कविता
अचेल
यी आँखाहरुले पनि
तिमीलाई बिर्सन थालेको छन्,
यादहरुले पनि बाटो बिराउन थालेका छन्,
चाहेर पनि या नचाहेर पनि।
तिम्रा पसिनाका गन्ध सुँघेर
बाटो पछ्याउने यी पाइलाहरु,
तिम्रा उपस्थितिका
सपना सजाउँदै धड्कने यी मनहरु, धड्कनहरु,
तिम्रा पाइलाका डोब हेर्दै गन्तव्य डोर्याउने
यी मेरा नयनहरु
एक पाइला अघि सार्दा पनि
नदुख्ने यी खाली चप्पलका खाली खुट्टाहरुले
मौनतामा तिम्रो बारे नचाहेर पनि
यादहरुको खाली कागजमा सम्झनाका बुट्टाहरु भरिरहन्छन्,
तर,
अचेल यी आँखाहरुले भने
तिमीलाई बिर्सन थालेका छन्,
हो, तिमीलाई बिर्सन थालेका छन्।
तिम्रो देब्रे काँधमा
सिउरेको मखमलको बर्को र
त्यस्कै एक सानो तुनाले
अझै पनि सम्झना दिलाउन बिर्सेका छैनन्,
कहिले मिठो पलको याद दिलाएर
कहिले तितो पलको याद दिलाएर
यादहरुकै सिरानीमा
अंकमालको सपना देखाइरहन्छ,
तर
तिमीलाई भने
यो आँखाले बिर्सन थालेको छ।
परिवर्तनहरु पनि
समयसँगै आए अतितको पुरै रंगिन पेज बनेर
अनि जिन्दगीका अरु पेजहरु रंगहीन खाली बनाएर,
सोचिरहन्छु,
मौनताका न्यानो दृश्यहरुले
आपसमा अङ्गालो मार्दै गर्दा,
या,
खाली यी पाइलाहरु ठोक्किएर ठेस लाग्दा,
भनूँ
आकाशका बादलहरु ठोक्किएर
वर्षाको रुपमा आँसु झरिरहेको बेला,
यी नयनहरु रुझ्दै गरेको,
पत्तो नहुने गरी सम्झनाका पानाभरि आउछौ तिमी,
तर
हो यी नयनहरुले चिन्न छोडेको छ तिम्लाई
बिर्सन थालेको छ तिम्लाई।
दूरीहरुकै
हिसाब गरूँ भने पनि
तिमीभन्दा म कोसौं पर
क्षितिजपारिको एउटा गाउँबाट
यादहरुको अँगेनामा
तिम्रा सम्झनाका लाइटरहरुले
अतीत जलाउने प्रयास गरिरहेछु।