हतार कुनै समय होइन, यो एउटा मानव सिर्जित अवस्था हो, जुन बेला छुट्टिएको समय भेट्टाउन आफ्नो गति बढाइन्छ। मलाई त्यसदिन निकै हतार थियो।
त्यसदिन मात्रै पो किन भनौं, मलाई काममा जान भनेपछि सधैं हतार हुन्थ्यो। प्लस टु पास गरेदेखि नै केही त गर्नुपर्यो भन्ने सोचले भोटाहिटीको एउटा होलसेल पसलमा काम गर्न थालेको थिएँ। काम गर्न थालेको चार महिना बितिसक्दा पनि मैले हतारलाई कहिल्यै भेट्टाउन सकिनँ। म समयभन्दा निकै पर छुटेको थिएँ।
खाना खाँदा हातको गति बढाएँ, गाँसको गति बढाएँ, लुगा लगाउँदा हतारमै टि-सर्ट र कट्राइज पेन्ट लगाएँ। कट्राइज मेरो रोजाइ थिएन तर लगाउँदा सजिलो लाग्थ्यो। हतारमै कपाल कोर्न र पर्फ्युम छर्किन पनि भ्याँए। काममा जान सधैं हतार भए पनि हातमा घडी बाँध्न मलाई कहिल्यै आवश्यक लागेन। सोच्थेँ, घडीको आफ्नै लय हुन्छ। ऊ एकोहोरो हुन्छ। अझ भनौं ऊ घमण्डी हुन्छ। मान्छेलाई आफूसँगै दौडाउन खोज्छ। भूत र भविष्यको बोध गराउन खोज्छ र आफू भने स्वार्थ भावले वर्तमानमा रमाउँछ।
सोच्थेँ, मेरो पनि आफ्नै लय छ। मैले त तीनकाल एकै समयमा जिउन सिकेको छु। ढिला हुनु, हतार गर्नु र पुगी पनि सक्नु, यी सबैलाई मैले एकै कालमा बाँचेको छु। मेरा तीन सुई तीनतिर छरिएका छैनन्। सबै एक भई मिसिएका छन् तर कतै बराल्लिरहेका।
हतारले नै गर्दा खुट्टा मात्र हाल्दा हुने जुत्ता किनेको थिएँ, लगाएपछि तुना बाँध्नु नपर्ने। हतार नै भए पनि ताल्चा लगाएपछि पुनः एकपटक जाँच गरेँ। भर्याङ झर्दै गर्दा भर्याङको दायाँपट्टिको भित्तामा टाँसेको गणेश मन्त्र 'वक्रतुण्ड महाकाय सूर्यकोटि समप्रभ निर्विघ्नं कुरु मे देव सर्वकार्येषु सर्वदा' नसक्काउँदै म तल आइपुगिसकेको थिएँ। र सधैंझैं तुलसीको मठलाई एक फन्को लगाएर गेटतिर हुँइकी हालेँ।
मुख्य सडक पुग्न घरबाट केही मिनेट हिँड्नु पर्थ्यो। त्यसैले गाडी कुर्न सरासर त्यतैतिर लागेँ। सडकमा हिँड्ने सबैका आ-आफ्नै समय थियो र त्यही अनुसारको गति पनि। पसलेहरू ग्राहकका समय कुर्दै समय बिताउँदै थिए। होटलहरू ग्राहक भोकाउने समय, ब्युटी पार्लरहरू ग्राहकका सुन्दर हुने चाहना कुर्दै थिए भने औषधि पसलेहरू बिरामी कुर्दै थिए। सबै सबै कुनै अर्कै समयको प्रतीक्षामा थिए, मानौं उनीहरूसँग कुर्ने समयबाहेक अहिलेको समय छैन।
मजस्तै पैदल हिँड्नेहरूको पनि आफ्नै गति थियो। कोही मजस्तै हतारमा पाइला चाल्दै थिए, कोही सामान्य गतिमा हिँडेका। कोही चाहिँ यति ढिला र बिन्दास गतिमा हिँड्दैथे, मानौं उनीहरूले ढिला नहुने र हतार गर्नुपर्ने समयलाई पाकेटमा राखेर यसै कतै हल्लिँदै छन्।
सबै नियाल्दै मुख्य सडक पुगेपछि बस बिसौनी लेखेको साइनबोर्डमुनि रत्नपार्क जाने गाडी कुर्न थालेँ। यति बेला गाडी कुर्नु मलाई हतार हुनुको सबभन्दा ठूलो व्यंग्य थियो।
