‘शंखरपुरका जमिन्दारको छोरोसँग तेरो बिहेको बचन दिएर आएको छु। अब गाउँमा फुरफुर फुरफुर गरी हिँड्ने होइन। पर्सी कुरो पक्की गर्न आउँदैछन्। हामीभन्दा पनि सम्पन्न र पहुँचवाला छन्। केटो पनि लाइनमा छ।’
घर आइपुग्नासाथ आमा र मतर्फ हेरेर बुवाले मेरा बारेमा समाचार सुनाउनुभयो।
आमा र म चुपचाप सुनिरह्यौं।
बुवाको कुरामा हामीले हुन्छ हुन्न भन्नुको कुनै अर्थ थिएन। घरमा बुवाले जे भन्नुहुन्थ्यो हामी सबैको लागि अकाट्य हुन्थ्यो।
मलाई एक बचन नसोधी मेरो जिन्दगीको फैसला कसरी गर्नुभयो भनेर सोध्न मन त लागेको थियो तर बुवाको अगाडि बोल्ने हिम्मत कहाँबाट आउनु!
मेरो बाह्र कक्षाको परीक्षा पनि सकिसकेको थियो।
पढाइमा जेनतेन पाससम्म गर्ने खालको थिएँ। साँच्चै भन्नुपर्दा मलाई पढ्नमा त्यति रुची नै लाग्थेन। त्यहाँसम्म पनि बाबुको इज्जत धान्नका लागि मात्र पढेकी हुँ।
जीवनमा के गर्ने भन्ने कुरा कहिल्यै सोचिनँ। बच्चैदेखि आमाबाबुले मलाई केही गर्नुपर्छ भनेर सिकाउँदै सिकाएनन्। भाइलाई चाहिँ डक्टर बन्नुपर्छ। इन्जिनियर बन्नुपर्छ भनेर भन्दथे। मेरा बारेमा भने यसो भनेको कहिल्यै सुनिनँ मैले।
यसको मतलब मलाई माया गर्दैनन् भन्न खोजेकी होइन। मेरा बारेमा कुरा चल्दा सधैं बाबुको एउटै कुरो हुन्थ्यो।
‘यसलाई ठूलो घरमा बिहे गरेर पठाउन पाएको दिन मात्र मेरो मनले शान्ति पाउँछ। त्यसपछि त रानी बनेर खान्छे हाम्री छोरीले।’
‘खै तपाईंले भनेर मात्र भएन क्यार। त्यसको भाग्यमा के लेखेको छ कुन्नी। छोरी भनेको त भाग्यले खाने जात भन्छन्। यो फागुनले उन्नाइस पनि काटिसकी। कहाँ पो जुर्ला खै ?’- बाबुको कुरोमा आमाले पनि मत मिसाउँथिन्।
आमा बाबुको कुरो सुन्दासुन्दा मलाई यस्तो लाग्न थालिसकेको थियो। मैले पढेर के गर्नु!
