'हाम्रो जोडी खुब राम्रो सुहाउँछ रे। हाम्रो क्लासका साथीहरू सबैले भन्छन्। तिमीले साँच्चै माया गर्छौ नि? कि अरूणले सिर्जनालाई घुमाएझैं दुई चार दिन घुमाएर छोड्ने विचार छ ?' उषाले सुमनको हात सुम्सुमाउँदै भनि।
'भोलि कल्ले पो देख्या छ र यार् ? आज माया गर्छु, भोलिको ग्यारेन्टी लिन्नँ। सबिनाले प्रणयलाई धोका दिएजस्तो तिमीले पनि हात हल्लाउन के बेर? '
'यस्तो भर नभएको मान्छेसँग हिँड्नभन्दा आफ्नै साथीहरूसँग हिँड्न ठिक', भन्दै उषा उठेर हिँड्न लागेकी थिई। उसले हात समातेर तान्यो र आफ्नो काखमा बसाल्यो।
'केटीहरूको यही बानीले गर्दा त धोका खान्छन्। तिमी चन्द्रमुखी, तिम्रा ओठ गुलाबको फूल भन्दा कोमल, तिम्रो कपाल आहा! कति सिल्की अनि मुलायम, तिमीलाई मैले यो जुनीमात्रै हैन सातौं जुनीसम्म पिरिम गर्छु भन्यो भने मक्ख परेर हाम्फाल्छन्। अनि उखु चुसेझैं चुसेर बाटोमुनि फाल्दा बल्ल चेत पाउँछन्।'
'छि: मैले त्यसो भन्न खोजेको कहाँ हो र ? मैले त तिमीले साँच्ची माया गर्छौ कि दुई चार दिन साथीहरूलाई देखाउनको लागि हो पो भनेकी। जहिले अरूले देख्ने ठाममा बस्नु पर्छ तिमीलाई। अरू क्लासका केटीहरूले समेत जिस्काउन थालिसके। केटीसँग बस्यो भने के-के न गरेजस्तो सबैलाई देखाउने र भन्ने जात हो तिमी केटाहरू।'
'प्यार कर्नेवाला किसिसे डर्ता नही। ओल्ड स्कुलको हो र म यार लुकीलुकी प्रेम गर्न? कस्तो कुरा गरेको हौ तिमीले।'
केही पर आँपको रूखको ओझेल पारेर केटीहरूले उनीहरूको गतिविधि हेर्दै थिए। पानी ट्यांकीमा उभिएका केटाहरूको आँखा पनि उनीहरूतिरै सोझिएका थिए।
'लाजै नभएको मान्छे तिमी। हेर माथिबाट सबैले हेर्दैछन्। बरू अन्त कतै जाऊँ।'
त्यसपछि दुबै जना उठेर गोलपार्क हुँदै तिनहुँ खोलातिर झरे। दिनभर ढुंगाको ओझेल परेर रंगीन सपनाहरू बुनिरहे।
त्यसपछिका दिनहरू कहिले सिद्धबाबाको मन्दिर छेउछाउ त कहिले फूलबारीको जंगलतिर बित्न थाले।
दुवै जना किताब र कापी बोकेर जान्थे। घाममा बसेर सुन्तला र मम्फुली खान्थे, र साँझ धुला मैला कपडा बनाएर डेरामा फर्किन्थे।
यो प्रक्रिया धेरै दिनसम्म चलिरह्यो। उनीहरू दुबै जना बि ए दोस्रो वर्षमा पढ्दै थिए। पढाएको नोट पनि उतै बसेर सार्थे। उनीहरूलाई दुनियाँदेखि केही मतलब थिएन।
आफ्नै अलग संसार थियो। दुबै जनाको साहित्यमा विशेष रुची भएकोले अलि बढी चर्चामा आएका उपन्यास पनि उतै लैजान्थे। त्यहाँ भएको प्रेम प्रसंगहरूको बारेमा एकअर्कालाई सुनाउँथे।
एकदिन तल्लो सिद्धबाबाको मन्दिर मास्तिरको जंगलमा बसिरेहका बेला आर्मीको गस्ती टोलीले उनीहरूलाई खै कताबाट देखेछ। त्यतिबेला जंगलमा घाँस दाउरा गर्नेलाई त माओवादी भनेर बन्दुक सोझ्याउने आर्मीले उनीहरूलाई के पो छोड्थ्यो; झन्डै ट्रिगर दबाएन।
दुई चारपल्ट बुटले पिछाडमा छाप हानेर त्यहाँबाट लखेट्यो। त्यो दिनदेखि उनीहरू खोला किनार तथा जंगलतिर जान छोडे।
त्यतिबेला सुमनको डेरा गोलपार्कमा थियो। गाँउकै साथी आलोकसँग बस्दथ्यो। त्यो घटना घटेको एक महिनाभित्रै ऊ खाती मेडिकल नजिकै डेरा सरेर एक्लै बस्न थाल्यो।
