो, तर म छु बारीको पाटामा। मेरो वरिपरि बाँझो बारी छ।
मानिसहरुले अन्नबाली उब्जाउन अल्छी गरेझैं मैले पनि मेरो पढाइको अन्नबाली उब्जाउन अल्छी गरिरहेको छु। जसरी बारी बाँझिएको छ। त्यसैगरी मेरो मन पनि बाँझो बारीसरी बाँझिएको छ।
पढाइ मात्र नभएर जीवन जीउने तरिका र जीवनलाई अनुशासित बनाउने पाटो मैले तपाईंबाट सिकेको थिएँ। तर कहिलेकाहीं सिकाइ र बुझाइले मात्र जीवन चल्दो रहेनछ।
हामीले आफूभित्र धारण गर्न खोजेका कुराहरु पनि समय परिवेश अनुसार बदलिने रहेछन्। आफ्नै मन पनि तेजवेग सरी बहकिने रहेछ। गुरुआमा जीवन घामजस्तै न्यानो र खोलाको पानीजस्तै सरल हुन्छ भन्नु भएको थियो तपाईंले। तर त्यस्तो कहाँ हुँदोरहेछ र?
जीवन खोलाको पानीजस्तै अविरल बगिरहने प्रक्रिया हो थुनेर थुनिदैन भन्नु भएको पनि थियो। तर आज मेरो जीवन कुवाँको पानीजस्तै थुनिएको छ। चारैतिरबाट बन्द छु म आफैभित्र। म त्यही कुँवाको पानी बनेको छु, जुन पानी थुनिएपछि बग्ने अवसर पाउँदैन।
जीवन खुसी र संघर्षको लागि हो। जीवन पढाइमा अब्बल र दुर्लभ हुनेको मात्र पनि होइन। पढाइमा कमजोर हुनेहरुले पनि जीवनमा ठूलाठूला काम र आविष्कार गरेका छन्।
एउटा सडक बालक गोर्की कसरी प्रख्यात लेखक बने? दार्शनिक सुकरात पच्चिसौं सय वर्ष हुँदा पनि हामीमाझ अझै अमर छन्। तपाईंले नेपाली पढाउँदा भन्नु भएको थियो हैन हामीलाई?
गुरुआमा, यो कुरा केही वर्ष अगाडिको हो। मेरी आमा हामीलाई छोडेर कता भाग्नु भयो पत्तै भएन। मेरा बाबाले जाँड खाएर छोडी होली भन्थे रे गाँउलेहरुले। म रातभरि रुन्थेँ आमा सम्झेर।
विद्यालय पुगेपछि तपाईंलाई आमा भनेर बोलाउँथेँ। आमा भन्ने शब्दले नै मेरो मनको हतास मेटाउँथ्यो। तपाईं मुसुक्क हाँसेर मलाई काखमा लिनुहुन्थ्यो। मलाई मेरै आमाको काखमा बसेजस्तो लाग्दथ्यो।
त्यसपछिका कयौं दिनहरुमा म तपाईंलाई आमा भनेर बोलाउँथें र तपाईंकै काखमा बसेर अक्षरका दाना खेलाउँथेँ।
कक्षा पाँचमा पढ्दाको कुरा हो। तपाईंलाई आमा भनेर मैले चिच्याएर बोलाएको थिएँ। सोहन र मिना बेस्सरी हाँसेका थिए। गुरुआमालाई आमा भन्छ भनेर सोहनले गिज्याएको थियो। 'तेरी आमा भागेर गुरुआमालाई आमा भनेको हो?' कुबेरले सोधेको थियो।
'हो के गर्छस्? फेरि भन्छु आमा! आमा!!' भन्दै छाती ठोक्दै उसको अगाडि गएको थिएँ। 'जा जा, गुरुआमाकै घरमा गएर बस्' मिनाले भनेकी थिई।
'अर्कोदिन आमा मेरो गृहकार्य हेर्नुहोस्' मेरो आवाज सुनेर सोहन तात्तियो र राता आँखा मतिर फर्कायो। मैले झुक्किएर हो भन्दै बोली फेरेको थिएँ।