राम्रो लोग्ने पर्यो भने जिन्दगी त्यसै बनिहाल्यो। नराम्रो लोग्ने पर्यो भने जति पढे पनि दुःखको पहाड चढ्नै परिहाल्यो। यिनै कुराले गर्दा पनि मलाई पढाइमा खासै ध्यान जाँदैनथ्यो। बरु दश कक्षा सकेदेखि नै कस्तो दुलाहा पर्ने हो भनेर चिन्ता लाग्न थालेको थियो।
बाबु गाउँकै ठूला। बाबुकै इशारामा चल्दथ्यो गाउँ।
आँखाले हेरेर नभ्याउने थियो जमिन। दश बाह्र जना हरुवा चरुवा घरमै हुन्थे। कोही खेती हेर्ने। कोही काठको मिल हेर्ने। कोही धानको गद्दी हेर्ने। कोही भैंसीको रेखदेख गर्ने। हाम्रो घर पनि गाउँमा सबभन्दा ठूलो थियो। छिर्ने ढोका एउटै भए पनि भित्र गएपछि हामी बस्ने घर र कामदारहरूको लागि बस्ने घर फरक फरक।
बेलुकी खाना खाँदा भोजजस्तै हुन्थ्यो। भान्सा बाहिरको कोठामा लहरै खान बस्थे सबै। बुवा,आमा,भाइ, म र हरिदास मात्र भित्र खान्थ्यौं ।
हरिदास उमेरले मभन्दा एक साल जेठो हो। हरिदास एक वर्ष नहुँदै उसको आमाबुवा दुर्घटनामा परी बितेकोले बुवाले ल्याएर पालेको।
बुवाले उसलाई हामीभन्दा केही कमी गर्नुहुन्थेन। तर दश कक्षा पढेपछि उसले पढाइमा रुची देखाएन। त्यसपछि बुवाले उसलाई सधैं आफैंसँग लिई हिँड्न थाल्नु भयो। बुवा जहाँ जाँदा पनि हरिदास सँगसँगै जान्थ्यो।
बुवाको हरेक कुराको जानकारी राख्थ्यो ऊ। हुँदाहुँदा बुवा ऊ बिना कतै नजाने भैसक्नु भएको थियो।
‘मेरो पक्को छोरो तैं होस्। तेरो बिहेपछि त्यो काठ मिल र मिल भएको एक बिघा जमिन तेरै नाउँमा गरिदिन्छु।’ बुवाले यसो भनिरहँदा खै किन हो कुन्नी मेरो मन खुसीले फुर्फुरिन्थ्यो।
हुन त हरिदास माया गर्न लायकको थियो। दाँज्ने नै हो भने पनि गाउँभरिमा त्यतिको हिसी परेको केटो अरू थिएन भन्दा पनि हुन्छ। गाउँका अधिकांश केटाहरू कालो वर्णका भए पनि ऊ गोरो र खाइलाग्दो थियो। उसकी आमा पहाडे भएकीले ऊ गोरो भएको कथा सुनाउँथिन् आमा।
बानी व्यवहर पनि आँखामा हाले नि नबिझाउने। सिंगै बालापन सँगसँगै काट्दा पनि कहिल्यै तँ तँ म म भएन। बरु आफ्नै भाइसँग परेको झगडाको कुनै हिसाब छैन।
उसले मलाई र भाइलाई आफ्नो ज्यानभन्दा पनि बढी माया गर्दथ्यो। घरको काम पनि कहिल्यै हामीलाई गर्न दिँदैनथ्यो। आमालाई सघाउनेदेखि लिएर बुवाको ख्याल गर्नेसम्मको काममा आफैं दौडन्थ्यो।
कहिलेकाहीँ आमाले हामीलाई कराउँदा पनि सम्झाउने उही हुन्थ्यो। उसको हामीप्रतिको मायाको कुनै सीमा नभएको कुरो मैले दश कक्षा पढ्दा थाहा पाएकी हुँ।
एकदिन म घर नजिकैको चौरीमा साथीहरूसँग खेलिरहेकी थिएँ। अचानक मेरो चप्पल चिप्लिएर सिसाले खुट्टा काट्यो म रोएँ। मेरो रुवाइ सुनेर ऊ दौडेर आयो। मेरो खुट्टाबाट रगत बगिरहेको देखेर ऊ आत्तियो। खुट्टामा गडेको सिसा निकालेर आफ्नो गम्छाले रगत नआउने गरी बाँधी वरपर घरको गाडा खोज्न लाग्यो। दिउँसोको समय सबैको गाडा खेततिर गएकोले गाडा पाउन सम्भव भएन। ऊ सरासर आएर दुई हातले मलाई उठाई हेल्थपोष्टतर्फ दौडियो।