घरबेटी पनि रमाइला मान्छे परेछन्। पल्टन र तरुनीका गफ गरेर कहिले नथाक्ने। उनीहरूको कुरा खुब मिल्थ्यो।
सिद्धबाबाको जङ्गलमा आर्मीको बुट बज्रेपछि न त उनीहरू फेरि फर्केर त्यता गए, न तिनहुँ खोला किनारतिर। उनीहरू कलेजमा दोस्रो घन्टीसम्म बस्थे। त्यसपछि दुबै जना सुमनको कोठामा गएर चेकोभका कथाहरू, वर्ड्सवर्थ, सेली र बाइरनका कविताहरू पढ्थे र त्यस्तै सुन्दर 'मेक बिलिभ वर्ल्ड' को कल्पना गर्थे।
प्रेम गर्दा समय बितेको पत्तै हुँदैन रैछ। छुट्टिने मन नहुँदा नहुँदै पनि पन्ध्र दिने हिउँदे बिदामा उनीहरू आफ्नो आफ्नो घर गए बिदा मनाउन।
उनीहरूबीच फोनमा भने निरन्तर कुराहरू भैरहन्थ्यो। उठेदेखि आँखा नचिम्लिउन्जेल मेसेज या कल कुनै न कुनै भैरहन्थ्यो।
बिदा सकिएपछि उनीहरू बुटवल फर्किए।
बिदा पछिको पहिलो भेट कलेजमै भयो। उषा पहिलेभन्दा अलि काली भएकी थिई। तर सुमनलाई भेट्ने बितिकै भनि 'छि: कस्तो काले भएको तिमी त।'
'ए होर ! तिमी त कस्ती गोरी भैछौ' भन्दै ऊ अलिकति कुटिल हाँसो हाँस्यो।
उसले 'होला खुब !' भन्दै मुख बंगाई। त्यो दिन उनीहरू धेरैबेर कलेजको चौरमा बसेर छुट्टिए। अर्कोदिन उषा केहीदिनको लागि काठमाडौं गई।
दुई दिनपछि उषा काठमाडौंबाट फर्किई। केही समयदेखि लगातार पानी परिरहेको थियो। ठाउँ/ठाउँमा बाढीपहिरो झरिरहेको थियो। काठमाडौंबाट फर्के लगत्तै ऊ सुमनको कोठामा गई। सप्राइज दिनकै लागि भनेर उसले फोनसम्म पनि गरेकी थिइन।
उषाले सुमनको कोठाअगाडि एकजोडा गुलाबी रङ्गका स्यान्डिल देखी। ती स्यान्डिल आफ्नै साथी सुनिताले लगाएको देखेकी थिई। सुमनले सुनितासँग कलेज क्यान्टिनमा हाँस्दै गफ गरेको पनि देखेकी थिई। त्यतिबेला नै उसको मनमा शंका पसेको थियो।
त्यसपछि ऊ सरासर बाहिर निस्की र छाता नखोलिकनै पानीमा भिज्दै दगुरी। अलि पर पुगेपछि बीच बाटोमै जोडसँग चिच्याउँदै रोई।
नजिकका मान्छेहरूले झ्यालको पर्दा तानेर हेरे। घरको पेटीमा सुतिराखेको कुकुर खुट्टामुनि पुच्छर लुकाउँदै गल्लीभित्र भाग्यो।
कोठामा पुगिसकेपछि पनि धेरै बेरसम्म रोई ऊ। कयौंपल्ट सुमनलाई म्यासेज लेख्दै डिलिट गर्दै गरी।
दिउँसो दुई बजे सुमनको फोन आयो। उसले एकै रिङमा फोन काटी।
पुन: एकैछिनमा फोनको घन्टी बज्यो। उसैले फोन गरेको थियो। फेरि पनि दुई घन्टी बज्न नपाउँदै फोन काटी उसले।
'ह्वेर आर यु स्वीट हार्ट ?' टिंग टिंग गर्दै मेसेज आयो। उसले रिप्लाई फर्काइन। सिरानीमा अनुहार लुकाएर दिनभरि रोइरही।
घरिघरि फोन गर्दा फोन नउठेको र म्यासेजको रिप्लाई पनि नआएकोले बेलुका पाँच बजे सुमन उषाको कोठामै पुग्यो।
ढोका बन्द गरेर भित्रबाट चुकुल लगाएको थियो। उसले धेरै पल्ट ढकढकाउँदा समेत ढोका नखुलेकोले ऊ डरायो। झ्यालबाट बोलायो। अहँ! भित्रबाट आवाज आएन। झ्यालमा बाक्लो पर्दा लगाएकोले गर्दा भित्र केही देखिँदैनथ्यो।
सुमनले तुरून्त घरबेटीलाई बोलायो। घरबेटी उषाको आफन्त पर्थे। उनले बोलाएपछि उसले ढोका खोली।
