संचार मन्त्रालय सिंहदरबार, चौथो तला कोठा नम्बर ४०४ अर्थात् लिफ्ट छेउको कोठा। जहाँ साथीहरु अख्तियारले मागेको कुनै संस्थानको कर्मचारीको फाइल खोज्न पोका खोल्दै नाम र वर्ष भिडाउँदै छन्।
यतिकैमा रोचक घिमिरे जो यही शाखामा २ वर्ष बसेर भर्खर मात्रै सरुवा भएका थिए, उनी आए। सरुवा भएपनि ऊ संचार मन्त्रालय आइरहन्थ्यो। उसका पुराना दोस्तहरु जो यही थिए।
रोचक भित्र के पसेको थियो, फाइल खोज्दा खोज्दा धुलो र पसिनाले असिनपसिन भएको सरोज सरले उसलाई दुई सालको सम्पत्ति विवरण नभेटिएको भन्दै दुखेसो गरे।
रोचकले चिठी हेर्छ र त्यो फाइल कहाँ राखेको छ, सजिलै भन्दिने भन्छ। तर त्यसको लागि खाजा खुवाउने सर्त राख्छ। उसले सर्त राखेको सुनेर सरोज चिढिन्छ। सिरियस कुरामा पनि केको खाजा!
यतिकैमा सुन्दर सर आइपुग्छन्। उनी खाजा हैन, चियासम्मको प्रस्ताव राखिदिन्छन् तर रोचक मान्दैनन्। अन्त्यमा सुन्दर सरले सरोज सरलाई मनाउँछन्। यति भन्दासाथ रोचकले पुरानो सम्पत्ति विवरण राखेको दराजबाट खुइ खुइ फाइल निकाल्दिन्छन्।
सर्त अनुसार उनीहरु खाजा खान सेन्टर सर्भिस जान्छन्। खाने खाने भनेपछि दिलिप सर पनि मिसिन्छन् जो मन्त्रालयका हर्ताकर्ता हुँ भन्ठान्छन्।
दिनको दुई बजिसकेको हुन्छ। शुक्रबारको दिन भएकोले खाजा खाने सर्भिस सेन्टरमा खासै भिड हुँदैन। उनीहरु चिकेन मम अर्डर गर्छन्। यतिकैमा गुड फ्राइडे मनाउने कुरा निस्कन्छ। निशुल्क भेटिए अर्थात् स्पोन्सर भेटिए सबै जान तयार तर दामादासीमा कोही पनि जान नाकनिक गर्छन्।
यतिकैमा मम आइपुग्छ तर उनीहरुको गुड फ्राइडेको प्लान पूरा भैसकेको हुँदैन। उनीहरु स्पट चुज गर्छन्। धुलिखेलमा सहमती हुन्छ। तर स्पोन्सर भेटिदैँन। उनीहरु पुनः सल्लाह गर्दै चिया पनि अर्डर गर्छन्।
चियाको चुस्कीसँगै स्पोन्सर भेट्टाउँछन दिलिप सरले। धुलिखेलको शंकर अर्थात् टेलिभिजनको मालिक जो आफूलाई आउदो निर्वाचनको नेपाली कांग्रेसबाट टिकटको दाबेदार ठान्छन्।
टेलिभिजनहरुको लागि त्यसमा पनि आमसंचार र दूरसंचार कम्पनीहरुका लागि संचार मन्त्रालय तालुक मन्त्रालय नै हो। त्यहीमाथि दिलिप सरले भनेपछि शंकरले नमान्ने कुरै भएन।
त्यसमा सरोज सरले अर्को पनि डोनर निकाल्छन्, गोरखापत्र संस्थानको तारा सर जो मन्त्रालयका लागि पुराना र अनुभवी साथी मानिन्छन्। उनी मन्त्रालयबाट यस्तो उस्तोमा जाउँ भन्दा कहिले पनि नाइ नास्ती गर्दैनन्।