कक्षा सातमा पढ्दा आमा गृहकार्य के भनेर सोधेको थिएँ। 'हेर्नुस् त गुरुआमा, तपाईंलाई साहिलले आमा भन्छ' बिनोदले कुरा लगाएको थियो।
'भन्न देऊ' भन्दै तपाईंले मतिर हेरेर हाँस्नु भएको थियो। म धेरै खुसी भएर एकछिन भएपनि आमाको न्यास्रो मेटाइरहेको थिएँ।
जब मलाई आमाको न्यास्रो लाग्दथ्यो, तब म तपाईंलाई आमा भनेर बोलाउँथेँ। नजानेर होइन, जानेरै बोलाएको हुन्थेँ। साथीहरुले के भन्छन्, मलाई त्यसको प्रवाह थिएन। कयौं पटक तपाईंलाई आमा भनेर बोलाएको थिएँ। केवल तपाईंले मपट्टि हेरेर मुस्कुराउँदा मैले आमाको न्यास्रो मेटाउने प्रयत्न गर्थेँ।
कक्षा आठमा पढ्दा एकपटक चर्को स्वरले तपाईंलाई आमा भनेर बोलाएँ। विकासले भन्यो 'अब चाहिँ यो पक्कै पागल भएछ।'
'चुप लाग्' भनेर तपाईंले विकासलाई भन्नु भएको थियो।
'देखिस् के गर्छस्?' भनेर मैले विकासलाई मुखेजवाफ फर्काएको थिएँ।
'आमा भन्दैमा गुरुआमा आमा हुने हो र?' मिनाले मुख बङ्ग्याउँदै भनेकी थिई। तपाईं हाँसेर मतिर हेर्दा नै मैले आमाको न्यास्रो मेटाएको हुन्थेँ।
जब आमाले हामी दुई दाजुभाइ र बाबा छोडेर भाग्नुभयो। म त्यसताका एक कक्षामा पढ्थेँ। केही महिनापछि दाइ पनि कक्षा ६ को आफ्नो पढाइ, बाबा र मलाई छोडेर भागेको थियो।
जब म राम्रोसँग बुझ्ने भएँ, तब थाह पाएँ ऊ त एउटा गाडीको खलासी पो बनेको रहेछ। दाइलाई पढ्न जाऊ भन्थें। तर उसले आफूलाई पढ्न रुचि नभएको बताउँथ्यो। म खिन्न हुन्थेँ।
गुरुआमा मेरो आडैमा एउटा कालो कुकुर बसिरहेछ। यति बेला मेरो पीडाको साक्षी यही मात्र छ। मानिसभन्दा पशुपंक्षी नै आफ्ना हुँदा रहेछन् एक्लो भएको बखतमा र बेदनाले घेरिएको बेलामा।
केही महिना अगाडि तपाईंले एउटा कथा भन्नुभएको थियो। जुन कथाको सारांश भन्न चाहन्छु म यहाँ। मलाई त्यो कथा झलझली याद आएको छ गुरुआमा।
एउटा गाँउ थियो। त्यस गाउँका केटीहरुलाई विद्यालय जान मनाही गरिएकाले सानी पनि दिनभरि पुड्के चराउन खोलाको बाटो हुँदै वनतिर जान्थिन्। त्यस गाउँमा केटाहरुले मात्र पढ्ने चलन थियो रे। गाउँभरिका केटीहरु विद्यालय टेक्न वञ्चित भएकोले आफ्ना गाईवस्तु लिएर गोठालो जान्थे।
सानीले खाना र पुड्केले कुँडो खाइसकेपछि उनकी आमाले दाम्लोबाट पुड्केलाई फुकाइदिन्थिन्। दिनभरि पुड्के आफ्नो साथीहरुसँग चर्दथ्यो भने सानी आफ्ना साथीहरुसँग खेल्दथिन्।
साँझ घर फर्किदा झिँजाको बिटो लिएर उनी घरतिर लाग्दथिन्। सानीले एकदिन आमालाई सोधिन्, 'आमा हामीहरु किन विद्यालय जाँदैनौं?'