उसका आँखा सुन्निएर पाकेको गोलभेडाझैं राता भएका थिए। उसले सुमनको मुखमा हेर्दा पनि हेरिन। भित्र पनि बोलाइन।
उसको यस्तो अवस्था देखेर सुमन असमन्जस्यतामा पर्यो। पहिले त उसलाई उषाको घरमा कुनै अप्रिय घटना घटेछ कि भन्ने पर्यो। तर उषा आफूसँग नबोलेको हुँदा मनमा चिसो लाग्यो। घरबेटीको अनुरोधमा ऊ आफ्नो डेरामा फर्क्यो।
रातभर उसले उषालाई फोन गर्ने कोसिस गर्यो। थुप्रैपल्ट टेक्स्ट पनि गर्यो। न फोन उठ्यो। न टेक्स्टको रिप्लाई नै आयो। नानाथरि कुराहरू सोचेर छर्लंगै उज्यालो बनायो। भोलिपल्ट बिहानै ऊ पुन: उषाको कोठामा गयो।
कोठाको ढोका बन्द थियो। ढोका ढक्ढकायो। धेरै पल्ट कोसिस गर्दासम्म नखुलेपछि फेरि घरबेटीलाई बोलायो।
उनले बोलाउँदा पनि ढोका नखुलेपछि उनीहरू दुबै जनाले जोडसँग हानेर ढोका खोले। उषा खाटमा बेहोस अबस्थामा लडिरहेकी थिई। उनीहरूले तुरून्त अस्पताल पुर्याए।
डाक्टरहरूले उसको शरीरमा पोइजनले असर गरिसकेकोले तुरून्त आइसियुमा राख्नु पर्ने जानकारी दिए। त्यतिबेलै एम्बुलेन्समा राखेर उसलाई भरतपुर अस्पतालमा पुर्याइयो।
तीन दिनसम्मको लगातार उपचारपश्चात् उषाको अवस्था खतरामुक्त भयो। त्यहाँ पुर्याएर उपचार गर्ने सबै बन्दोबस्त सुमनले नै मिलाएको थियो। साथीहरूले अलिअलि भए पनि सक्दो सहयोग गरे। गाउँमा भएका उषाको परिवारलाई समेत खबर गरेनन् उनीहरूले।
उपचारपश्चात उनीहरू बुटवल फर्के। सुमनले उषालाई आफ्नै कोठामा लगेर राख्यो। बिस्तारै उषाको स्वास्थ्य अवस्था पहिलेको अवस्थामा फर्कियो। उषाको मनमा गडेको भ्रमको पर्दा पनि केहीदिनमै च्यातियो। कारण सुमनको दिदी तिनै गुलाबी रङका स्यान्डल लगाएर भाइको कोठामा आइन्। उनी नयाँगाउँ बस्थिन् र प्राय:जसो बजार लाग्ने दिन बुटवल आएको बेला भाइकोमा पस्ने गर्थिन्।
सुमनले दिदीसँग उषाको बारेमा सबै कुरा गरिसकेको थियो। तर उषालाई दिदीको बारेमा कुनै जानकारी थिएन।
यस बीचमा कयौंपल्ट सोद्धा समेत उषाले विष सेवन गरेको कारण भनेकी थिइन। दिदीलाई भेटेपछि आफूले गरेको गल्तीले ग्लानि महसुस भयो। कुरा लुकाएर कति दिन पो लुक्छ।
एकदिन सबैकुरा सुमनलाई भनि र आँसुले मनको मैलो सबै पखाली। सुमनले पनि दिदीसँग पहिले नै परिचय नगराएकोमा माफी माग्यो।
त्यसको एक महिनामै उनीहरूले बिहे गर्ने निधो गरे। घरमा कुनै सल्लाह नै नगरी दुबै जनाले यो कुरो पक्का गरेका थिए। कारण उषा तथाकथिक ‘तल्लो’ जातकी केटी थिई भने सुमन गाउँकै नामुद पण्डित बाजेको छोरो।
दुवै जनाको परिवारले यो विवाह नस्वीकार्ने पक्कापक्की थियो। सुमनले दिदीलाई मनायो र केही साथीहरू बोलाएर सिद्धबाबा मन्दिरमा उषाको सिउँदोमा सिन्दुरको धर्को तान्यो।
उनीहरूको विवाहको हल्ला केहीदिनमै घरसम्म पुग्यो। छोराले ‘तल्लो’ जातकी केटीसँग बिहे गरेको थाहा पाउनसाथ सोमनाथ पण्डितले श्रीमतीसँग भने 'तेरो छोरो माओवादीमा लागेको रहेछ।आर्मीले बेपत्ता पारेको छ रे, बिर्सी दे त्यसलाई। पण्डितनी आमाले सोझै बुझिन्। दुई दिनका दिन बल्ल होश खुल्यो उनको।