ढिलै पुगे पनि गाली गर्ने, तलब काट्ने वा कामबाटै निकाल्ने त्यस्तो केही थिएन। साहु मारवाडी थिए, कृष्णभक्त। मैले 'प्रणामी?' भनेर पहिलो भेटमा सोध्दा उहाँले हाँस्दै जवाफ फर्काउनुभएको थियो, 'म भक्त हुँ, विश्वासी होइन, त्यसैले स्वतन्त्र छु।'
पसलमा खाली समय हुँदा, खाली त त्यति धेरै हुँदैनथ्यो, मान्छेहरू केही न केही किन्न वा मूल्य सोध्न भए पनि आइरहन्थे, साहु मलाई कृष्ण लीला सुनाउनुहुन्थ्यो। बदलामा मसँग मेरो कविताको अपेक्षा रख्नुहुन्थ्यो। मैले एकपटक एउटा कविता सुनाउदा उहाँ निकै दंग हुनुभएको थियो। सुरूमा कवितालाई लिएर एकैछिन घोत्लिनुभयो। पछि भने मलाई अस्वाभाविक रूपले धन्यवाद दिन थाल्नुभयो। उहाँलाई निकै छोएछ क्यारे।
त्यस दिन मलाई चाहेको बेला घर जाउसम्म पनि भन्नुभयो। मेरो कविताप्रतिको मोह उहाँलाई त्यतिसम्म थियो।
मैले सुनाएको थिएँ-
मान्छेले मान्छेलाई प्रेम गर्न सकेन
अनि भगवानलाई गर्न थाल्यो,
मान्छेले मान्छेलाई विश्वास गर्न सकेन
अनि भगवानलाई गर्न थाल्यो,
मान्छेले मान्छेलाई पूजा गर्न सकेन
अनि भगवानलाई गर्न थाल्यो,
यसरी मान्छेले मान्छेलाई जे-जे गर्न सक्थ्यो
त्यो भगवानलाई गर्न थाल्यो,
अनि पो,
भगवान जस्तो मान्छे ढुंगा भयो,
ढुंगाजस्तो चिज भगवान।
यसैगरी मैले कुनै नयाँ लेखेँ भने म सुनाइहाल्थेँ। होइन भने उहाँले म ढिला भएको दिन कुर्नुपर्ने हुन्थ्यो। आज त्यही दिन थियो। मैले कविता सुनाउनुपर्ने दिन। मसँग नयाँ केही निकै छोटा कविता थिए, उहाँलाई मनपर्ने खालको। त्यसैले पनि होला आजको हतारमा आत्तिहालेको भने थिइनँ।
लगातार ३-४ वटा स्वयम्भू र कोटेश्वर जने गाडी गएपछि बल्ल रत्नपार्क जाने एउटा सेतो माइक्रो मेरै अगाडि आएर रोकियो। पछाडिको सिटमा दुई जना र महिला सिटमा एक जना मात्र महिला भएकाले पनि होला गाडी पूरै खालीजस्तै थियो। म भने अगाडिको दुई खाली सिटमध्ये ड्राइभरको छेउमा बसेँ।
म चढेकै ठाउँबाट अरू दुई जना पनि गाडीमा चढे। गाडीलाई हतार थिएन, यात्रु कुर्दै थियो। गाडीभित्र भने म बाहेक अरू दुई जनालाई हतार भएजस्तो देखिन्थ्यो। महिला सिटमा बसेकी दिदी त झन्, 'चिस्...चिप्...हत्तेरिका...कहिले हिँड्छ' भन्दै मुर्मुरिँदै थिइन्।
केही मिनेट कुर्दा पनि गाडीमा भर्खरै चढेको दुई जना र मबाहेक त्यस ठाउँबाट कोही नचढ्नेजस्तो देखियो। सहचालकले 'जाऊँ दाइ' भन्दै ढोकामा हाने। अनि ड्राइभर दाइले गियर तन्काए। गाडीले 'मोमेन्टम' लियो।