मैले दुबै हातले उसको घाँटीमा समातेँ। करिब एक किलोमिटरको दूरीमा थियो हेल्थपोष्ट। दिउँसोको प्रचण्ड गर्मी उसको छातीको तातोले रापिएको थियो मेरो शरीरको देब्रे भाग। म उसको अनुहार हेरेर दङ्ग थिएँ। ऊ चिउँडोबाट पसिना तप्प तप्प चुहाउँदै अनुहार बिगार्दै अघि बढिरहेको थियो।
उसको चिउडोबाट चुहिएको पसिनाले मेरो छाती भिजेको थियो। म भने उसले काखमा उचालेर हिँड्न थालेपछि आफ्नो खुट्टाको दर्द पनि भुलेकी थिएँ। त्यसदिन पहिलोपटक उसका बलिष्ठ पाखुरीको शक्तिको अनुभव गरेकी थिएँ मैले।
उसको तातो स्वासको न्यानो बुझेकी थिएँ मैले। त्यो गर्मीमा पनि शीतल महसुस भैरहेको थियो। हेल्थपोष्टमा पुगेर मेरो उपचार सकेपछि मात्र उसको अनुहारको उदासी हटेको थियो। उपचार सकेर हामी आफ्नै गाडामा घर फर्केका थियौं।
त्यसदिनको घटना पछि किनकिन हरिदासलाई देखेपछि मेरो मनभित्र काउकुति लाग्न थाल्थ्यो। मलाई बुवा आमाको आँखा छलेर उसलाई जिस्काउनमा खुबै आनन्द आउँथ्यो। ऊसँग हात हालेर चल्न मन लाग्थ्यो। तर मधेसको संस्कारले त्यसो गर्नु अक्षम्य अपराध हुन्थ्यो। मलाई गाउँका अरु केटाहरूसँग खुलेर हिँड्ने अनुमति पनि थिएन।
मैले बचपनदेखि नै आफ्नो समिप देखेको केटा भनेकै हरिदास हो। जसलाई म जे पनि भन्न सक्थें। जे काम पनि लाउन सक्थें।
एघार कक्षा सकिएपछिको बिदामा म दिनभर घरमै हुन्थेँ। पढ्ने कामबाट केही दिनको लागि छुटकारा पाएकोले म बेकम्मा भएको थिएँ। छिमेकका केटी साथीहरूसँग कुराकानी गरेरै बित्दथ्यो दिन। बिहानको खाना खाएपछि गर्मीका कारण सबैजना एकदुई घण्टा खटियामा पल्टेर सुत्ने गर्दथे।
बुवा पंखा चलाएर खाटमा पल्टिनुभएको थियो। आमा बुवाको खाटको मुनि गलैंचामा सुतेकी थिइन्। हरिदास आफ्नै कोठामा पल्टिएको थियो। मलाई भने के गरूँ, कसो गरूँ भइरहेको थियो।
शरीरका नसाहरूमा केही सल्बलाए जस्तो भइरहेको थियो। आफूलाई कोठामा रोक्नै सकिनँ। के भो के भो हरिदासलाई भेटुँ भेटुँ लाग्यो। सबैतिर नजर डुलाएँ। सबै सुतेका थिए। चुपचाप हरिदासको कोठातिर लागेँ। ढोका खुल्लै थियो।
भित्र पसेर चुकुल लगाएँ। ऊ मस्त निद्रामा थियो। नजिकै गएर उसको धड्कन सुनेँ। उसको नाकबाट आएको तातो स्वासले मेरो अनुहार छोएर गयो।
मैले आफूलाई सम्हाल्नै सकिनँ। जिस्काए झैं गरी मैले आफ्नो शरीर उसको शरीरमाथि राखिदिएँ। ऊ अकस्मात ब्युँझियो। आफूलाई मेरो शरीरले थिचिराखेको देखेर उसको होस हवास उड्यो। ऊ आत्तियो। उसको अनुहार रातोपिरो भएर आयो। ऊ मेरो शरीरलाई पन्छाउँदै जुरूक्क उठेर ढोका नजिक पुग्यो। मलाई छाडे पनि उसको शरीर काँपिरहेको थियो।
‘यो के गरेको मैया ?’ उसले थरथर ओठ कपाउँदै बोल्यो।
‘माया गरेको हरि।’ मैले जवाफ दिएर फेरि उसलाई अंगालोमा बेरेँ।