उषाको बाउले आरनमा विष्टको हँसिया, कोदालो मर्मत गर्ने काम गर्थे। उनलाई कतै आफ्नो छोरीलाई मार्छन् कि भन्ने डर जाग्यो। उनले पनि बुढीसँग भनेछन् 'जातीय मुक्ति भन्दै हिँड्थी रे ‘ठूलै’ जातको केटासँग हिँडिछ। कुन दिन जीवनबाटै मुक्ति पाउँछे था’छैन।'
सोझी साइली केही नबुझी त्यसै 'चुक् चुक्' गरी।
दुवै जनाले बुटवल बहुमुखी क्याम्पसबाट मानविकी संकायमा ब्याचलर सकाए। घरबाट खर्च आउन छोडेपछि सुमनले नयाँगाउँमा स्कुल पढाउन थाल्यो। उषाले पनि ब्युटी पार्लरको काम सिकेर मिलनचोकको "मोनालिसा ब्युटी पार्लर"मा काम गर्न थाली। जेनतेन गर्जो टार्दै गए। यत्तिमै भए पनि खुसीका साथ दिनहरू बिताउन थाले। उनीहरूको प्रेम र संघर्ष देखेर धेरैले प्रशंसा पनि गरे।
एकदिन अचानक स्कुलबाट फर्किंदै गर्दा सुमनको मोटरसाइकल पूर्वपश्चिम राजमार्गमा भैरे पेट्रोल पम्पनिर ट्रकसँग ठोक्किन पुग्यो।
ट्रकको टायरले उसको देब्रे खुट्टा नराम्रोसँग पिल्सियो। एम्बुलेन्समा उसलाई तुरून्त बुटवल हस्पिटल पुर्याइयो। उसलाई बचाउनको लागि डाक्टरहरूले उसको खुट्टा काट्नु पर्यो। त्यसपछिको जीवनमा ह्विलचियर उसको जीवनसाथी बनेर आयो। उनीहरूको खुसीमा ठूलो बज्रपात भयो। उषाले सुमनलाई ह्विलचियरमा राखेर कोठामा लगि। त्यसपछिका दिनहरू झन् झन् कष्टकर बन्दै गए।
सुमनको जागिर गयो। उसको जागिरसँगै हातमुख जोर्ने उपाय भएन। उषाले सुमनको स्याहार सुसार थाली। भर्खर फुल्दै गरेको उनीहरूको जीवनमा नराम्रोसँग बज्रपात आयो। तर पनि उनीहरूले हार मानेनन्।
उषाले बिहान बेलुका सुमनको सेवा गरेर दिउँसो कामलाई निरन्तरता दिई। जेनतेन उनीहरूले खान र बस्नको लागि गुजारा गरे।
उषाका साथीहरू भन्थे-किन कुरेर बस्छेस् है उसलाई ? तिमीहरूको सन्तान पनि त छैनन्। न उसको परिवारले उसलाई हेर्छ, न उसले नै केही गर्न सक्छ। बेलैमा आफ्नो बाटो हेर। अहिले विचरो भनेर आफ्नो जिन्दगी बर्बाद पार्न पनि त भएन। पछि पछुताउलिस्। '
उसले धेरै सुनी। परिवारका सदस्यहरूले समेत धेरै सम्झाउने कोसिस गरे। तर जब उसले बेडमा सुमन निरिह भएको सुतेको देख्थी, उसप्रतिको माया झन् बढेर आउथ्यो। उसलाई गर्लम्म अँगालोमा बेर्थी र प्रेमले सिँचित गर्थी। उसको उजाड मनलाई। उसलाई कपडा फेर्दिने, नुहाइदिने र बाथरूमसम्म लैजाने जस्ता व्यक्तिगत कामहरूमा कहिल्यै झर्को नमानी गरी उसले।
एकदिन साँझ उषाले सुमनलाई ह्विलचियरमा राखेर डुलाउन निस्की हाटबजारतिर।
फर्केर आउँदा गोलपार्क चोकैनिर सुमनलाई बाहिर राखेर केही सामान किन्न भित्र पसी। सुमनले अन्त कतै हेरेको बेला कसैले पाँचको नोट ह्विलचियरमा खसालेर गएछ। सुमनको मन आत्मग्लानीले छिया छिया भयो। त्यो थाहा पाएर उषा अवाक् भई।
त्यो साँझ उषा धेरैबेरसम्म रोहिरई। समाजले अपांगहरूलाई हेर्ने दृष्टिकोणप्रति उसलाई हदैसम्मको घृणा जागेर आयो। के अपांगहरू सबै भिख मगुवा हुन्? के अपांगहरूको इज्जत हुँदैन?