आमाले भनिन् 'तिमी विद्यालय गए पुड्के कसले चराउँछ? त्यही पनि यो गाउँमा केटीहरुले पढने चलन छैन।'
'किन पढ्ने चलन छैन आमा केटीहरुले?' सानीले फेरि आमालाई प्रश्न गरिन्।
तर सानीकी आमा चुपचाप आफ्नो कामतिर लागिन्। सानीले आफूले गरेको प्रश्नको उत्तर नपाउँदा पुर्लुक्क आमातिर हेरिन् र मन खिन्न पारिन्।
पल्ला गाउँका केटीहरु गौचरणको बाटो हुँदै विद्यालय जान्थे। सानीले तिनीहरुलाई देख्थिन्। दिनहुँजसो आफू गौचरणमा जाँदा देखिएका ती केटीहरु विद्यालय पोशाकमा हिँडेको देख्दा उनका मनमा खुल्दुली र पढ्ने जिज्ञासा बढ्दै जान्थ्यो।
एकदिन सानीले रेडियोमा केटीहरुले बोलेको र गीत गाएको सुनिन्। सानीले दाइलाई सोधिन् 'हामीले पढ्न किन नपाएको?'
उनले भने 'तिमीहरु पढ्न गए गाईवस्तु कसले हेर्छ?'
दाइका कुरा सुनेपछि सानीले बल्ल बुझिन्। पुड्के चराउन परेकोले आफूले पढ्न नपाएको कुरा। अर्कोदिन सानीले झिँजा बटुल्दै थिइन्। पुड्के र उसका साथीहरु चरिरहेका थिए। पल्ला गाउँका केटीहरु पत्रिका पढदै आउँदै थिए।
सानी ठिंग उभिएर उनीहरुका कुरा सुनिन्। पहिलीले भनी 'कस्तो राम्रो लेख रहेछ!' अर्कीले थपी, 'मिनाले राम्रो पढेर पुरस्कार पाइछ है?'
आफूजत्रै केटीहरुले पत्रिका पढेका र त्यसै बारेमा मख्ख पर्दै कुरा गरेको सुनेर सानीको मन भतभती पोल्यो। उनको मन बरालियो चैत मासको हुरिजस्तै।
सानीलाई विद्यालय गएर मिनालेझैं राम्रो पढेर पुरस्कार लिन मन लाग्यो। तर ती केटीहरुले किताब पढेका। आफूले दश वसन्त पार गरिसक्दा अक्षर पनि नचिनेकाले सानी असाध्यै दु:खी भइन्।
मनमा पढाइका तर्कना खेल्दाखेल्दै त्यसदिन सानी अलि पछि परिन्। उनका साथीहरु माथि पुगिसकेका थिए। उनले पुड्केलाई भनिन् पुडके एकैछिन पर्ख। पुड्के टक्क अडियो। सानीले आफ्नो टाउकोमा बोकेको झिँजा भुइँमा राखिन् र लामो सास फेरिन्।
पुड्केसँग गुनासो पोखिन्। 'मैले पहिलो आवाज तिमीसँग बोलेको हुनुपर्छ। मेरो पहिलो पाइलो गोठमा बाँधिएको तिमीतिर लम्केको हुनुपर्छ। तिमी र मैले टेकेको माटो एउटै हो। म दिनभरि तिमीसँग खेल्थेँ। त्यसैले मैले नभनिकन तिमीले मेरा सबै कुरा बुझ्छौ।
म तीन दिनकी हुँदा तिम्री आमाले तिमीलाई जन्माएकी रे। तिमी मभन्दा तीन दिनले भाइ छौ। म तिम्री आमाको दूध खाएर हुर्के। तिमी पनि तिम्री आमाको दूध खाएर हुर्कियौ। हामीले एउटै आमाको दूध खाएका छौ। त्यसैले तिमीले मेरो मन बुझ्छौ।