महिला सिटमा बस्ने दिदीको अनुहार केही हलुका हुँदै थियो, गाडी रोक्किहाल्यो। म उहाँ पुनः ठुस्केको अनुहार रियर भ्यु मिररमा हेर्दै थिएँ। अगाडिको ढोका खुल्यो र सामान्य लुगा लगाएकी एउटा शान्त अनुहार मेरै छेवैको सिटमा आएर बसिन्। उनले पछाडि बोकेको झोला खोलिन् र काखमा राखिन्। सहचालकले ढोका बन्द गरिदिए अनि गाडी जोरपाटी चोकबाट रत्नपार्कतिर लाग्यो।
मलाई पहिल्यैदेखि मन पर्ने शब्द हो 'सेरेन्डिपिटी'। यसै नाम गरेको फिल्म पनि रहेछ, थाहा पाएपछि त्यो हेरेँ। हेर्दा निकै आनन्द लागेको थियो। म फिल्म हेरिरहने मान्छे हुँ। त्यसैले मसँग धेरै फुर्सद पनि हुन्छन्। मैले कसैले नामै नसुनेका सयौं फिल्म हेरेको छु। रसियन, फ्रेन्च, इटालीयन, पोलिस, स्विडिस, जापानीज, इरानियन आदि धेरै देशका सिनेमासँग बाँचेको छु।
खैर, सेरेन्डिपिटी मैले हेरेको धेरै सिनेमामध्ये मलाई मज्जा लागेको हो। यसको अर्थ हुन्छ 'अन्प्लान्ड फर्चुनेट डिस्कभरी'। भर्खरै मैले उनलाई कुनै योजना बिना नै भेटेजस्तै।
यही कुरा प्रत्येकचोटि अपरिचित छोरी मान्छे भेट्दा मेरो मनमा खेलेकै हुन्छ। त्यसैले होला उनी छेउमा बस्दा देखिनै मैले उनका स-साना कुरालाई ध्यान दिन थालिसकेको थिएँ। उनले के-के गर्छिन्, हात राख्दा कता राख्छिन्, कसरी राख्छिन्, कता हेर्छिन्, के-के हेर्छिन्, यस्ता सबै कुरा मैले मनमनै खेलाउँदै उनलाई पढ्न थालेँ।
हुन त म प्रायः सबै मान्छेका हाउभाउ, क्रियाकलाप पढिरहेको हुन्छु। तर पनि छोरी मान्छे छेउमा हुँदा उनीहरू मसँग बोल्न केही इसारा पो गरिहाल्छन् कि भनेर म निकै 'सेल्फ-कन्सियस' हुन्छु। उनलाई केही हतार थिएन, त्यसैले होला उनी शान्त थिइन्। उनको हाउभाउमा केही फुट्कर हलचल पनि थिएन। उनी त्यहाँ बस्दा मात्रै पनि भित्रभित्रै आनन्द मानेजस्तो देखिन्थिन्।
अनि मलाई लाग्न थाल्यो, उनको शरीर मात्र होइन मस्तिष्क पनि शान्त छ। एउटा साधुकोजस्तो, हलचलबिहीन पोखरीजस्तो। झट्टै 'यिन एन्ड यांको' सोचले मेरो मस्तिष्कमा दौड लगायो। त्यो सोच ऊ पल्लो छेउ नपुगिसक्दा नै म उनीप्रति थप आकर्षित भइसकेको थिएँ।
'मलाई निकै हतार हुनु अनि उनमा हतार कतै पनि नदेखिनु। 'अपोजिट फोर्स अफ अट्र्याकसन' मैले आफैंलाई सफाइ दिएँ।
अब मेरो हतारले केही मतलब राखेन। बरू म उनी यसपछि के गर्छिन्, अब झन् के गर्छिन् होला भन्दै हतारिन थालेँ। गाडी बौद्ध आइपुग्यो। एक बच्चा बोकेकी महिला चढिन् र बच्चालाई काखमा राख्दै महिला सिटमा बसिन्। सँगै बसेकी अर्की महिलालाई जस्तो उनलाई हतार थिएन। सानो बच्चा बोकेको भएर नि होला, उनलाई हतारमा पुगिसक्नुपर्ने ठाउँ कतै थिएन, कतै पाहुना लाग्न जानुबाहेक, मैले अड्कल लगाएँ।
बौद्धबाट हिँड्न अगाडि यात्रु कुर्दै बसेको बस ओभरटेक गर्दागर्दै उनले आफ्नो ब्यागको चेन खोलिन्। ठ्याक्कै मैले सोचे जस्तै, उनी शान्त हुनुको रहस्य। दलाइ लामाको 'द आर्ट अफ ह्याप्पिनेस' निकालेर ब्याग माथि राखिन् र विस्तारै चेन बन्द गरिन्।