उसले फेरि बडो जोडले मेरो हात छुटाई मलाई खाटमा बसाल्यो। ढोकाको चुकुल खोल्यो। आफू म बसेको खाटको भुइँमा बस्दै बोल्यो – ‘मैया , बाबुजीले तिम्रा लागि ठूलो सपना सजाएका छन्। तिम्रो यस्तो हरकतले बाबुजीको मनमा ठूलो चोट पुग्नेछ। तिमीलाई ठूलो घरमा दिएर रानी बनाउने बाबुजीको सपना मर्न नदेऊ।’
म जे सोचिरहेको थिएँ ऊ त्यो सोच्ने हैसियतमा थिएन सायद। तर मेरो शरीरको तापले त्यसदिन हरिदासलाई पोलेको कुराको साक्षी थिए उसका झुकेका आँखाहरू। ऊ मलाई सोझो हेर्न सकिरहेको थिएन। म खाटमा पल्टिएर उसलाई हेरिरहेँ। ऊ थरथरी काँपेर घुसेमुन्टो लगाई उभिइरह्यो। केहीबेरको मौनतापछि म आफ्नो कोठातर्फ लागेँ।
त्यसदिनको घटनापछि हरिदास सधैं मसँग तर्की तर्की हिँड्न थाल्यो। उसले मसँग आँखा जुधाउन पनि छाड्यो। दिउँसो कोठामा बस्दा पनि चुकुल लगाएर बस्न थाल्यो।
मसँग एक्लै भेटिने हरेक ठाउँहरूमा जान छाड्यो। कहिलेकाहीँ एक्लै भेटिइहाले पनि डराउने,हच्किने गर्न थाल्यो। उसको यस्तो व्यवहारले मन दुखी थियो तर पनि उसको इमानदारिताले मेरो मनमा उसको इज्जत झन् बढेको थियो।
कहिलेकाहीँ त बुवाले यिनै हरिदाससँग बिहे गराइदिए हुन्थ्यो नि जस्तो पनि लाग्थ्यो। मन पेट घर सबै बुझेको। घर गाउँ छाडेर जान पनि नपर्ने। दान दहेजको चक्कर पनि नहुने। तर यो कुरा मेरो मनभन्दा बाहिर आउनु आठौं आश्चर्यभन्दा कम हुन्थेन।
यसले बुवाको सानशौकत र प्रतिष्ठामा घात हुनजान्छ भन्ने कुरोको राम्रै ज्ञान थियो। कति जमिन्दारका छोराहरूको कुरो आउँदा त हाम्रो बराबरीका छैनन् भनेर टार्ने बुवाले यस्तो कुरा स्वीकार्ने कुरा पृथ्वी उल्टिनुजस्तै थियो। यसले हरिदासको जीवनलाई नै नर्क बनाइदिने ड रपनि त्यतिकै थियो। त्यसैले मनको कुरो मनमै दबाएकी थिएँ।
हेर्दाहेर्दै समय घर्किंदै गयो। मेरो बिहेको कुरो छिन्ने दिन पनि आयो।
शुक्रबारको दिन थियो।
बिहानैदेखि घरमा जोडतोडले साफसफाइ चलिरहेको थियो। हरिदास भान्सामा आमालाई सघाउँदै थियो। माछा मासु अनेक परिकार तयार हुँदै थिए।
दिउँसो दुई बजेतिर बुवाले सबैलाई राम्रो लुगा लगाएर बस्न उर्दी जारी गर्नुभयो। सबैले बुवाको आज्ञा शिरोपर गर्यौं।
साँझ पाँच बजेतिर एउटा टाटा सुमो गाडी घर अगाडि आएर रोकियो। गाडीको अगाडि सिटबाट सेतो कमिज सलवार र खादीको जुवारीकोट लगाएका हट्टाकट्टा वृद्ध जुँगामा ताउ लाउँदै झरे। पछाडिबाट अरू तीन जना झरे।
बुवाले गेटमै पुगेर नमस्कार गर्दै स्वागत गर्नुभयो। सबै सरासर बैठकतर्फ लागे। पाहुनाहरूको चियापान,खानपानका लागि भान्सा र बैठकको दौडमा लाग्यो हरिदास।
खानपानपछि कुराकानीको शिलशिला सुरू भो। म बैठक पछाडि कोठाको चेपबाट बैठकका गतिविधि चिहाइरहेकी थिएँ। बुवा र शंखरपुरका जमिन्दार सँगसँगै सोफामा बसेका थिए। सामुन्नेको अर्को सोफामा बसेका थिए बाँकी तीन जना।