के उनीहरूलाई आत्मसम्मानका साथ बाँच्ने अधिकार हुँदैन ? के सडक अपांगहरूको होइन?
ऊ सुमनको छातीमा टाँसिएर धेरैबेरसम्म रोई।
'कस्तो समाजमा बाँचिरहेका छौं हामी। जातको नाममा हामी आफ्नै परिवारबाट अलग भयौं। समाजको नजरमा हामी कलङ्क भयौं। आज यही समाजले हामीले भिख मगुवा देख्छ। आखिर कहिलेसम्म ? कहिलेसम्म सुमन। … ? ' ऊ डाँको छोडेर रोई।
सुमनको मन बेचैनीले पहिले नै छट्पटाई रहेको थियो। उषाको आँखाबाट झरेको आँसुले उसको छाती भिजिसकेको थियो। उसले रोक्न खोज्दा खोज्दै पनि कोछ कोछबाट आँखा रसाए।
सधैं उषा रुदा नरोऊ 'सबै ठिक हुन्छ' भन्दै सम्झाउथ्यो उसले। तर आज रोकेन। धेरैबेरसम्म उसको कपाल मुसारिरह्यो।
त्यो दिनको घटनालाई उसले आफ्नो मात्र अपमान ठानेन। आफूलाई मात्र भिखारीको ताज भिराइएको देखेन। सम्पूर्ण अपांग व्यक्तिहरूको सामूहिक अपमान भएको ठान्यो।
'दुर्घटनाले दिनदिनै हजारौं लाखौं मान्छे अपांग बनेको छ। तर उनीहरू भिख माग्ने भएका त हैनन्। के कुनै व्यक्ति ह्विलचियरमा हिँड्न बाध्य हुन्छ, घिस्रेर हिँड्नु पर्ने हुन्छ, बैसाखीको सहारामा हिँड्ने बाध्यता हुन्छ अनि ऊ यो समाजको नजरमा स्वतः भिखारी भैदिन्छ ? अहँ कदापी हुँदैन। बरु कयौं हदसम्म भिकारी बनाउँछ यो समाजले। माग्न बाध्य बनाउँछ' सुमनको अन्तरात्माले भन्यो।
त्यसैदिन उसले मनमा दृढ संकल्प लियो कि जुनसुकै हालतमा पनि समाजको चश्मा परिवर्तन गर्ने। अपांगहरूले पनि साधारण व्यक्ति सरह जिउन पाउने, हिँडडुल गर्न पाउने, आफ्नो शारीरिक र मानसिक क्षमताअनुरूप काम गर्न पाउने अधिकारको सुनिश्चित गर्नुपर्छ भन्ने कुरामा।
'आफू नमोरी स्वर्ग देखिँदैन मात्रै हैन नर्क पनि नदेखिँदो रहेछ' भन्ने लाग्यो उसलाई।
'न सार्वजनिक बसहरूमा यात्रा गर्न सजिलो छ, न सहरका बाटाहरूमा ह्विल चियर गुडाएर हिँड्न। कलेजहरूमा पनि अपांगहरूको लागि कुनै संरचनाहरू छैनन्। चर्पी अपांगमैत्री छैनन्। रेस्टुरेन्ट अपांगमैत्री छैनन्। अस्पताल अपांगमैत्री छैन।
ऊ आफैं तिरिमिरीमा पर्यो। यो सबै कुरा त ऊ सपांग हुन्जेल कहिले पनि सोचेको थिएन।
'कति होलान् यति ठूलो सहरमा अपांगहरू ? कसरी बाँचेका छन् उनीहरू? खै कुनै राजनीतिक दलका नेताहरूले उनीहरूको बारेमा बोलेको? खै उनीहरूको लागि आन्दोलन गरेको? बस् खाली सत्तालिप्साको लागि रोइलो मच्चाइरहेका छन्।'
उसको मनमा तुफान मडारिन थाल्यो। उसले उषालाई भन्यो 'हामी अब यो अन्याय सहेर बस्नु हुँदैन। जसरी हुन्छ हामीहरूले अपांग मानिसहरूलाई भएको अन्यायको विरूद्ध आवाज उठाउनु पर्छ। मैले नै यसको सुरूआत गर्छु। तिमीले मेरो साथ देऊ।'
त्यसपछि उनीहरूले 'अपांग आवाज' नामक फेसबुक ग्रुप पेज खोले।