किताब नयाँ नै थियो। ध्यानपूर्वक कभरको अगाडि, पछाडिका टुप्पाहरूमा टेप लगाइएका। कस्तो मज्जाले किताबलाई माया गर्न जानेको। म उनीदेखि थप दंग भएँ। दलाई लामाका प्रवचनहरू हेरे पनि आजसम्म मैले उनको किताब पढेको थिइनँ। उनलाई किताबमा पढ्दाभन्दा युट्युबमा हेर्न मज्जा लाग्ने भएकाले उनको किताब नपढ्ने निधो मैले पहिल्यै गरिसकेको थिएँ। होइन भने, मसँग ओशो, सद्गुरू, परमहंश योगानन्द, कृष्णमूर्ति, रमण महर्षी, एकहार्ट टोल आदि सबै गुरूका किताब थिए। दलाइ लामाको मात्रै नहुने भन्ने प्रश्न नै उठ्दैन।
जे होस् गाडीमा एक्कासि दलाई लामाको किताब पढेको देख्दा मलाई अलि अस्वाभाविक नै लागेको थियो। उनीसँग अब बोल्न मनलाग्यो। तर पढ्न लागेका बेला के बोलाउनुजस्तो भयो। चुप बसेँ।
उनले पल्टाएको पना उनीसँगै, उनीजस्तै मनमनै पढ्न थालेँ। कहिलेकाहीँ सिनेमा र बेलाबेलामा इन्स्टाग्रामका बुकवर्महरूको 'स्टुपिड फेन्टासी' हो गाडीमा वा कुनै पब्लिक ठाउँमा किताब पढ्ने कुरा। तर उनले पढ्दा भने मलाई त्यस्तो लागेन। बरू उनीसँगै पढिरहेँ। उनले मैले पनि पढ्दैछु वा हेर्दैछु, त्यस्तो केही सोचिन् कि! पढिसकेर पाना पल्टाउने बेला एकैछिन पर्खिन्, मलाई पुलुक्क हेरिन् र पाना पल्टाइन्।
उनले हेर्नासाथ मैले तुरुन्तै उनको किताबबाट आँखा निकालेर सडकमा राखे। हामी हायत रेजेन्सीको उकालो चढ्दै रहेछौं। केहीबेर त्यतैतिर हेरेँ। उनी भने फेरि पढ्न थालिन्। पढ्दै गर्दा त्यही पानामा 'रिक्लेमिङ आवर इन्नेट स्टेट अफ ह्याप्पिनेस' च्याप्टरको 'मेडिटेसन अन द पर्पोज अफ लाइफ' सकिएपछि भाग-२ 'हुम्यन वार्म्थ एन्ड कम्पयारिजनको' को 'अ न्यु मोडल फर इन्टिमेसी' भन्ने शीर्षकको पाना पल्टाएर राखिन्। त्यसपछि बल्ल सडकतिर हेरिन्।
टाउको सिधै राखेर आँखाको नानीलाई मात्र दायाँ र बायाँ गरिन्। केही सोचिन् पनि होला। फेरि किताबतिर आँखा दौडाउन थालिन्। मैले पुनः सडकबाट आँखा निकालेर उनकै किताबमा राखेँ। फेरि पढ्न थालेँ। उनकै गतिमा। त्यसैले पनि होला उनले यसपालि पाना पल्टाउँदा मैले पढी भ्याइसकेको थिएँ।
उनले अब अर्को पाना पल्टाउँदा भने उनीसँगै पढ्नै सकिनँ। मनमा अनेक कुरा हतारिन थाले। सम्झनलाई यो एउटा क्षण मिठो हुनेछ, त्यो मैले ठानिसकेको थिएँ। तर पनि मलाई यतिमै चित्त बुझाउन मनै लागेन। यो मिठो वर्तमानलाई धूतकालमा हेर्न मनै लागेन। बरू यसमा भविष्य जोड्न मनलाग्यो। त्यसैले अब त बोल्छुजस्तो भयो।
तर अहँ, सकिनँ, चुपचाप बसेँ। बोले पनि के बोल्नुजस्तो भयो, शब्द कोट्याउनै सकिनँ।
फेरि लाग्यो, जसले दलाई लामा पढ्दै छ उसलाई त सबै आवाज, शब्द 'मिडिओकर' नै लाग्ला नि!
