झ्यालको चरबाट उज्यालो भित्र पसिसकेको थियो। उसले पत्तो पाएन। सदाका बिहानीहरु इन्द्रेणी रंगमा रंग मिसाएर जहाँबाट भएपनि टुप्लुक्क उसलाई अंगालो हाल्न आइपुग्थे तर आज किन चारैतिर सन्नाटा छाएको महशुस गर्दछ।
मन भारी छ। दिमाग खाली र शून्य छ। ठुलै पहाड भत्किएर आफ्नो अगाडि आए जस्तो लाग्दछ। कोठाको चारैतिर आँखा डुलाउँछ। भित्तामा मुनाको तस्बिर झुन्डिएको छ। मुनाको तस्बिर भन्ने पनि उसको दिमागमा आउँदैन।
भित्तामा झुन्डिएको तस्बिरले के के बोलिरहे जस्तो, प्रश्न गरिरहे जस्तो महशुस गर्दछ। एकछिन टोलाएर अतीतलाई सम्झिन पुग्दछ। एक एक गरेर अतीतका यादहरु आइरहन्छ्न र जीवन्त बनेर उसको मानसपटलमा सलबलाउँछन्।
एकछिन फेरि शून्यता छाउँछ। सबै कुरा बिर्सिन पुग्दछ को थिइ ऊ? किन आई? फेरि कहाँ हराइ? त्यो अतीत, ती याद, ती सम्झना सबै मधुरो मधुरो बनेर आए जस्तो लाग्दछ।
सन्झिने निकै प्रयास गर्दछ तर अस्पष्ट, धमिलो र मधुर आकृति मात्र उसको दिमागमा आउँछ र बेला बेलामा हराउँछ। अनि आफ्नै सुरमा चिच्याउँछ- मुना...।
आजभन्दा केही वर्ष पहिले सुमनको भेट मुनासँग भएको थियो। कलेज पढ्ने क्रममा उनीहरू साथी हुँदै एकअर्का नजिक भएका थिए। सुमन निकै प्रतिभाशाली, मेहनती, इमान्दार व्यक्ति थियो। कलेजमा सुमन भनेपछि सबै मरिहत्ते गर्दथे।
नगरुन् पनि कसरी! उसको शिल स्वभाव, पढाइ, अरुसँग गर्ने व्यवहारले उसलाई सबैसँग परिचित गराएको थियो। मुना पनि सुमनप्रति प्रभावित हुँदै गएकी थिई। सुमन मध्यम वर्गीय परिवारमा जन्मिएको हुनाले सुख सयलभन्दा पनि जिन्दगीलाई कसरी सहज रूपमा अगाडि बढाउने भनेर सोचिरहन्थ्यो। तर यता मुना भने धनाड्य परिवारकी एकलौटी सन्तान थिई।
उसका बुवा आमाले उसलाई कुनै कुराको कमि हुन दिएका थिएनन्। दु:ख र अभाव भन्ने कुन चराको नाम हो उसलाई केही थाहा थिएन। सुख सयलमा जिन्दगी बिताउँदै थिई।
दिनहरू विस्तारै विस्तारै ढल्दै थिए। सुमन र मुना पनि नजिक हुँदै थिए। सुरुमा त सुमनले मुनाबाट टाढा रहने प्रयास गरेको थियो। किनकि मुनाको पारिवारिक स्टाटस निकै फरक थियो। कहाँ मुना स्वर्गकी परी जस्तै सबै कुराले सम्पन्न, कहाँ सुमन सामान्य किसानको छोरा दु:ख र अभावमा हुर्किएको मान्छे!
