मलाई यो थाहा छैन कि,
तिमीले एक असल बाबु अपनायौ
या मैले एक असल छोरा पाएँ
मलाई यति थाहा छ,
तिमी पद्धति सपार्ने जिम्मेवारी
स्वीकारेर मात्र यहाँ आयौ।
यहाँ तिमीले मलाई स्वीकार्यौ
या मैले तिमीलाई?
धेरैले धर्तीलाई फगत छोरा उपहार टक्र्याउँदा
म भने तिमीबाट परिणामको अपेक्षा राखेँ।
तिम्रो अवतारको वर्षगाँठ जुर्दा
मलाई यो सोध्न मन छ,
पहिले धर्ती तिमीलाई देखेर मुस्कुरायो
या तिमी दुनियाँ देखेर चकित भयौ?
जब म कथा लेखेर पनि,
पात्र नभेटेको छट्पटीमा रन्थनिँदा
प्रम्प्टरले मञ्चको पर्दा च्यातेर
तिम्रो अवतारको प्रर्दशन गर्यो
र
म हौसिएर तिमीलाई अंगाल्न खोज्दा
नेपथ्यमा कसैले मेरो स्वाभिमानको मूल्य सोध्यो।
तिमीले रुनु पर्ने स्क्रिप्ट च्यातेर,
हाँसोको उल्का सृजना गर्यौ
दर्शकले तिमीबाट अरु अपेक्षा राख्दा
निर्देशकले तिमीलाई रोकिन संकेत गर्यो
तिमी निर्देशन बुझेरै अरु प्रदर्शन गर्यौ।
मैले पात्ररहित कथा
कतै खोपीमा छाडिदिएँ,
तिमी आफै खोजेर
त्यसको मञ्चन गर्नु छ।
मैले धर्तीको कुनै इशान कोणमा विश्राम पाएको पल
तिमी पाउनुको सार्थकता सोचूँला,
अहिले यति नै अपेक्षा गरूँ
निर्देशक आएर मलाई एकदिन
यही सोध्ने छ
‘तिमीले छोरो पाएर धर्तीले के पायो मनुष्य?’