ट्विटर, इन्स्टग्राम हुँदै सयौ मान्छेहरूसँग जोडिन पुगे। कयौं अपांगहरूको उनीहरूले खोजीनीति गरेर संगठित गरे। ग्रुपमा धेरै सदस्यहरू बढ्दै गैसकेपछि बेला बेला उनीहरूले भिडिओ कन्फरेन्ससम्म गरे।
अन्तर्राष्ट्रिय मानव अधिकारवादी संगठनहरूले पनि उनीहरूको कार्यक्रमलाई सहयोग गर्ने भए। त्यसपछिका दिनहरूमा उनीहरूले कयौपल्ट जिल्ला प्रशासन कार्यालय अगाडि बसेर धर्ना दिए।
बैसाखी टेकेर भए पनि भेला भएर सबैको अगाडि आफ्ना माग राखे। तर कसैले सुनेन। एक जना टोले नेताले माइक बोकेर चोकमा उभिँदा मिनेट भरमा सैकडौ मान्छेहरू भेला हुन्थे। तर त्यही ठाउँमा अपांगहरूले आयोजना गरेको त्यो भेलामा उनीहरूलाई साथ दिने कोही भएनन्।
स्थानीय प्रशासनले टेरपुच्छर नलगाएपछि उनीहरूले आफ्ना माग आफैं काठमाडौं गएर प्रधानमन्त्रीलाई बुझाउने निधो गरे। जानको लागि यातायातको व्यवस्था गरेर बालुवाटारसम्म पुगे।
सिंहदरबार अगाडि बैसाखी टेकेर र ह्विल चियरमा बसेर सयौ अपांग व्यक्तिहरूले धर्ना दिए।
उनीहरूले प्रधानमन्त्रीलाई भेट्नको लागि गेटमा बसेका पहरेदारहरूसँग बिन्ती गरे। बरू बेलाबेलामा मन्त्रीहरूका सवारीभित्र बाहिर गर्दा उनीहरूलाई धुलोले ढाक्थ्यो। कसैले बेतोडले हर्न बजाउँथे। तर कसैले झ्यालको सिसासम्म खोलेर उनीहरूलाई हेरेन।
सुमन दुवै हातले जोड जोडसँग दुवै पांग्रा घिसार्दै गेटमा उभिएको पुलिससँग गयो र उनीहरूलाई नरोक्न तथा भित्र जानको लागि आग्रह गर्यो। तर बुख्याँचा जसरी गेटमा ठिङ्ग उभिएको पुलिसले उनीहरूको कुरा सुनेन। उल्टै हप्काउन थाल्यो। त्यहाँ जम्मा भएका सयौं अपाङ्गहरूको मन कुडियो। उनीहरूले आवेगलाई रोक्न सकेनन् र सबैले धकेला धकेल गर्दै गेटमा पुगे। अचानक आन्दोलनकारीमध्येकै एक जनाले पुलिसको बन्दुक तान्यो। त्यतिबेलै त्यहाँ अर्को पुलिसले गोली चलायो।
सुमनको खुट्टामा देब्रे खुट्टामा गोली लाग्यो। उसको दाहिने खुट्टा पहिले नै काटिसकेको थियो। ऊ गर्लम्मै त्यही ढल्यो। तुरून्तै अन्य पुलिसहरू आएर जथाभावी लाठी बर्साउन थाले। कयौं व्यक्तिहरू गुहेकिरा झैं सडकमा पल्टिए। यो विभत्स घटनाको तस्बीर खिचेर गए पत्रकारहरू। सुमन लगायत दर्जनौं मान्छेहरूलाई पुलिसले भ्यानमा हालेर कता लग्यो कसैलाई पत्तो भएन।
त्यो दिनको घटनालाई लिएर कयौं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पत्रपत्रिकाहरूमा खबर छापियो। युट्युब भिडिओहरू भाइरल भए। मानव अधिकारवादीहरूले निकै चासोका साथ उनीहरूको रिहाइको माग गर्नुका साथै उनीहरूलाई राखिएको ठाउँहरूमा स्थलगत निरीक्षण गरे।
उषाले सुमनको नेतृत्वलाई अगाडि बढाई। देशैभरि भैरहेको उनीहरूको आन्दोलनलाई समर्थन गर्दै कयौं अन्तर्राष्ट्रिय संघ संगठनका मान्छेहरू नेपालमै आएर उनीहरूको आन्दोलनलाई साथ दिए।