चिया सकिँदा ३ बज्छ। उनीहरु पुनः कोठा नम्बर ४०४ मा गएर पालैपालो शंकर र तारा सरलाई फोन गर्छन्। तारा एकै वचनमा प्रस्ताव स्वीकार गरेपनि शंकरले भने खाएको वा बसेको मध्ये एउटामा मात्रै मिलाउन सक्ने, त्यो पनि मैले भनेको होटलमा भनेर प्रति-प्रस्ताव राख्छ।
उसको प्रस्तावमाथि पुनः छलफल हुन्छ र शंकरले भनेअनुरुप खाएको वा बसेको जेको पे गरेपनि बाँकी तारा सरले रिक्वेस्ट गर्ने भनेर कुरामा सहमती हुन्छ।
तीन बजे नै प्रस्तावमा स्वीकृत भए पनि तारा सरले मिटिङ र के-के भनेर पाँच बजाइदिन्छन्। उनीहरु तारा सरको गाडीमा पाँच जना पाँच बजे मन्त्रालयबाट धुलिखेलको लागि प्रस्थान गर्छन्।
शंकरले खोजेको होटल, धुलिखेल इको रिसोर्ट। होटल राम्रै रहेछ। होटलमा गएर शंकरले बुक गरेको कोठा भनेपछि होटलले खुब चासो र सम्मान सहित स्थान दिन्छ।
कार्यक्रम सुरु हुन्छ क्याम्प फायरबाट। क्याम्प फायरसँगै आ-आफ्नो फेभरेट रक्सीको चुज सुरु हुन्छ। हार्ड नखाने रोचक मात्रै थियो। उसेले स्ट्रङ बियर मगाउँछ। गुड फ्राइडे दनादन जान सुरु गर्छ।
अर्थात् उनीहरुको हप्ता दिनभरि फाइल खोज आफै टिप्पणी उठाउ, चिठी बनाउ, चलानी र कतिपय अवस्थामा १० पटक सचिवज्यू र सहसचिवकोमा लिएर करेक्सन गर्न जाउ अनि सदर भएपछि पुनः चिठी पुर्याउन आफै फिल्डमा पनि दौडिने भागदौड जिन्दगीबाट मुक्ति थियो धुलिखेलको शान्त वातावरणको इको।
त्यसमा पनि स्पोन्सर भेटिएकोले अलकत्रा जस्तै चाट्ने बानी जो छ हामी नेपालीको। त्यसमा पनि निजामती कर्मचारीले निशुल्क भेटेको न हो। रक्सीको मात चढ्दै जान्छ। सबैले मै हुँ भन्दै कुरा निकाल्दै जान्छन्।
मैले यसो गरेँ, मैले उसो गरेँ। मबिना त मन्त्रालय नै चल्दैन जस्तो गर्छन्। त्यसमध्ये एकजना रक्सी नखाने तर कुरा जाँड खानेका भन्दा चर्का निकाल्ले दिलिप सर। उनी रक्सी नखाए पनि रक्सीसँग खान ल्याएको सितन अरुभन्दा बढी र छिटो नै सकिदिन्थे।
जाडको नसा चढेसँगै कसैले अफिसको कुरा निकाल्छन्, कसैले पूर्वप्रेमिकाको कुरा कसैले मेरो यति पुग्यो भन्दै संख्या गणना गर्न देखेर खुब ठूलो मर्द हुँ भन्ने देखाउँछन्।
यतिकैमा एउटा गीत बज्छ, त्यो पनि वेटरको मोबाइलमा- मेरो एक्सको छम्मा। यतिजेन्ल चुप बसेको रोचक अब केही भन्न जुरमुराउँछ तर उसको कुरा कसैले नसुने वा चासो नदेखाए जस्तै गरेरकोले होला ऊ अलिक साह्रो बोल्न थाल्छ।
ऊ पनि त्यही गीत गाउन थाल्छ, मेरो एक्सको छम्मा। 'कस्ले लेख्यो यो गीत! यो त मैले लेख्नुपर्ने गीत।'
अब सबैको ध्यान ऊ तिर हुन्छ। मात्र एक शब्दले उसले सबैको ध्यानकर्षण गराउन सफल भएको देखेर होला ऊ उत्साहित हुँदै बोल्न थाल्छ।