यसैले ऊ बेला बेलामा डराउँथ्यो। गरिब किसानकै छोरा भए पनि कुनै राजकुमारभन्दा कम थिएन, कलेजमा ऊ नै प्रथम हुन्थ्यो। यसैले त मुना सुमनप्रति फिदा भएकी थिई।
भन्छन् नि, मान्छेको मन मुटु मिलेपछि सबै कुरा सहज हुन्छ रे। एक अर्काबीच माया गर्न उनीहरुलाई कसैले रोक्न सकेन। दिनमा एक पटक एक अर्कोलाई नदेख्दा छट्पटिन्थे। सुमनले मुनालाई मन मुटुमा राखेर पढाइलाई निरन्तरता दियो।
जस्तोसुकै परिस्थितिमा पनि उनीहरुले पढाइलाई निरन्तरता दिने प्रतिबद्धता गरेका थिए। मुनाले सुमनले भनेको सबै कुरा मान्थी किनकि सुमनप्रति पुरै विश्वास थियो उसलाई।
कलेजमा फाइनल जाँच आउन दुई तीन महिना जति बाँकी थियो। दुवै पढाइमा तल्लीन थिए। यता मुनाको घरमा भने अब छोरीको बिहे गर्नु पर्छ भनेर मुनाको बुवा आमालाई आफन्तहरूले झकझकाइ रहेका थिए। मुनाको बुवा आमाले भने कलेजको अन्तिम जाँच सकिएपछि विचार गरौंला भनेर टारिरहेका थिए।
यता मुना र सुमनले जाँच सकिएपछि बुवा आमालाई एक अर्काको बारेमा बताउने भनेर पर्खिरहेका थिए। सुमनलाई डर थियो मुनाको बुवाआमाले मलाई अस्वीकार गर्ने हुन् कि कतै मुनालाई प्यार गरेर मैले ठूलो भुल त गरिनँ, यस्तै यस्तै सोचिरहन्थ्यो र छट्पटाइ रहन्थ्यो।
मुना पनि त्यही हालतमा थिई। समय निरन्तर आफ्नै धारमा बहिरहेको थियो। उनीहरुको एकअर्काबीचको दूरी पनि झन् नजिकिँदै थियो। जे जस्तोसुकै भए पनि जाँच राम्रोसँग दिनु पर्छ भन्ने दुवैलाई थियो। जाँच सकियो, दुवैको राम्रो भयो।
जाँच सकिएपछि केही दिनको लागि सुमन मुनासँग सल्लाह गरेर घर तिर लाग्यो। उसको घर राजधानीभन्दा निकै टाढा गाउँमा थियो। मुनाको भने घर, मामाघर सबै काठमाडौंमै थियो। एकदिन मुना सुमनको बारेमा सोचेर बसिरहेकी थिई, उसको मामाले केटा लिएर आए बिहेको लागि।
ऊ झस्किई। उसले आफ्नो र सुमनको बारेमा बताउन सकेकी थिइन। केटा निकै राम्रो थियो, भर्खरै अमेरिकाबाट पढाइ सकाएर फर्किएको रहेछ। घर परिवार पनि खान्दानी रहेछन्, सबै कुरा सुन्दा बुझ्दा सबैले केटा मन पराए। मुनाले केही सोच्नै सकिन।
बुबा आमालाई इन्कार गर्नको लागि अनुरोध गरी। अहिले आफू बिहे नगर्ने मुडमा रहेको बताई। तर बुवाआमाले पछि जवाफ दिने भनेर केटालाई बिदा गरे। यता मुना आत्तिइरहेकी थिई। कुनै पनि हालतमा ऊ सुमन बाहेक अरुसँग बिहेको बारेमा सोच्न पनि सक्दिन थिई।
मुनाले सुमनको बारेको बुवाआमालाई बताई, दुवैले एकअर्कालाई निकै प्रेम गर्ने र विवाह पनि उसैसँग गर्ने बताई। मुनाको कुरा सुनेर बुवा आमा रिसले आगो भए। मुनाको कुनै प्रवाह नगरी आफ्नो सुरमा भने 'कहाँको गरिब केटासँग विवाह गरेर हाम्रो इज्जत फाल्ने भई, अब जसरी भएपनि यही केटासँग विवाह गरिदिनु पर्छ।'
मुना आत्तिएर सुमनलाई तुरुन्तै काठमाडौं बोलाई। सुमन पनि तुरुन्तै फर्किएर मुनाको घरमा गयो। आफ्नो र मुनाको बारेमा सबै बतायो, मुनाको हात माग्यो, मुनालाई सुखै सुखमा राख्ने वाचासम्म गर्यो।
तर मुनाको बुवा आमाले उसको एउटा कुरा पनि सुनेनन उल्टै उसलाई गरिब भिखारी भन्दै जथाभावी बोल्दै घरबाट निकाले।