उनीहरूको कुनै किसिमको राजनीतिक माग नभएर अन्य नागरिक सरह हिँडडुल गर्न पाउनु पर्ने, सपाङ्गसरह काममा जान पाउने वातावरणको सिर्जना गर्नुपर्ने, अपाङ्गहरूलाई विभेदकारी व्यवहार गर्ने जो कहीँलाई पनि कारबाहीको दायराभित्र ल्याउनुपर्ने। काम गर्न नसक्नेहरूको लागि जीविको पार्जन गर्नको लागि सरकारले न्यूनतम भत्ताको व्यवस्था गर्नुपर्ने। अपाङ्गता भएका व्यक्तिहरूको शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टी सरकारले लिनु पर्ने। उनीहरूलाई पनि सामान्य नागरिक सरह व्यवहार गरिनु पर्ने।
राज्यका भौतिक संरचनाहरूलाई अपाङ्गमैत्री बनाउने। यस्तै यस्तै ... निकै सरल थिए उनीहरूका माग। न उनीहरूले राज्यको भागबन्डा मागेका थिए न आफूलाई कुनै मन्त्रीको पद। उनीहरू आफ्नो वर्तमान भन्दा भविष्यमा अपाङ्ग व्यक्तिहरूप्रति गरिने दुर्व्यवहार र उनीहरूले भोग्नुपर्ने सास्तीलाई सधैंको निम्ति हटाउन चाहन्थे।
उनीहरूलाई जस्तै भावी सन्ततिहरूलाई समाजले भिख मागुवा नदेखोस् भन्ने उनीहरूको माग थियो। चाहना थियो। एउटा बिन्ती राज्यप्रति गरिएको थियो।
चौतर्फी दवाब बढेपछि राज्यले उनीहरूको माग पूरा गर्ने घोषणा गर्यो। उनीहरूको बिन्तीपत्रमा हस्ताक्षर गर्यो। आन्दोलनको क्रममा जेलमा थुनेका धेरै मान्छेहरूलाई पनि जेलमुक्त गर्यो।
सबैलाई अबको केही दिनमा यसको कुनै कुनै किसिमको परिणाम आउँछ भन्नेमा सबै ढुक्क भए। सुमन र उषा पनि ठूलो आशा गरेर बुटवल फर्के।
समय आफ्नै गतिमा अघि बढ्यो। दिनप्रतिदिन बढ्दै गैरहेको दुर्घटनाको कारण अपांगताहरूको संख्या बढ्दै थियो। नेताहरूले संविधानको धारा देखाउँदै अपाङ्गहरूको अधिकारको सुरक्षा गरेको, भौतिक संरचनाहरू निर्माण गर्न बजेट थपेको आदि कुराहरू आफ्ना चर्का भाषणहरूमा गर्दै गरे।
एक वर्ष नहुँदै सरकार ढल्यो। फेरि अर्को सरकार गठन भयो। न सडकहरू अपाङ्गमैत्री बने, न स्कुल, अस्पताल र सरकारी भवनहरू।
वैशाखको चर्को घाममा सुमनले पुरानै मागहरू राखेर आमरण अनसन सुरू गर्यो। रुपन्देहीको क्षेत्रीय प्रशासन कार्यालयको अगाडि आफ्ना मागहरूको ब्यानर टाँगेर ह्विलचियर मै बसेर आन्दोलनको घोषणा गर्यो। आमरण अनसनमा बसेको कुराको त्यति ठूलो मिडिया कभरेज भएन।
होस्टेमा हैंसे गर्न मान्छेहरू थपिएनन्। ऊ लगातार १५ दिनसम्म पानीसम्म नपिई अनसनमा बस्यो।
उसको साथमा थिई उषा र केही अभियन्ताहरू। लामो समयसम्मको अनसनले गर्दा सुमनको खुट्टाको घाउमा असर गर्यो। उसको स्वास्थ्यमा नराम्रो प्रभाव पर्यो। राज्यको तर्फबाट पुरानै खालको आश्वासन बाहेक केही पहल भएन।
