घरबाट खुसी खुसी हिँडेकी छोरी
बेलुका सही सलामत घर छिरे पुग्छ
चाहिँदैन एक दिनको नारी दिवस।
एक गाँस त्यो पनि खाउँ कि
नखाउँ भनी दो मन भएर
छोरालाई ठूलो मान्छे भएको
देख्ने चाहाने आमालाई
मिठो बोली र बुढेसकालको
साहारा बनेर साथ दिए पुग्छ
चाहिँदैन एक दिनको नारी दिवस।
आफ्नो हरेक दुखलाई आँचलमा लुकाएर
पतिको खुसीको लागि आफ्ना
सपनालाई तिलान्जली दिने
पत्नीको हृदयको भाव बुझे पुग्छ
चाहिँदैन एक दिनको नारी दिवस।
आफ्ना बाल्यपनका ती मिठा
हरेक दुख र सुखका आत्मिय पलहरुलाई
आत्मसाथ गर्दै दाइभाइको दीर्घ आयुको
कामना गर्ने ती दिदीबहिनीलाई
माया र प्रेम दिए पुग्छ
चाहिँदैन एक दिनको नारी दिवस।
सक्षम छन् अहिलेका नारी
कुनै कोटा, सम्पत्ति र आरक्षण चाहिँदैन
असल शिक्षा संस्कार विभेद रहित माया भए पुग्छ
चाहिँदैन एक दिनको नारी दिवस।