'थाहा छ सरोज सर, कुनै दिन टिकटकमा एउटा गीत खुब भाइरल भएको थियो। मेरो एक्सको छम्मा। यो गीतमा थुप्रै भिडिओहरु बने। गीतमा धेरै कम टिकटक युजरहरुले मात्रले सिरियस भएर भिडिओ बनाए जस्तो देखियो। धेरैले मनोरन्जनको रुपमा लिएको देखियो। टिकटकले गर्दा नै गीत युट्युबमा ट्रेडिङमा आउन पनि सफल भए जस्तो लाग्यो।
गीत सुनिरहँदा मलाई एउटै कुरा याद आयो। याद आउनु कुन से ठूलो कुरा भयो र! याद कहिले कस्तो कहिले कस्को आउने तर छाद बबाल सही आउने। कम्तिमा जे खायो त्यही त आउने। कुनै लपन छपन जान्दैन छादले भन्ने हाम्रो तिर उखानै पनि रहेको देखिन्छ।
देशमा उखान टुक्काको बाहुल्यता रहेको अवस्थामा कसले पो सिरियस भएर काम गर्ला! हुन पनि हो, सेन्टिमेन्टल हुनु निराशावादी हुनुभन्दा उखानै सही। कम्तीमा केही समय त फ्रेस गराउँछ। हाँस्नु यसै पनि स्वास्थ्यका लागि फाइदाजनक नै छ।
प्रेममा वाचा कसम धेरैले खाएका हुन्छन। वाचा कसम भनेको प्रेममा विश्वास आर्जनको लागि गरिन्छ पनि तर सबै वाचाहरुले विश्वास दिलाउन सक्दैनन् अर्थात् कतिपय वाचाहरुले विश्वासको नाममा झुटलाई लुकाइरहेका हुन्छन्।
झुट लुकाउन कसम खाने गरिन्छ। यसैले त धेरै कसम खाने, जे विषयमा पनि कसम खाने मान्छेलाई तेरो कसम त घ्यू र भात त होला भनि भन्ने गर्छन्। हो, डियर एक्स। तिमी पनि मसँग सम्बन्धमा हुँदा धेरै कसम खान्थ्यौ अनि मलाई पनि कसम खुवाएर विश्वास दिलाउन लगाउथ्यौ।
तिम्रो कसमलाई मैले विश्वास नगर्दा तिम्रो आँखाबाट पिल पिल पानी रसाउँथ्यौ। आँसु खसाल्नु तिम्रो नियती थियो कि आँखाको लागि अभ्यस्त भएको एउटा बानी त्यो तिमी नै जान्ने कुरा भयो।
आज धेरै पनि तिमीलाई सम्झिँदा तिमीले मसँग गरेका वाचाहरु सम्झ। तिमी कसम खान यति धेरै माहिर थियौ कि तिम्रो गल्ती नै पत्ता लगाउँदा, तिमीलाई रंगेहात पक्राउ गर्दा समेत तिमी आँखाभरि आँसु पार्दै फेरि कसम खाएपनि मेरो कोमल मन त्यसै त्यसै पग्लिजान्थ्यो।
तिम्रो गल्तीलाई यो मेरो कोमल मनले सहजै स्वीकार गरेरै होला, माफी पनि सजिलै दिन्थ्यो। हो डियर एक्स, तिम्रो हरेक गल्तीमा माफी दिँदै जाने भुल गर्नु नै मेरो अर्को कमजोरी भयो सम्बन्ध सकाउने।
डियर एक्स आज पनि तिमी त्यही पुरानै फर्मुला अपनाउँदै छेउ होला है। मसँग कसम खाँदै पिल पिल आँसु झारे जस्तै आज पनि तिमी उसको अंगालोमा त्यसरी नै त्यही फर्मुलाको रिपिट भर्सन दोहोराउँदै उसलाई आस्वस्त पार्न लागि पर्छौ होला है?
