रहर थियो नि मलाई पनि कम से कम
दुई वर्ष पुगुन्जेल आमाकै काखमा लुटपुटिन,
तर के गर्नु!
सायद त्यो सौभाग्य मैले लिएर आएकी थिइनँ
किनकि आमा, तिमीलाई त तिम्रो जागिर नै प्यारो।
आमा मलाई रहर थियो नि स्कुलको पहिलो दिन
तिम्रै हात समाई विद्यालय जान,
तर के गर्नु! मलाई त स्कुलको बस चढाई
रुवाउँदै पठाइयो,
किनकि आमा तिमीलाई त तिम्रो जागिर नै प्यारो।
रहर त मलाई पनि थियो नि बिहान अबेलासम्म
तिम्रै छेउमा लुटपुटिँदै सुत्न,
तर के गर्नु! सबेरै घरको दैनिकी सक्न भनी
४ बजे नै उठेर बिस्तराको न्यानोपन आफूसँगै लगेऊ,
किनकि आमा तिमीलाई त तिम्रो जागिर नै प्यारो।
आमा तिमीलाई थाहा छ मैले,
कहिलै पनि मेरो कपाल बाटिदिनुन भनिनँ,
बरु आफै जानी नजानी दुई चुल्ठी बाँधेर स्कुल गएँ,
किनकि मैले देखेकी थिएँ स्कुल समयमा
पुग्नका लागि हतारमा निस्कँदा
तिम्ले आफ्नै कपाल राम्ररी कोर्न भ्याउँदिनौ,
कारण आमा तिमीलाई त तिम्रो जागिर नै प्यारो।
स्कुलबाट फर्किंदा तिम्ले बनाएर राखेको
खाजा खानु त लगभग सपनामा मात्रै कायम रह्यो,
तिमी घरमै बसेर मेरा लागि मिठो मिठो
खाना बनाएर खुवाउने समय त दशैं बिदा,
शनिबार र सार्वजनिक बिदाहरु त थियो।
किनकि आमा तिमीलाई त तिम्रो जागिर नै प्यारो।
बालबच्चा, घर र जागिर सबै एकैपटक
सम्हाल्दा पनि कति झर्को नमान्ने कति सहनशील तिमी,
रहर मलाई मात्र हैन, तिमीलाई पनि थियो होला नि है,
तर के गर्नु! तिम्रा लागि त सबैभन्दा प्यारो
तिम्रो जागिर नै है आमा।
तर कहिले काहीँ सोच्छु सायद यिनै कारणले होला
सानैमा जिम्मेवारी के हो नजिकबाट नियाल्न पाएँ,
आफूलाई कसरी सशक्त बनाउने र दुनियाँ सामु
निडर भई आफूलाई कसरी उभ्याउने
भन्ने कुरा तिमीबाट नै सिक्न पाएँ।
त्यसैले भन्छु आमा
तिमीलाई मात्र हैन, सबै आमालाई
आफ्नो जागिर नै प्यारो होस्।
आज त नारी दिवस रे,
ठाउँमा ठाउँमा महिला अधिकारका विषय उठाएर,
विभिन्न उदाहरणीय कार्य गरेका महिलालाई चिनाउन,
गाउँ-गाउँबाट महिला जुटाएर कार्यक्रम हुँदै होला।
आज त पक्कै तिम्रो पनि छुट्टी छ होला नि, है आमा?
कि आज पनि आफूभन्दा तिम्लाई
तिम्रो जागिर नै प्यारो हो आमा?