हिजो राति शिवजीसँग एकदमै गहन रुपमा छलफल भयो।
'आजभोलि दिनचर्चा कस्तो छ?' मलाई उहाँले सोध्नु भयो।
मैले 'मेरो ठिकै रहेको' जानकारी दिएँ।
उहाँको दिनचर्चाको बारेमा सोध्न मिल्ने हो कि नाई भन्ने कुरामा म केही क्षण अलमल्ल भएँ। मन दह्रो गरेरै मैले उहाँको दिनचर्चाको बारेमा सोधेँ।
उहाँले आफ्नो पनि ठिकै भएको जानकारी गराउँनु भयो। शिवरात्रीको पूर्व सन्ध्यामा उहाँ प्रकट हुनुभएको कारणले गर्दा मैलाई यसपालिको शिवरात्रीको तयारीको बारेमा प्रश्न राख्न मन लाग्यो।
यसपालिको शिवरात्री अलि फरक किसिमले मनाउने निर्णय लिएको बारे उहाँले बताउनु भयो।
केही बेर अलमल हुँदै मैले फेरि प्रश्न गर्ने आँट गरेँ र सोधेँ, 'फरक किसिम भन्नाले?'
प्रसादहरु परिवर्तन गरी मनाउने भन्ने उहाँको जवाफ आयो।
म अझ उत्साहित हुँदै प्रश्न राखेँ, 'तपाईको प्रसाद त सबैलाई जानकारी नै छ। यसपालि किन परिवर्तन?'
'हो, तपाई सही भन्दै हुनुहुन्छ। पहिला पहिला धेरै पहिलादेखि त्यही प्रसादको चलन थियो, आजभोलि मनुष्यहरु प्रसादको नाममा गलत रुपमा प्रयोग गर्न थाले। मानिसहरुमा अस्वस्थ्कर खानपिन तथा गलत व्यवहारका कारणले धेरै किसिमका समस्या तथा रोगहरु देखा पर्न थाले।
त्यसैले अब फलफूल, दूध जस्ता फाइदाजनक खानेकुराको सेवन गरेर शिवरात्री मनाउनका लागि सबैलाई अनुरोध गरेको' उहाँले जवाफ दिनुभयो।
शिवजीका यस्ता उत्प्रेरणा सहितका शब्दहरु सुनेर म अचम्मित हुनुका साथै भगवानको प्रत्यक्ष दर्शन पाएर अझ धरै प्रशन्न भएँ। मलाई यो पल धेरै आनन्द आइरहेको थियो। मलाई प्रतक्ष रुपमा शिवजीसँग भेट्न पाँउदा धेरै आनन्द अनुभूति भैरहेको थियो।
मैले फेरि प्रश्न राखेँ, 'मैले भाङ, धतुरो, धुम्रपान केही सेवन गर्दिनँ तर मलाई नै हजुरले किन सम्झाउँदै हुनुहुन्छ?'