हो, ऊ विचरा पनि मजस्तै सोझो पो पर्यो कि एक नम्बरको छिनार। रिसको झोकमा म तिमीलाई त्यस्तै अफेयरगंजवाला खेलाडी परोस् भन्ने पनि लाग्छ तर किन किन डियर एक्स, म तिमीलाई द्रौपदीले पाएको श्राप जस्तो तिम्रो जीवन पनि त्यस्तै होस् भनेर कामना गर्न पनि त सक्दिनँ।
सामाजिक संजालले सम्बन्ध जोड्ने मात्रै होइन, तोड्ने अनि तोडिएका सम्बन्धका गतिविधिहरु नियाल्ने अर्थात् लुकी लुकी चियो चर्चा गर्ने काम हुँदो रहेछ यस्तो संजालको माध्यमबाट त्यसमा पनि विशेष गरी फेसबुक यो मामिलामा एक नम्बर नै रहेछ।
हो डियर एक्स, तिमीले जब मेरो साथीसँग सम्बन्ध बढायौ त्यो दिनदेखि नै तिमीले मलाई ब्लक गरेको थाहा पाएँ तर नि एक्स, म अलिक लाटो भएपनि त्यती साह्रो गोबर ग्वाँच नै छैन क्या।
मेरो आधिकारिक फेसबुक आइडी पो ब्लक गरेछौ तर मैले हजारौँ जिमले खोल्दै हजारौँ फेसबुक एकाउन्ट खोल्दै तिम्रो गतिबिधि नियाल्न केले रोकेको छ र! हो, मैले म ब्लकमा परेपछि यही बाटो अपनाए डियर एक्स।
जब तिमी मेरो साथीसँग सम्बन्धमा थियौ, मैले यसरी नै तिम्रो गतिविधि नियालेँ। आखिर जब दूरी नै मजबुरी भयो तर मसँग अर्को विकल्प नि थिएन। हो, फिजिकल दूरी टाढा हुनासाथ तिमीले यसरी घात गर्यौ नि आफ्नै साथीलाई अंगाल्यौ।
यसमा मेरो साथीको पनि दोष उतिकै होला। अब को बढी दोषी यतातिर नजाउँ होला। यो जाने बाटो पनि होइन। मलाई को बढी दोषीको कम होला भनेर न्याय निरुपण गर्नु नै थिएन।
हो डियर, तिमीले भनौली मैले तेरै सिद्धान्तलाई फलो मात्रै गरेकी हुँ, अपराध नै के गरेकी छु र! हो डियर हो हो। कुनै दिन म तिमीसँगको सम्बन्धमा हुँदा साथीको आमा मेरो पनि आमा, साथीको बाबा मेरो पनि बाबा, साथीको श्रीमती मेरो भाउजू तर साथीको गर्लफ्रेण्ड चाहिँ मेरो पनि गर्लफ्रेण्ड अर्थात् यसमा हक नै लाग्छ भनेर वकालत गर्दै हिँडेको थिएँ।
अझ त्यसमा पनि विवाहित साथीहरुको एक्स्ट्रा म्यारिटल अफेयर्सहरुमा त साथीको गर्लफ्रेण्डमा हक लाग्ने होइन, खोसेर पनि लिन पर्छ भनेर वकालत गर्दै हिँडेको। वकालत पनि के भन्नू, मेरा मन्त्रालयका दुई दोस्तहरु यही एक्स्ट्रा म्यारिटल अफेयर्सका कारण बोलचाल बन्दको स्थितिसम्म पुगेँ।