तीन जनाको बीचमा थियो एउटा च्यासे च्यासे लिखुरे कालो केटो। सायद दुलाहा हुनुपर्छ भन्ने लख काटेँ मैले। अनुहारमा कुनै रस नभएको। हाँसो कतै बाहिरै छाडेर आए जस्तो। सुर्ति र खैनीले तलको दाँतमा जमेको कालो प्रष्ट देखिने। हरिदाससँग त तुलनै गर्न नसुहाउने। कहाँको हरिदासको राजसी अनुहार कहाँ त्यो पोल्दापोल्दै आगोबाट निस्केर आएजस्तो। जस्तो भए पनि बाबुको रोजाइको प्रतिवाद गर्नसक्ने कुरो थिएन। जे छ त्यसैलाई स्वीकारेर जानुको विकल्प थिएन मसँग। त्यसैले त्यही लिखुरेलाई भए पनि राम्रो मानेर हेर्न थालेँ।
दुई घण्टाको छलफलमा सबै कुराकानी टुंगियो। बुवाले एक बिगाहा जमिन, एउटा ट्याक्टर,दश लाख नगद,विवाहको भोज खर्च सबै दिन तयार हुनुभयो। बुवाले दुलाहा पट्टिबाट राखेको लगभग सबै प्रस्ताव स्वीकार गर्नुभयो। मलाई कताकता नमिठो लाग्यो। मेरो लागि बुवाले यत्रो रकम किन दिनुपर्ने ? मैले त्यसदिन पहिलोपल्ट केटी हुनुमा अपमान महसुस गरेँ।
अरूले दहेजमा के के दियो रे भन्ने सुनेकी त थिएँ तर आफ्नै अगाडि यसरी मोलिमलाउ भएको देखेको थिइनँ। माग्नेलाई केही लाज नहुँदोरहेछ।
बुवाहरूको कुरो सकिएर जाने बेलामा सानो स्वरमा त्यो च्यासेले आफ्नो मोटरसाइकल पुरानो भएको जनाउ दियो। बुवाले सुन्ने बित्तिकै एउटा नयाँ मोटरसाइकल पनि थपिदिनुभयो। बुवा बिहेपछि छोरीलाई कुनै दुःख नहोस् भन्ने चाहनुहुन्थ्यो। त्यसैले दुलाहा पट्टीका मान्छेहरूलाई खुसी बनाउन चाहनुहुन्थ्यो।
हुनेवाला दुलाहाले आफूलाई हेर्न खोज्छन् कि भनेर राम्रो लुगा लगाएर बसेकी थिएँ तर उसलाई मेरोभन्दा मोटरसाइकलको चिन्ता देखेर लोग्नेप्रति मेरो मनै मरेर आयो।
यस्तो निर्जीव मान्छेसँग कसरी कट्ला जीवन ? सोच्दा पनि मन अमिलो भएर आयो। अघिसम्म थोरै पलाएको माया पनि मर्यो। माया मरे पनि नाता भने जोडियो। बुवाले बिहेको तयारीको लागि बचन दिनुभयो। तीन महिनापछि बिहे गर्ने पक्कापक्की गरेर सबै उठे। बुवा र हरिदास गाडीसम्म छाड्न गए।
बिहेको कुरो पक्का भैसकेपछि पनि किन हो किन मेरो मनले त्यो च्यासेलाई दुलाहा मान्न तयारै भएन। मैले खोजेको मेरो सपनाको लोग्नेसँग उसको कुनै कुरो मिल्दैनथ्यो। मैले खोजेको लोग्ने त्यस्तो थिएन।
ऊभन्दा त हरिदास कयौं गुणा उत्तम र असल थियो। हरिदाससँग मनको नाता थियो ऊसँग पैसा र प्रतिष्ठाले नाता गाँसिन लागेको थियो।
यदि मेरा बुवासँग पैसा नभएको भए यो नाता सम्भव नै थिएन। खाटमा पल्टेर सोच्दासोच्दै रात कट्यो। आफूमाथि अन्याय भएजस्तो लाग्यो तर बोल्ने ठाउँ कतै पनि देखिनँ।
केही दिनमा नै गौनाको काम पनि सकियो। धुमधामसँग मेरो बिहे पनि भयो। बुवाले सात गाउँका मानिसहरू बोलाएर भोज भतेर गर्नुभयो। तर एकपटक पनि मलाई सोध्नु भएन।
‘छोरी तँलाई बिहे गर्न मन छ कि छैन ? हामीले खोजिदिएको केटो मन पर्छ कि पर्दैन ?’