तिमी खेतबारी जोत्छौ र चिन्छौ। म अक्षर चिन्दिनँ। नपढ्नु भनेको आँखा नहुनुजस्तै हो। म अन्धी भएकी छु पुड्के।' सानीले आँखाभरि आँसु पार्दै पुड्केलाई आफ्नो वेदना पोखिन्।
'अब तिमीले मलाई सहयोग गर्नुपर्छ पुड्के। हामी भोलि हाम्रो घरमाथिको विद्यालय जाऔं। तिमी विद्यालय नजिकैको वनमा चर। म विद्यालयमा पढ्छु। बेलुका सँगै घर फर्कौंला।' पुड्केले टाउको हल्लायो र सानीको जामामा लपक्क चाट्यो।
त्यसदिन सानी र पुड्के घर फर्किँदा झमक्क साँझ परेको थियो। आमाले सोधिन् किन ढिला गर्यौ सानी? सानीले आफ्ना खुट्टामा ठेस लागेर बिस्तारै हिँडेको भनेर ढाँटिन्। भोलिपल्ट सँधैझैं आमाले पुड्केलाई कुडो र सानीलाई खाना दिइन्।
पुड्के र सानी विद्यालयतिर लागे। सानी अघिअघि पुड्के पछिपछि उकालो बाटो हिँड्दै माथि पुगे। करिब तीस मिनेटको हिँडाइपछि विद्यालय आयो। पुड्के विद्यालय नजिकैको वनमा पस्यो। सानी विद्यालयभित्र प्रवेश गरिन्।
सानीले पहिलोपटक विद्यालय देख्दै थिइन्। उनमा नौलोपन र कौतुहलता पनि उत्तिकै थियो। उनलाई खुब रमाइलो पनि लागिरहेको थियो। जुन उनको कल्पना आज साकार हुँदैँ थियो।
सरले उनलाई भर्ना गरिदिए। सिसाकलम र कापी पनि दिए। उनी दंग परिन् र बेलुका पुड्केसँगै घर फर्किन्। यसरी धेरै दिन बित्दा पनि गाउँले र सानीकी आमालाई पत्तोसम्म चलेन। सानी र पुड्के कहाँ जान्छन्? के गर्छन्? केही समयपछि रिजल्ट भयो। सानी अत्याधिक नम्बर ल्याएर प्रथम भइन्।
'यो श्रेय कसलाई दिन्छेऊ?' सरले सानीलाई सोध्नुभयो।
उनले विद्यालयको डिलमा उभिएर चिच्च्याइन् 'पुड्के! ए पुड्के!!'
सानीको चर्को स्वर सुनेर पुड्के लुरुलुरु उनको नजिकै उपस्थित भयो। सबै दंग परे। सानीले आफूलाई लगाइदिएको माला र अबिर पुड्केको सिङ र घाँटीमा लगाइदिइन्।
बेलुका सानीले गाँउलेहरु र आमालाई सबै कुरा बताइन्। सानीले धेरै पुरस्कार ल्याएको देखेर आमा र गाउँहरुले छक्क परे। भोलिदेखि पुड्के सहित गाउँका सबै वस्तुहरु गोठमै बाँधिने भए। गाउँका सबै केटीहरु विद्यालयमा पढ्न गए।
गुरुआमा यो कथा सुन्दा हामी सबैका आँखा रसाएका थिए। किनकि यो कथा तपाईंको आफ्नै हो रे। तपाईंले यही भन्नुभएको थियो हामीलाई।