एकदिन राति अपहरणकारीको शैलीमा पुलिसहरूले उसलाई उठाएर अस्पतालमा पुर्याए।
अस्पताल पुग्दा सुमन बेहोस भैसकेको थियो। प्रहरीहरूले उषालाई समेत भित्र प्रवेश गर्न रोक लगायो। अस्पताल भर्ना गरेको २४ घण्टापछि मात्र उसको होश खुलेको थियो।
अस्पताल बाहिर केही संघसंस्थाका मान्छेहरूबाहेक अरू कोही थिएनन्। अरू दुई दिन अस्पतालमै राखेर केही सामाजिक अभियन्ताहरूको रोहबरमा पुलिसले सुमनलाई छोड्यो। त्यो रात अबेरसम्म उनीहरू निदाएनन्।
सूर्यका सुनौला किरणहरूले सुन्दर बुटवल नगरी झलमल्ल देखियो। सडकको दुवैछेउहरुमा झुम्म परेका असोका रूखहरू लहरै उभिए। सफा अनि फराकिला सडक पेटीहरू। चिल्ला गाडीहरू आफ्नै गतिमा कुदिरहे। न बाटोमा धुलो उडेको छ, न जोड जोडसँग गाडीको हर्नहरू बजेका छन्। ह्विलचियरमा मान्छेहरू निर्धक्कसँग हिँडिरहेका छन्।
ठूला फराकिला सार्बजनिक बसहरू गुडिरहेका छन्। बसहरू अपाङ्गमैत्री छन्। बस स्टपहरूमा ठिक समयमा बस आउने र जाने क्रम चलिरहेको छ।
सुमन ह्विलचियर गुडाउँदै आफूले पढेको कलेज बुटवल बहुमुखी क्याम्पसभित्र छिर्यो। ह्विलचियरको लागि र्याम्पहरू बनेका थिए। शौचालयहरू अपाङ्ग मैत्री थियो।
आफूले सुरूआतद गरेको आन्दोलन सफल भएको र भौतिक संरचनाहरूको विकास अपाङ्गमैत्री भनेकोमा ऊ दङ्ग थियो।
तिनाउ खोलाको किनारामा तलदेखि माथिसम्म सुन्दर पार्क निर्माण गरिएको थियो। नदीको किनारमा राखिएका बेन्चहरूमा जोडी ढुकुर झैं केटाकेटीहरू बसेका थिए। पार्कको तलदेखि माथिसम्म ऊ ह्विलचियरमै जान सक्थ्यो। अस्पतालहरूको शौचालयदेखि, अपरेसन थिएटर सबै अपाङ्गमैत्री भैसकेका थिए।
मान्छेहरू पनि कति सभ्य र भद्र भएछन्। सबैले एक अर्कोलाई सम्मानपूर्बक अभिवादन गर्ने। अपाङ्ग र सपाङ्गमा कुनै भेदभाव थिएन। ऊ खुसीले पुलकित हुँदै अटोमेटिक ह्विलचियरमा ट्राफिक चोकतिर हान्नियो।
अचानक त्यहाँ एउटा भीड जम्मा भयो। उसले हेर्दाहेर्दै त्यो भीड आफूतिर आउँदै गरेको देख्यो। त्यो भीडले भनिरहेको थियो 'यो अपराधी हो। आफ्नो स्वार्थको लागि आन्दोलन गर्ने। नचाहिँदो काममा राज्यको ढुकुटी सर्वनाश पार्ने। पुराना संरचनाहरू ध्वस्त पार्न खोज्ने।'
'हो म अपराधी हो। अपाङ्गहरू सबै राज्यका अपराधी हुन्। हिटलरले झैं हामीलाई ग्यास चेम्बरभित्र डढाएर खरानी पारिदेऊ। इदी अमिनले झैं मुटु कलेजो पोलेर खाऊ' ऊ जोडसँग चिच्यायो।
'के भयो तिमीलाई ? किन एक्लै चिच्याएको ? भन्दै उषा ओछ्यानबाट उठी। सुमनको शरीरबाट पसिना चिट्चिटाएको थियो। उषाले एक गिलास पानी लिएर दिई। पुन: एकपल्ट कोठामा शून्यता छायो। सुमनका आँखा सिलिङमा झुन्डिएको पंखामा एकोहोरो ट्वाल्ल परेर रोकिए। सायद उसका सपनाहरूले त्यही पंखामा झुन्डिएर आत्महत्या गरिसकेका थिए।