कविता
मेरो स्मृतिमा एउटा मुडुलो वृद्धको आकृति
कहिले मेटिदैन
जस्को हातहरुका स्पर्शले मात्रले म पुलकित हुन्थेँ।
जस्को मिठा वाणीहरुले मेरा कानहरु पवित्र हुन्थेँ।
चाउरिँदै गरेको शरीर र अनुहारको छाला भित्र
अनगिन्ती पीडाहरु लुकाएर हाँस्न सक्ने मेरो पथप्रदर्शक
मेरी हजुरआमा
जस्को प्रशंसाका लागि म कुनै ओजपूर्ण शब्द छैन।
जस्को सहानुभूतिका लागि मसँग कुनै वाणी छैन।
एउटा जिउँदो इतिहास हुनु हुन्थ्यो मेरी हजुरआमा
जस्ले मानसपटलमा हजारौँ घटनाहरु नमेटिने अक्षरहरुले
लेखेको थियो।
जस्ले राणा शासन देख्यो
सति प्रथाका अवशेषहरु देख्यो
सति जानु नपरेपनि
पति वियोगको पीडामा विदुवा वस्त्र पहिरिएर
जीवन काट्नु पर्यो।
मेरो पहिलो शिक्षक पालनकर्ता
मलाई कयौँ पटक मृत्युको मुखबाट
खोसेर ल्याउन सक्ने
एउटा साहसी नारी जस्लाई म
मेरो हरेक अंगहरुमा महशुस गर्न सक्छु।
मेरी हजुरआमा ब्रम्हनालमा समाहित भएपनि
म उहाँकै अवयव हुँ
मभित्र दौडिने खुन उहाँकै हो
मेरो शरीरको आकार बनावट उहाँकै उपहार हो
मेरो जीवन जिउने शैली उहाँकै अनुकम्पा हो।
मेरो अनुहार आँखा नाक उहाँकै स्मरणबाट सृजित भएको हो
कर्मवीर नारी हुनुहुन्थ्यो मेरी हजुआमा
उहाँसँग जोडिएका अनगिन्ती यादहरु छन्
तिनै यादहरुसँग साक्षात्कार गर्दै
मेरो एक्लोपनलाई दूर गर्न सक्छु
बिहानै ब्रेड खाने बेला
उहाँले पकाएर दिने जाउलो सम्झन्छु
उहाँले पकाएर दिने दाल भात मात्रै हैन
त्यो मेरो लागि अमृत हुन्थ्यो
उहाँले सिकाएका धरै कुराले
मेरो जीवन सहज बनेको छ
मकै रोप्न होस् या ढिकी कुट्न
उहाँकै देन हो।
तितेपाती होस् या घोडताप्रेको
औैषधीय गुण
पाखनवेत र पदमचालको महिमा
मैले उहाँबाटै सुनेको हो।
उहाँको वैभवलाई उहाँको विरासतलाई
बचाउने प्रयासमा छु
उहाँको नैतिकतामा मृत्युपर्यन्त प्रश्न उठेन
उहाँको शालिनतामा कसैको औँलो ठडिएन
उहाँकै काखमा लुट्पुटिँदै
मैले पाएँ धरै माया
अझै लाग्छ म हुँ उहाँकै प्रतिछाया
कहिले काहीँ सपनिमा
प्रकट भएर सोध्नुहुन्छ
'सन्चै छस्' भनेर
मैले उत्तर दिन नपाई
उहाँ बिलाउनु हुन्छ मेरो सपनीबाट
मलाई विश्वास छ उहाँ
मृत्युपर्यन्त मलाई सम्झनु हुन्छ
जीवनमा कहिल्यै विचलित नभई
आफ्ना सन्तानका लागि
अहोरात्र पसिना बगाउनु भयो
चिन्ता गरिरहनु भयो हाम्रो भविष्यको
अनि प्रार्थना गरिरहनु भयो
हाम्रो सफलताको
काँडामा पैताला राखेर
हामीलाई फूलको बाटो हिँडाइरहनु भयो
त्यसैले होला अझैँ पनि
जीवनका अप्ठ्याराहरुमा
उहाँकै साथ खोज्ने गर्छु
ठोक्किएर लड्न खोज्दा
उहाँकै हात खोज्ने गर्छु।
लाग्छ अदृष्य बनेर उहाँ
हाम्रो हर सुखदुखमा साथ
दिइरहनु भएको छ
म हजुरआमा आकाशको कुन
तारामा मिसिनुभयो होला
भन्ने प्रश्नले घरिरहेको छु
हो हजुरआमा, म हरेक रात आकाशमा
तपाईलाई नै हेरिरहेको छु।