म निर्लज्ज भएर एउटा निर्णयमा पुगेको छु। मेरो निर्णय अवश्य पनि तपाईंलाई सैह्य हुनेछैन। मैले आज जुन कुरा लेख्दैछु, अवश्य पनि त्यो कुराले तपाईंको मुटु चिर्नेछ।
तपाईंले यो चिठी पढ्दै गर्दा मैले विद्यालय छोडेको हुनेछु। मलाई थाहा छ, यो खबर तपाईंले सुन्नासाथ कयौं प्रश्न आफैंभित्र उब्जने छन्। तपाईंले आफैलाई धिक्कार्नु हुनेछ। मैले मेरा विद्यार्थीहरुलाई के सिकाएँ भनेर आफूलाई कोच्नु हुनेछ।
गुरुआमा, मलाई हिजोको घटनाले साह्रै चोट र अपमान दिएर गयो। मानिसले धेरै कुरा सहन गर्न सक्छ। तर आफ्नो अपमान ग्रहण गर्न सक्दो रहेनछ। त्यो पनि गल्ति नभएको अपमान र हेलत्वमा।
त्यसबखत म नितान्त एक्लिएको थिएँ। द्रौपदीको चिरहरण कथा तपाईंले नै हामीलाई भन्नु भएको थियो। कौरबहरुको सभामा द्रौपदी एक्लिए सरि। दुष्शासनले द्रौपदीको सारी तानेर जुन अपमान दिएको थियो उनलाई। म त्यही अपमानको भागिदार भएको थिएँ आफ्नै विद्यालयको प्राङ्गणमा।
मेरा बाबा र सरले विद्यालयको चौरमा सबैको अगाडि मेरा गालामा चड्कन लगाउँदा मैले आफू नाङ्गिएको महशुस गरिरहेको थिएँ कयौँपटक। सबैको आ-आफ्नो गौरव र स्तर हुन्छ, सानाको सानै र ठूलाको ठूलै।
हाम्रो विद्यालयको सामाजिक किताबहरुमा यस्तै धेरै कुराहरु लेखिएका छन्। त्यसबखत सारा विद्यार्थी मुखदर्शी भएर मलाई नै निहाली रहेजस्तो लागिरहेको थियो। मानौं म पृथ्वीको एक्लो र निरही प्राणी हुँ। मैले आफ्नो तमासा आफै हेरिरहेको थिएँ।
हिजो दोस्रो त्रैमासिक परीक्षाको परीक्षाफल प्रकाशन भएको दिन। मेरो बाबा जाँडले मातेर विद्यालय पुग्नुभएको थियो। सधैंझैं यसपालि पनि कक्षा शिक्षकबाट परीक्षाफल बाड्ने प्रबन्ध मिलाइएको रहेछ। कक्षा आठको खरेन्द्र सर उहाँबाटै रिजल्ट दिने व्यवस्था थियो।
विद्यालयको चौरमा सबै शिक्षकहरु लामबद्ध कुर्सीमा बस्नु भएको रहेछ। वरपर सबै कक्षाका विद्यार्थीहरु र तिनका अभिभावकहरु थिए।
मेरा बाबा खरेन्द्र सरको नजिकै जानुभयो र सोध्नुभयो 'साहिलको पढाइ कस्तो छ?'
खरेन्द्र सरले झर्के स्वरमा भन्नुभयो, 'खतम छ!' अझै थप्नुभयो, 'यसले पढेर खाँदैन।'
बाबाले सरको कुरा सुनेपछि 'ए साहिले, यहाँ आइज' भनेर चर्को स्वरमा बोलाउनु भयो। म डराउँदै बाबा र सरको नजिकै गएँ।
बाबाले सोध्नुभयो, 'के के विषय लागेछ?'