त्यसैले फ्याट केही बोलूँ, भनूँजस्तो भएन। त्यो म शान्त भएको हुँदै होइन। मौन भएको भने पक्कै हो। मेरो लागि मौनताको फरक परिभाषा छ, म केही बोल्न खोजु तर शब्द नभेट्टाउनू।
गाडी गुडिरह्यो। केही ठाउँमा कोही ओर्लिए, केही ठाउँमा कोही चढे। भर्खरै ओर्लिनेलाई पुगेजस्तै भयो होला, चढ्नेलाई पुग्नै छ जस्तो भयो होला। तर म मात्र त्यहाँ यस्तो ठाउँमा थिए जहाँबाट न अब कतै पुग्नु छ, न त कतै पुगिसकेँ। फगत एउटा फकिरजस्तो, उसको आफ्नै कालमा।
'यति शीतल, शान्त मान्छे, जूनजस्ती को होलिन्?' मलाई घोची मात्र रह्यो। मलाई उनको नाम जान्न मन लाग्यो।
उनको आवाज, उनको नाम, उनैले भनेको सुन्न मन लाग्यो। तर फेरि सोचेँ, म सोधूँला, 'तिम्रो नाम के हो?'
उनी अचम्म मान्दै मलाई आँखामा हेरेर भन्लिन्, 'किन र? नाममा के छ?'
त्यसपछि म केही बोल्न नसकूँला। बरू उनले सोधेको प्रश्न आफैंलाई सोधूँला, 'साँच्चै, तिमीले भनेजस्तै, नाममा के छ र?'
तर अहँ म चुप बस्न नसकूँला। मलाई त उनी को हुन् जान्नु छ। त्यसैले फेरि सोधूँला, 'उसो भए तिमी को हौ त?'
मैले फेरि प्रश्न गरेपछि उनी किताबबाट ठाडै आँखा, मेरो आँखामा राखेर भन्लिन्, 'म को हुँ, त्यो एक वाक्यमा सम्भव छैन। म त्यो समुद्र हुँ जसको स्वाद थाहा पाउन एक मुठी पानी पिएर पुग्दैन।'
कति रुखो बोलेको सामान्य प्रश्नमा पनि, मैले मनमनै मनलाई भनूँला।
'फेरि जसको सबैकुरा यतिन्जेलसम्म कुनै सामान्य मान्छेको जस्तो छैन, उबाट मैले किन पनि सामान्य उत्तर खोज्नु र?' मैले आफैंलाई सम्झाउँला।
यी सब त मेरो मस्तिष्कमा मैले डिजाइन गरेको 'फिक्सन' मात्र भयो। पूरै कल्पनिक तर उनी त मेरै छेउमा छिन्। मेरै नजिक। एकै सास मात्र टाढा।
चाबहिल चोकमा केही मिनेट अड्किएपछि सरासर गुडेको गाडी चाबहिल स्तुपअगाडि आएर रोकियो। फेरि पनि ओर्लिनेहरू ओर्लिए, चढ्नेहरू चढे। भाटभटेनी, चुच्चेपाटी, के.एल.टावर, चाबहिल कतै नओर्लेको उनी यो स्टपमा पनि नओर्लिँदा मलाई निकै आनन्द लाग्यो।
हामी यसरी नै टाढा जाउँला, सँगै जाउँला, छुट्टिने ठाउँ आएपछि पनि सँगै छुटौंला, दुई मुटुको दुई बाटो, दोबाटो। गाडी त्यहाँबाट ट्राफिकले इसारा गर्नासाथ हिँडिहाल्यो। मैले उनैलाई हेरी रहेँ। कुनै पूर्णिमाको रातमा आफैंलाई धेरैपछि पूर्ण पाएको खुसीमा बलेको जूनजस्तो अनुहार थियो उनको। जूनभन्दा झट्ट कुनै बेला आफैंले लेखेको एउटा कथा याद आयो। आउँदा आउँदै त्यो यसरी उफ्रिन थाल्यो मेरो मस्तिष्कमा, त्यो कथाको दुई पात्र, एक उनी, एक म हुँ भन्नेमा म विश्वस्त भएँ। 'कमलो जून र अनन्त आकाश' मैले लेखेथेँ।
'कुनै एउटा समयमा आकाश र जून आकारमा बराबरजस्तै थियो। त्यसैले जून लाग्दा आकाश पूरै ढाकिन्थ्यो। यो कुरा आकाशलाई चित्त बुझेको थिएन। आफूजत्रै जून भएपछि, आफ्नो अस्तित्व जूनले नै ढाक्ने भएपछि, आफू हुनु र नहुनुमा केही अर्थ नभएजस्तो उसलाई लाग्यो। यो कुराले आकाशलाई धेरै रात पिरोलेपछि एकदिन जूनलाई यो कुरा भन्नै पर्छजस्तो भयो। कुनै समयमा मिलाएर जूनलाई सबै कुरा एकाएक सुनायो। जूनको मन निकै कमलो थियो। उसले चुपचाप सुनिरही। आकाशले जूनलाई सानो हुनुपर्ने कुरा सुनायो जसलाई जूनले सहजै हुन्छ भनी। जूनले स्विकार्नासाथ यो कुरा लिएर दुवै जना सृष्टिकर्ता भगवानकहाँ गए।