खै! ठूलाबडा धनीहरुको मन नै हुँदो रहेन छ क्यारे? भएपनि निकै कठोर र पत्थरकै हुँदो रहेछ। जति अनुरोध गरे पनि सुमनलाई बुझ्न सकेनन् बल्की बुझ्ने प्रयासनै गरेनन्। सुमन लरखराउँदै आफ्नो कोठा तिर लाग्यो।
जिन्दगीमा पहिको पटक उसलाई ठूलो झड्का लाग्यो। के गर्ने कसो गर्ने केही सोच्नै सकेन। उसलाई लागेको थियो, सबै बताएपछि मुनाको बुवा आमाले अवश्य मान्ने छन्। तर उसको सोचाइनै गलत रहेछ।
गरिब हुनु उसको इच्छा चाहना थिएन। यो त उसको बाध्यता र विवशता थियो। बल्ल बुझ्यो देख्यो, धनीहरुको बारेमा उनीहरुको नजरमा बस् धन, सम्पत्ति नै सबथोक हुँदो रहेछ। किन यति धेरै विभेद धनी गरिब बीच! यही कुरा मात्र उसको दिमागमा अल्झिरह्यो।
यता मुनाको पनि हालत बेहाल हुँदै थियो। बुवा आमाले उनीहरुले खोजेको केटासँग विवाह नगरे सुमनलाई मारिदिने धम्की दिएका थिए। बेला बेलामा सोच्ने गर्थी, भागेर भए पनि सुमनसँग जान्छु। फेरि बुवा आमाको धम्की सम्झिन्थी अनि डराउँथी। कतै आफ्नो प्यारो सुमनलाई केही नगरुन्।
भगवानसँग बारम्बार प्रश्न गर्थी, किन धनीको कोखमा मेरो जन्म दियौ? किन सुमनसँग भेट भएँ होला? किन यति नजिक भएर पनि हामी एक हुन सक्दैनौँ? यस्तै यस्तै सवालहरु उसको दिमागमा सल्बलाई रहन्थे।
खान पिउन सब छाडिसकेकी थिई। निद्रा, तन्द्रा जताततै सुमनलाई मात्र देख्थी, ऊसँग बिताएका पलहरु एक एक गरेर सम्झिन्थी झन् पीडा भएर आउँथ्यो। सुमनको पनि हालत झन् खराब हुँदै थियो।
मुनालाई भागेर जाउँ पनि नभनेको होइन तर बुवा आमाको धम्कीको डरले उसले यस्तो पनि गर्न सकिन। दिनहरु पीडा र छ्ट्पटीमा बितिरहेका थिए। मुनाको विवाहको दिन नजिक नजिक आइरहेको थियो। सबै विवाहको तयारीमा जुटेका थिए।
सुमनले सम्झियो, कास! म पनि मुनाको परिवार जस्तै धनी भैदिएको भए आज यस्तो दिन आउने थिएन। यति धेरै पीडा पनि हुने थिएन होला सायद। समाजमा भएको यो धनी गरिब बीचको खाडल, किन यति धेरै बढ्दै छ यहाँ धनीहरु पनि दुई छाक भात खान्छन् गरिबहरु पनि त्यही बस!
गरिबहरु धेरै मेहनत गरेर खान्छन्, फरक यति न हो। उसको दिमागले यस्तै यस्तै भनिरहेको थियो। दिनपछि दिन अवस्था बिग्रँदो थियो सुमनको। एक्लै टोलाएर बसिरहन्थ्यो।
मुनाको विवाहको लागि दुई दिन बाँकी थियो। मुनाले सुमनलाई फोन गरी दुवै जना बोल्न सकेनन्, मात्र रोइरहे। सुमनले हिक्का छाड्दै वैवाहिक जीवन सुन्दर र सुखमय होस् भनेर फोन राखिदियो। अनि पागल जस्तै बनेर कोठाबाट निस्कियो।
आज मुनाको बिवाहको दिन थियो। मुनाको होस बेला बेलामा हराउँथ्यो। के हुँदैछ, के गर्दैछु भन्ने पनि बिर्सिन्थी। दुलहीको रुपमा सजिएर बसेकी थिई। शरीर यहाँ भएपनि दिमाग, तन, मन सबै सुमनसँगै थियो।
कल्पना गर्थी, आफ्नो मनको राजा आज अर्को व्यक्तिको ठाउँमा सुमन भैदिएको भए जिन्दगी कति सुन्दर हुन्थ्यो होला। तर यी सब कल्पनामै सीमित रहे। निकै तनाव र दबाबका बीच मुनाको बिहे सम्पन्न भयो।
दुलही अन्माएर बुवा आमाले ढुक्क भएको महशुस गरे। तर अब छोरीको बाँकी जीवन के हुन्छ, कस्तो हुन्छ त्यो सोच्न सकेनन्।