अर्थात्, एक साथीको गैह्र वैवाहिक सम्बन्ध अर्को साथीले थाहा पाउछ अनि ऊ पनि त्यसमा हक जमाउन खोज्छ। त्यो पनि साथी मन्त्रालयबाट सरुवा भएर सुदूरपश्चिम सरुवा भएपछि। तर साथीको अफेयर्सले उसको प्रस्ताव स्वीकार नगर्दा उसलाई मन्त्रालयमा कुनै जिम्मेवारी नदिने अवस्थासम्म पुर्याइन्छ।
हो, साथीले यो कुरा थाहा पाउछ अनि धुलिखेलमा दुवैजना बीच हात हालाहाल हुन्छ। तिमीलाई मैले समाचारको लिंक सहित यो बारेमा भनेकै थिएँ तर आज मेरो पनि त्यही हालत भयो।
हो, तिमीले मेरो सिद्धान्तलाई फलो गर्दै मेरै साथी त्यो पनि वर्षौसँगै बसेको रुम पार्टनरसँग सल्कियौ। यदि तिमी मेरै रुम पार्टनरसँग नै जानु थियो भनेर किन फेरि आफ्नो दीर्घकालीन सम्बन्धमा गएनै। किन फेरि उसलाई पनि धोका दिएर आज उसको र मेरो बीचमा दीर्घकालीन पर्खाल बन्यौ, किन डियर एक्स किन?
हो डियर, आज धेरैपछि तिम्रो फेसबुक चेक गर्दा त्यहाँ अर्को रहस्यको कुरा पत्ता लाग्यो। तिमी त टिकटकको दुनियाँमा पनि निकै नै हिट भैसकेकी रहेछौ। टिकटक तिमीजस्तै नाटक गर्न जान्नेहरुका लागि, रिल अभिनयभन्दा रियल अभिनय गर्नेहरुका लागि हो रहेछ।
तिमीसँग ड्युट गर्न धेरै साथीहरु लागेको नि देखियो। तिम्रो टिकटक आइडी सर्च गरेँ। तिमीले किन हो ब्लक गर्न भुलिछौ। भुलेको हो कि नजानेको हो। फेसबुकभन्दा सजिलो छ टिकटकमा ब्लक गर्न। फेसबुकमा जस्तो एकपटक ब्लक खोलेको पुनः ४८ घण्टा पुनः अनब्लक गर्न वा अनब्लक गरेको त्यती नै समय अगावै ब्लक गर्न मिल्दैन।
हो, यही फाइदा छ फेसबुकमा। कम्तीमा ४८ घण्टा त कम्तिमा चियो चर्चा गर्न पाइन्छ। हो डियर एक्स, मैले टिकटकमा तिम्रो धेरै भिडिओहरु हेरेँ। तिमी त टिकटककै लागि जन्मिएको जस्तो लाग्यो।
ढिलै भए पनि चाइनाले तिम्रो लागि वास्तविक प्लेटफर्म तयार गरेर त्यसमाथि सरकारले लकडाउन गरेर तिम्रो दैनिकीलाई फुर्सदिलो बनादिएको अवस्थामा तिम्रो त साथी पनि यही माबाइल र टिकटक भएछ।
तर नि एक्स, टिकटकको पुरानो भिडिओ हेर्दै जाँदा त्यहाँ त मैले नै दिएको कपडा लगाएर चिप्की चिप्की भिडिओ रमाएको देखियो। किन हो एक्स? तिमीलाई मपछिका तिम्रा मायालु अर्थात् मेरो लागि एक्सका छम्माहरु, छम्मा त हैन होला तरपनि म ती केटा भएपनि तिम्रा ती मायालुहरुलाई छम्मा नै भनेर सम्बोधन गर्छु।
हो, ती छम्माहरुले दिन जान्दा रैनछन् कि क्या हो, तिमीबाट लिनबाट मात्रै जानेछन्। त्यो मैले नै तिम्रो जन्मदिनमा दिएको उपहार मलाई छोडे जसरी किन छोड्न नसकेकी डियर एक्स?