आकाशले, आफू र जूनलाई बराबर बनाएकामा सृष्टिमा त्रुटि भएको कुरा भगवानलाई सुनायो। दुवै यो कुरामा सहमत भएकाले यो छिट्टै निर्णय लिने बताइयो। केही बेरमै भगवान निष्कर्षमा पुगे। प्रकृतिको कुनै पनि वस्तु विनाश नहुने भएकाले, जूनको केही अंश अरू कुनै वस्तुमा परिवर्तन गरिने भयो। जूनको मन निकै कमलो थियो, यहाँ पनि उसले सहजै हुन्छ भनी। आफू टुक्रेर भए पनि आकाशलाई विराट देखाउन ऊ पछि हटिन।
भगवानलाई जूनको उदारता देखेर निकै आनन्द आयो। फलस्वरूप भगवानले जूनलाई सृष्टिको सबभन्दा उत्तम सिर्जना, मान्छे, छोरी मान्छे बनाएर पठाउने भए। जूनले यो कुरा पनि हुन्छ भनी र भगवानले तथास्तु भन्नासाथ जून खुम्चिएर सानो भई। आकाश ठूलो देखियो, अनन्त।
आकाशलाई केही रात त निकै खुसी लागेथ्यो। पछि भने जूनले गरेको त्याग देखेर उसलाई माया लागेर आयो। ऊ आफैसँग पूरा भएर बस्नै सकेन र पुनः भगवान भएको ठाउँमा बिन्ती बिसाउन पुग्यो। आफूलाई जूनदेखि निकै माया लागेर आएको र जूनको ठूलो अंश भएको ठाउँमा आफ्नो सानो अंश पठाइदिन अनुरोध गर्यो।
भगवानलाई यो सुनेर अचम्म लाग्यो। घमण्डलाई त्यागले जितेको देखेर भगवानले उदार जूनलाई फेरि सम्झिए। त्यसैले पनि भगवान उदार बन्दै आकाशलाई उसले भनेजस्तै उसको सानो अंश, जूनको ठूलो अंश भएको धर्तीमा पठाइदिने भए। तर पहिले घमण्ड गरेकाले आकाशलाई भगवानले केही सर्तमा बाँध्ने कुरा सुनाए।
यो कुरा आकाशले जूनलाई सम्झिँदै सर्त नसुनी स्विकार्यो। भगवानले तथास्तु भन्नासाथ जून जन्मिएकै ठाउँमा आकाशको छोरा मान्छे भएर जन्म भयो। आकाश थोरै खुम्चिए पनि अझै अनन्तजस्तै थियो। त्यसैले आकाश जति नै अनन्त भएपनि क्षितिजमा गएर टुंगिनु पर्यो।
भगवानले राखेको सर्तजस्तै जूनले यो सबै घटना बिर्सी र आकाशले सबै कुरा सम्झनु पर्यो। जूनलाई केही सम्झना नभएकाले उसले आकाशलाई भेटे पनि चिन्दिन। आकाशले भने भेटे पनि यी सबै कुरा उसलाई सम्झाउनै सक्दैन। त्यसैले अनन्त आकाशले अनन्त स्वरूपमा दुःख बोक्नु पर्यो। अनि जबजब रात पर्छ, आकाश जूनलाई सम्झन्छ र आफैंलाई हेर्छ। त्यहाँ केही अनन्त छ त मात्र प्रेम र प्रेमका कहरहरू।'
मलाई लाग्यो, मैले लेखेको त्यो कथाको आकाश म हुँ र उनी जून। उनी मेरै छेउमै छिन् तर मलाई सम्झन सकेकी छैनन्। मसँग भने सम्झाउन नसकेको वियोगको अटल पहाड बाँचेको छ। सम्झिन्थिन् त एकैचोटि रुन्थिन् होला मसँगै, प्रेमको नारामा। सम्झिन्थिन् त हामीसँगै हुन्थ्यौं होला। एकाअर्कालाई प्रेममा प्रेमले सिँगार्थ्यौं होला। यसरीसँगै हुँदा नि, छेउमै हुँदा नि, मैले र उनले टाढा भएको महसुस गर्नु हाम्रो प्रेमको कमजोरी बन्थेन होला। यसरी हामीले हामीलाई नै बिर्सेपछि एकअर्कालाई पो कसरी सम्झाउन सक्छौं र?