यता सुमन पागल भैरहेको थियो। मुनालाई सम्झिन्थ्यो बेला बेलामा अनि चिच्याउँथ्यो- मुना... मुना... मुना...।
यति धेरै पढे लेखेका भए पनि सुमनलाई बुझ्न सकेनन् मुनाको परिवारले। वास्तवमा ऊ निकै असल व्यक्ति थियो। सुमनले खान पिउन सबै छाडिदियो। खालीमुना मुना भनेर कराउँथ्यो।
घरमा बस्नेहरुले अचम्म मानेर हेर्थे। त्यति राम्रो व्यक्ति आज किन यस्तो भयो। सबै मिलेर उसलाई डाक्टरकोमा पुर्याए। तर सबै व्यर्थ भयो। ऊ पागल भैसकेको रहेछ।
मुनाले सुमनको बारेमा सबै थाहा पाई। सहन सकिन, उसको पनि दिमागमा झड्का लाग्न पुग्यो। ऊ कसैसँग बोल्दिनथी। एकान्तमा बसेर आँसु मात्र बहाउँथी। आफूले आफैलाई धिकार्न थाली।
सुमनको यस्तो हालत मेरै कारणले भएको हो। अब म यो धर्तीमा बाचेर कुनै काम छैन। एकदिन उसको मनमा झट्ट आयो, यसरी पीडामा बाच्नुभन्दा बरु मर्नु नै बेस्। यति सम्झेर सुमनलाई केही लेख्ने विचार गरी र लेख्न सुरु गरी-
प्यारो सुमन,
खै लेख्न पनि कताबाट सुरु गरौँ! नचाहँदा नचाहँदै पनि समयले यो कस्तो मोडमा ल्याइ पुर्याइदियो न अगाडि बढ्न सक्छु न पछाडि नै। के के सोचेकी थिएँ, कल्पना गरेकी थिएँ।
हामी दुईको एउटा सानो संसारर हुनेछ जहाँ तिमी र म दु:ख सुखमा सँगसँगै साथमा हुनेछौँ। मेरो सोचाइ नै गलत रहेछ क्यारे, होइन भने ठूला ठूला महल चुम्ने सपना पनि त थिएनन् मेरा। कसैलाई पनि हाम्रो माया मन्जुर भएनछ र त यसरी टाढिनु पर्यो।
कास् तिमी र म भेट नै नभैदिएको भए, यति नजिक नभइदिएको भए सायद आज यति धेरै पीडा हुने थिएन कि! अतीतका यादहरुले भतभती पोलिरहेको छ। कहाँ जाउँ, के गरौं चेतना हराएको मानिसजस्तो शून्य शून्य भैरहेकी छु।
डियर, जिन्दगी सधैँ चाहेको र सोचेको दिशामा बग्दो रहेनछ, नचाहेको र नसोचेको मोडबाट गुज्रिएपछि जिन्दगीको परिभाषा नै हराउँदो रहेछ। हामी दुईबीच जुन धनी गरिबको पर्खाल आएर ठडियो, हटाउन नै नमिल्ने गरेर त म के गरु!
डियर मबाट धेरै गल्ती भए होलान्, अन्जान ठानेर माफ गरिदिनु। तिम्रो कुनै गल्ती छैन। तिमी साहसी, निडर र महान् हौ तर के गर्ने? म भने क्षितिजपारि शून्य र तुँवालोमा हराएको बादल जस्तै भैदिए। एकैछिनमा कता कता बिलाएर जाने। धेरै भन्नु तिमीलाई केही छैन। तिमी महान् छौ। जस्तोसुकै परिस्थितिमा पनि मलाई माफी दिनेछौ।
अब भगवानसँग मेरो एउटै प्राथना छ। यदि अर्को जन्म हुन्छ र भएछ भने तिमी र म धनी होइन, गरिब परिवारमा जन्मिएर सँगसँगै जिन्दगी बिताउँला, हुँदैन र? जहाँ हामीलाई अलग गर्ने कोही हुने छैनन्। फेरि भेट कहिले होला!
तिम्री मुना।
मुना घरदेखि धेरै टाढा जंगलमा आइसकेकी थिई। त्यो ठाउँ निकै सुनसान र डरलाग्दो थियो। नजिकै नदी आफ्नै सुरमा सुसाइरहेको थियो। नदीको छेउमा पुगेर एक सुरमा चिच्याइ- सुमन... सुमन... तर उसको आवाज कसैले सुन्न सकेनन्। माथि पहाडमा गएर ठोक्कियो।
अनि ऊ आँखा चिम्ली र नदीमा झ्वाम्म हाम फाली। एकैछिनमा उसको प्राण पखेरु उडेर टाढा गयो। भोलिपल्ट सबै पत्र पत्रिकामा निस्कियो- एक नव-विवाहित युवतीद्वारा आत्महत्या।