तिमी नै लुगामा हुन्छ र प्रेम? प्रेम त भावनाको गठबन्धन हो भनेर सिकाउने गर्थ्यौ नि हैन? हो, हाम्रो भावनाको गठबन्धन भत्कियो। देशमा गठबन्धन सरकार बनिँदा त्यो प्राकृतिक अनि आफू अनुकूल गठबन्धन नबन्दा अप्राकृतिक हुने अवस्थामा तिम्रो र मेरो पनि गठबन्धन भत्किँदा त्यो प्राकृतिक भयो वा अप्राकृतिक त्यो तिम्रै छम्माहरुले विश्लेषण गरुन्।
कुनै पत्रकारले केकी अधिकारीलाई प्रश्न सोध्छन्- तपाईको पहिलो क्रस? उतर आउँछ कलेज जाँदा आउँदा एकजनासँग भएको थियो। मेरा लागि यो उतर अपेक्षित थिएन। मैले क्रस भनेको बाटो वारपार गर्ने 'एक्रस'को रुपमा बुझेको थिइनँ। अर्थात्, मेरो बुझाइमा क्रस भनेको योन सम्बन्ध भन्ने नै थियो।
तर जब केकी अधिकारीको जवाफ सुनेँ। त्यसपश्चात क्रस के हो भनेर गुगल गर्दा पत्ता लाग्यो, क्रस भनेको कसैलाई मन पराउनु वा कसैको यादमा फिदा हुनु भन्ने अर्थमा लिनुपर्ने रहेछ।
हो डियर एक्स, मेरो पनि तिमी पहिलो क्रस नै थियौ। कुनै बेला तिमी दाना लाग्न लागेको, अझ भनौँ घोगामा कलिलो दाना लागेको दुधिलो मकै जस्तो थियौ। काँचै दारेर खान पनि मिल्ने, पानीमा उसिनेर खाए पनि हुने। अझ जीवनमा केही पाउन पोलिनु पर्छ भनेर पोलेर नै खाए पनि हुने अवस्थामा थियौ।
तर आज तिम्रो त्यो रुप कहाँ पुग्यो? त्यही मकै छिपिएर राख्दा राख्दा भित्र भित्र घुनले सखाप भएजस्तै। बाहिरबाट देख्दा सही सलामत भएको तर भित्र भित्र घुनले धुलो पारेको मकै जस्तै भएकी छौ।
यहाँ मैले तिम्रो शरीर घुनले भित्र भित्र खाएजसरी सकियो भन्न खोजेको हैन। तिम्रो विचार र भावना भष्ट्र भयो भन्न खोजेको मात्रै हो। तिम्रो विचार र भावना यति पथभष्ट्र भएछ कि डियर एक्स, कुनै बेलाकी तिमी मेरो क्रस अहिले जेब्रा क्रस भएकी रहेछौ।
हरेक मानिसले जेब्राक्रसलाई सुरक्षित यात्राको सारथी ठाने झैँ आज तिमी सबैकी सुरक्षित, साझा चौतारी भएकी रहेकी छौ।
भन्नलाई त भनौली नि डियर एक्स, क्यान्डी क्रस गेमको केही गेम तैले पनि खेलिस् तर धेरै लेभल पार गर्न अर्थात् गेमको सन्तुष्टीको लेभल पार गर्न नसकेपछि... खैर, केही छैन।
आज तिम्रो जीवनमा क्यान्डी क्रसको सफल खेलाडीले धेरै लेभल पार गरेको जस्ती भएकी छौ। डियर एक्स, के प्रेम भनेको क्यान्डी क्रसको धेरै लेभल पार भएजस्तै धेरैजनासँग जोडिनु नै हो त। क्यान्डी क्रसको त निश्चित लेभल होला र जीवनमा कुनै लेभल छैन होला। कति लेभल पार गरेपछि लेभल पूरा हुन्छ।
हो डियर, मैले कतिपय फिल्म र उपन्यासमा पनि पढेको थिएँ- ब्रेक अप अनि फेरि सम्बन्ध जोडिनुलाई प्याच अप भन्दा रहेछन्। तर नि डियर एक्स, हाम्रो नेपाली समाजमा एउटा उखानै छ- थुकेको थुक चाट्ने चलन छैन भनेर।
यो पनि मैले फिल्मबाट नै सिकेको तर मैले त तिमीलाई न कहिल्यै प्याचअपको लागि बाटो तयार गरेँ न थुकेको थुक भन्दै छि छि र दूर दूर गरेँ। किनकि थुक्न पनि गन्ध आउने गरी गन्धाउन पर्दो रहेछ।
मैले नबुझेको कुरा नि, किन ब्रेकअपपछि आफ्नो पूर्वप्रेमिकालाई भेटिन्छ कि भनेर मान्छेहरु त्यो बाटो अनि पहिला हिँडेको, बसेको, खाएको, सबैदेखि दूर दूर हुन खोज्छन्? किन बहुत सतर्क हुन खोज्छन् मान्छेहरु?