म यस्तै के-के सोच्दै थिएँ, गाडी गौशालामा एकैछिन रोकिएर गुढ्न थालिसकेछ। म झल्याँस्स भएँ।
अघिसम्म छेउमै बसेकी उनलाई नदेखेपछि म एक्कासि आत्तिएँ। निकै बेर हराएकोमा आफैंसँग रिस उठ्यो। हत्तपत्त ओर्लिएँ। सहचालकलाई गोजीबाट निकालेर ५० रूपैयाँ थमाएँ र फिर्ता पैसा नलिई हतारिँदै गौशाला चोकतिर लागेँ।
अहो! यो कस्तो हतार! कति फरक हतार! मन आत्तिरहेको थियो। एक्कासि भेट्टाएर, एकैचोटि हराएको हजारको पैसाजस्तो, एक अनौठो अमिलो पस्यो जिब्रोमा।
चोकबाट चारैतिर हेरेँ। कतै देखिनँ। जुन दिशामा गाडी रोकिएको थियो, पक्कै त्यही दिशाबाट अगाडि लागिन् होलाजस्तो लाग्यो। अनि नियालेर बत्तीसपुतलीतिर हेर्न थालेँ। नभन्दै अलि अगाडि शान्त हिँडाइ हिँडेको उनलाई मैले चिनिहालेँ।
हतार गर्दै म उनको पछि लागेँ। अघि बोल्न नसकेका कुरा सम्झिएँ। सम्झिएर सम्झाउन नसकेका कुरा पनि सम्झिएँ। एकपटक म पुग्नुपर्ने होलसेल पसल र साहुजीलाई पनि सम्झिएँ। जुन काममा जहिल्यै हतारिँदै पुग्नुपर्छ, त्यो काम मैले किन गरिराख्नुजस्तो भयो।
अनि त्यही समय काम पनि छोडिदिएँ। मात्र उनको पछि लागेँ। कुनै बेला लेखेको कविता स्मरण भयो-
कहाँ जानु थियो,
कहाँ पुगेँ म,
जहाँ जानु थियो,
त्यही छुटेँ म,
यसरी कतै हराएर,
अन्तै भेटिनु,
सायद यही प्रेम हो।
सायद यही प्रेम हो, सायद यही प्रेम हो, सायद...आफैंलाई दोहोर्याइरहेँ। हतारमा दुई-चार पाइला छिटो चालेपछि भने म ठ्याक्कै उनको पछि पुगेँ। अब त बोलाउँछुजस्तो भयो। बोलिन् भने त प्रेमकै जीत हुन्छजस्तो भयो।
केही बेर शान्त बसेरै उनको पछि लागेँ, कुनै हतार बिना। अनि भने बोलाउन खोजेँ। तर अहँ फेरि पनि सकिनँ र सोच्न पुगेँ अनेक कुरा। अनि यसरी खुम्चिएँ, यसरी खुम्चिएँ, उनलाई बोलाउन तन्काको हातले आफ्नै आङ नि भेटाएन।
मैले बोलाउनै सकिनँ।
यो उनको जीत भयो, जूनको जीत भयो, भगवानले रूचाएजस्तै यादको जीत भयो, त्यागको जीत भयो।