बुवाको निर्णयलाई नै जिन्दगी ठानी ससुराल आइयो। आफूलाई जन्माउने बुवाले त इच्छा सोधेनन् भने अर्काको बाबु आमाले त सोध्ने कुरै भएन। खान, बस्न, नोकर चाकर केही कमी थिएन। कामको दुःख पनि थिएन। तर त्यहाँ लोग्नेको मायामा सुवास थिएन। सासूको बोलीमा आमाको माया थिएन। हरिदास जस्तो ख्याल राख्ने कोही थिएनन्।
लोग्ने लोग्ने जस्तो थिएन। दिनभर गाउँमा कता कता डुलेर आउने। सँगै बस्दा पनि मुखबाट ह्वास्स सुर्तिको गन्ध आउने। दुःख सुखको कुनै कुरा नहुने। श्रीमती त केवल भोगकै लागि ल्याए जस्तो। शरीरमा ताकत पनि केही नभएजस्तो। लौ त भनौं भने मलाई हातले उठाउन पनि नसक्ने। खै के भो के भो बिहे गरेर आएको धेरै दिनसम्म पनि मलाई ऊ लोग्ने जस्तै लागेन।
बिहे गरेर ल्याएको लोग्नेलाई यस्तो के अनर्थ सोच्न पुगेँ भनेर पटक पटक मनलाई सम्झाएँ। तर मन मान्न तयारै भएन। बिस्तरामा लोग्नेसँग सुतिरहँदा पनि हरिदासकै वाफिलो राप महसुस भैरह्यो।
जतिजति दिन बित्दै गयो। मनबाट लोग्नेको माया पनि हट्दै हट्दै गयो। उसले मेरो मनमा घर बनाउनै सकेन। ऊ जति टाढाटाढा हुँदै गयो हरिदास उतिउति नजिक नजिक आउन थाल्यो। दिउँसै पनि तन्द्रामा हरिदासले जिस्काउन थाल्यो।
राति त लोग्नेसँग सुते पनि सधैं हरिदासकै अंगालोको महसुस गरिरहेँ। घरमा मन बस्नै नसकेपछि महिना महिनामा एक दिन माइती जाने अनुमति मागेँ। माग स्वीकृति भो। लोग्नेले मोटरसाइकलमा माइत छाडिदिने गर्न थाल्यो।
माइती पहिलेभन्दा फरक थियो। बुवा, आमाले गर्ने व्यवहार पनि अलि फरक थियो। अर्काको नासो भएर होला अलि बढी नै ख्याल गर्दथे। तर हरिदासको व्यवहार भने उही थियो। उसले गर्ने माया उही थियो।
तर मेरो बिहेपछि भने ऊ मसँग पहिलेभन्दा खुलेर बोल्न थालेको थियो। मैले हातै हालेर चल्दा पनि तर्सिन छाडेको थियो। बेला बेलामा सुटुक्क मेरो कोठामा पनि आउथ्यो। म पनि बाबु आमाको आँखा छलेर उसको कोठामा पनि गइरहन्थे। ऊसँगको भेट निकै मिठो हुन्थ्यो।
किन किन उसलाई भेट्दा लोग्ने भेटेभन्दा खुसी लाग्छ। माइतीबाट फर्कंदा मन गह्र्ङ्गो भए पनि जिउ हलुङ्गो भएजस्तो लाग्छ। साँचो भन्नुपर्दा ऊ मलाई लोग्ने जस्तै लाग्छ। आफ्नो सबभन्दा ख्याल राख्ने,आफूलाई सबभन्दा माया गर्ने मान्छे भनेको नै लोग्ने होइन र ?
आजकल घरमा म सधैं माइती जाने दिन कुरेर बस्ने गरेकी छु। हरिदाससँग भेटने प्रतीक्षा गर्न थालेकी छु। हरिदास मेरो हुन नसके पनि म उसकी भएकी छु।
***