मैले फिल्ममा अनि उपन्यासमा पढेको पूर्वप्रेमिकालाई भेट्दा अनुहार रातो रातो हुने, चिट चिट पसिना आउने हुन्छ रे। हो, म पनि यही होला भनेर बहुत सर्तक हुँदै तिमीसँग भेट भइहालेमा के भन्ने भनेर रेडिमेड जवाफ लिएर हिँडेको हुन्छु।
एकदिनको कुरा, जब म साँझा बसमा चढेर सिटमा एक्लै बसेको थिएँ। तिम्रै जस्तो स्वर भएकी एक सुन्दरीले 'एक्सक्युज मि, के म यहाँ बस्न सक्छु?' भन्दा म त्यो तिम्रै स्वर हो कि भनेर पुरै शरीरका रौँहरु ठडिएर अनुहार पुरै लाल लाल भएको थियो।
हो डियर, किन यस्तो हुन्छ? किन तिम्रो स्वर र यादहरुले अझै खेदिरहन्छन्? बिर्सन्छु भनेर हरेक पटक कोशिश गर्छु तर किन बिर्सने बहानामा हरेक पटक सम्झना मात्रै आइरहन्छ भन्या?
तिमी मात्रै होइन, तिमीलाई फेसबुसका ट्याग गरेर राखेका फोटावालाहरु देख्दा पनि किन मनमा चिसो पसेर आउँछ? त्यो मेरो एक्सको छम्मा त होइन भनेर किन सधैँ सधैँ मनमा चिसो पसेसँगै शरीरका रौँहरु खडा हुन्छन्?'
ऊ यसरी रक्सीको तालमा कतिन्जेल बोल्यो थाहा नै भएन। बिहान निद्राले छोड्दा उसको शिरानीमा भएको मोबाइलमा उसले रातभरि बोलेको यही रेकर्ड जो मातेको बेला के के अंग्रेजी बोलेको रेकर्ड बजिरहेको थियो।
उठेर यताउती हेर्छ, अरु कोही छैनन्। सबै साथीहरु उसलाई छोडेर हिँडेछन्। उसले काउन्टरमा गएर सोध्यो। काउन्टरवालाले पनि केही जवाफ दिएन। मात्रै 'सर टाउको दुखेको होला, कागती पानी खानुस्' भन्दै कागती पानी पो दिन्छ।
कुरा बुझ्न झन् रहस्यमय भयो। साथीहरु छोडेर हिँडे। कहाँ गए होलान्? के कारणले उसलाई राति नै साथीहरुले छोडे होलान्? वर्षौसँगै काम गरेका साथीहरुले उसलाई किन छाडेर हिँडे होलान्? अनि किन होटलको काउन्टरमा बस्ने पनि स्पष्ट जवाफ दिदैँन?