खरेन्द्र सरले रिपोर्ट कार्ड देखाउँदै भन्नु भयो 'ल हेर्नुस् त, गणित र अङ्ग्रेजीमा डी ल्याएको छ! यो काम लाग्ने विद्यार्थी भएन। खतम छ यसको पढाइ। यसको ताल देखेर मेरो पारो तात्छ।'
मलाई लाग्यो सरले ममाथि अरु नै थोकको रिस उतारिरहेका छन्। सरलाई मप्रति धेरै कुरामा रिस रहेछ। खरेन्द्र सरको आवाजसँगै मैले घोसेमुन्टो लगाएँ र भुइँतिर हेरिरहेँ।
बाबाले अचानक आफ्ना हातका औंलाहरु मेरा गालामा बजार्नु भयो। एक चड्कन होइन! दुई चड्कन होइन, चार चड्कन! म डर र लाजले थरथर कामिरहेको थिएँ। सबै विद्यार्थी सामु म तमासाको पात्र नाटक हेरेझैं सबैले हेरिरहेका थिए मलाई।
मेरो मुटु टुक्राटुक्रा भयो पिर र सरमले। सबैका जोरजोर आँखाहरुले मलाई चिहाइ रहेका थिए। कक्षाभित्र भएको भए मलाई त्यति साह्रो रिस नउठ्दो हो। कयौं आँखा अगाडिको आफ्नै बेइज्जत असैह्य भइरहेको थियो मनलाई।
मैले मेरो हातमा रहेको रिपोर्ट कार्ड च्यातचुत पारेँ र टुक्राटुक्रा बनाएर भुइँतिर फालिदिएँ। अनि खुट्टाले कुल्चिदिएँ।
त्यसपछि खरेन्द्र सरले रन्किदै भन्नुभयो 'तँलाई लोठे! पढ्न चाँहि जिरो, रिस भने कति कति?'
मेरा गालामा आफ्ना हत्केलाका डाम बसाल्नु भयो र चार चड्कन बजार्नु भयो। खरेन्द्र सरले मेरा गाला बजार्दा म थर्कमान भएँ। थरर जीउ काम्यो। असैह्य पीडा भयो। निरही प्राणीसरि कालोनिलो भएर आफैलाई धिक्कारी रहेँ।
तपाईंलाई अवगत नै छ, गुरुआमा नेपाली विषयमा म विद्यालयकै उत्कृष्ट विद्यार्थी हुँ। हिजोको कुरा सायद सानो थियो होला, तर मेरा निम्ति ठूलै बन्यो। दिलमा गहिरो घाउ बनाएर गयो। कहिल्यै नमेटिने दाग लगाएर गयो।
यसपालिको परीक्षाफल प्रकाशन हुनुभन्दा करिब पन्ध्र दिनदेखि तपाईं विद्यालय आउनु भएको थिएन। तपाईं विद्यालय नआउँदा हामी विद्यार्थीबीच चर्चा परिचर्चा चलेको थियो।
कोही भन्थे तपाईं बिरामी पर्नुभयो रे! कोही भन्थे तपाईंको अर्को विद्यालयमा सरुवा भयो रे! हामीले अड्कल बाजी मात्र गरिरहयौँ। तर तपाईंको यथार्थ हाम्रो सामु उपस्थित हुन सकेन।
तपाईंको अनुपस्थतिले विद्यालय र त्यस वरपरको वातावरण शून्यतामा गुन्जायमान भयो। घाम नलागेका दिनजस्तै प्रत्येक दिन आउँथे र जान्थे। तर तपाईँ आउनु हुन्थेन।
हामीले गृहकार्य नगर्दाको बखत तपाईंको झर्को। हामीले कक्षाभित्र हल्ला मच्चाउँदा तपाईंको चिडचिडापन र मायालुपन एकैसाथ प्रस्तुत हुने बानी। त्यो आत्मियताको भान क्रमशः हामीबाट टाढिँदै गयो।
जसरी बिहानै उदाएको सूर्य बेलुका हरियो डाँडाबाट भित्र छिर्छ। तपाईंका यादहरु पर कतै क्षितिजपारि त्यसरी नै पुग्थे र बिलाउँथे। म पनि त्यसरी नै विद्यालयबाट बिलाउन बाध्य भएँ गुरुआमा। तपाईं नभएको विद्यालय मेरो पहुँचभन्दा बाहिर रह्यो।
मेरो वरिपरि अहिले सजीव र निर्जीव वस्तुको समिश्रण छ। म भने निर्जीव बनेर अचेतन भई आफूलाई भुल्न चाहिरहेको छु। यो धर्ती र त्यो आकाश साक्षी राखेर भन्दैछु, यी वाक्यांशहरुले तपाईंलाई नघोचून्। तपाईंको मन एकपलको लागि पनि बरफजस्तो चिसो नबनोस्।
उही तपाईंको विद्यार्थी,
साहिल, कक्षा आठ।