उहाँले मुसुमुसु हाँसेर जवाफ दिनुभयो, 'मलाई सबैकुरा थाहा हुन्छ। को कस्तो छ, कस्ले के गर्छ सबै थाह हुन्छ। तपाईले सेवन गर्नुहुन्न मलाई थाहा छ। अझ तपाईले सकारात्मक व्यवहार परिवर्तन तथा नसर्ने रोग रोकथाम सम्बन्धी अभियानमा जुट्नु भएको देखेँ। सो कार्यले धेरै जना व्यक्तिको सकारात्मक व्यवहार परिवर्तनका लागि उत्प्रेरणा मिल्छ। त्यसैले म तपाईलाई यी सबै कुरा जानकारी गराउँदै छु।'
म धेरै प्रसन्न भएँ। मैले गरेको कार्यको शिवजीले मूल्यांकन गर्नु भएकोमा मलाई भित्र भित्रै एकदमै भारी अनुभव भैरहेको थियो।
त्यसपछि मलाई स्वस्थकर खानपिन र सकारात्मक व्यवहार परिवर्तनको क्षेत्रमा अझ थप कार्य गर्ने प्रेरणा जाग्यो र थप कार्य गर्ने प्रतिबद्धता व्यक्त गरेँ।
यस्तो महत्वपूर्ण अवसर पाएकोमा एउटा फोटो खिचेर सामाजिक संजालमा रङ्ग्याउने इच्छा प्रकट गर्दै मैले फोटो खिच्नका लागि आग्रह गरेँ। उहाँ कुनै संकोच बिना तयार हुनुभयो।
उहाँसँग मेरो जीउ, रंग, उचाई, तौल, भावना सबै कुरामा मेल खाने थिएनन् तर पनि केही विचार मिलेर होला सायद, त्यो क्षणलाई क्यामरामा कैद गर्नका लागि तयार हुनुभयो।
दुई/चार वटा सेल्फी खिचेर उहाँ बिदा हुनु भयो। म त्यो महत्वपूर्ण क्षणको फोटोहरुलाई धेरै बेरसम्म मेरा नयनहरुमा स्पर्श गरेँ र केही उत्प्रेरणाका शब्द सहित सामाजिक संजालमा रंग्याउने निधो गरेँ।
मनमा धेरै खाले कुराहरु खेल्दै थिए, कति लाइक आउँला, के कस्ता कमेन्टहरु आउलान्, मेरो यो तस्बिर तथा शब्दले साँच्चिकै मानिसको सकारात्मक व्यवहार परिवर्तन गराउला त? के शिवजीसँग मेरो प्रत्यक्ष भेट भएको कुरा सबैले विश्वास गर्लान् त?
म आफैसँग यी सब कुराका जवाफ थिएन तर पनि एउटा कुरामा विश्वास थियो कि शिवजीसँगको तस्बिरले पक्कै पनि मानिसले विश्वास गर्नेछन् र उहाँका ती महत्वपूर्ण भनाइले सकारात्मक व्यवहार परिवर्तनका लागि उत्प्रेणा भने अवश्य मिल्नेछ।
यी सबै कुराले मानिसमा नकारात्मक बानी व्यवहारहरु परिवर्तन हुने ठूलो आशा साथ मनमा कुरा खेल्दै थिए, एक्कासी केही उज्यालोले आँखा खोल्न गाह्रो भएको महशुस भयो। केही बल प्रयोग गरेर आँखा खोलेर हेरेको त झ्यालबाट घाम भित्र छिरेको रैछ।
सूर्य उदायको पनि केही बेर भैसकेको रहेछ। म हतार हतार बिस्ताराबाट उठेर मोबाइल खोलेर लाइक र कमेन्टहरुको गिन्ती गर्न थालेँ तर मोबाइलमा न त कुनै लाइकहरु थिए न त कुनै कमेन्टहरु नै।
फेरि मैले मोबाइलको ग्यालरीमा गई उक्त तस्बिर खोज्न थालेँ तर कतै भेटिएन। मलाई एकदमै अप्ठ्यारो महशुस भयो। त्यस्तो अकल्पनीय, अविस्मरणीय तथा महत्पूर्ण क्षणको तस्बिर मेरो क्यामरामा कैद हुन सकेनछ।
तर क्यामरामा कैद नभए पनि मेरो यो मनसपटलमा सधैँ कैद भैरहनेछ भन्दै म आफैलाई सान्त्वना दिइराखेँ।
यी सबै कुराहरु त राति निद्राका बेला सपनामा भएका गतिविधिका क्षण रहछन्। सपनानै भएपनि ती क्षणहरु एकदमै अविस्मरणीय थिए। शिवजीसँगको भेट, उहाँले व्यक्त गरेका अभिव्यक्तिहरु तथा मलाई प्रदान गर्नुभएका उत्प्रेरणाहरुले मेरो व्यक्तिगत जीवनमा धेरै ठूलो प्रभाव पार्नेछ।
तपाईहरुले पनि आफ्नो जीवनमा अनुसरण गर्दै निरोगी बनी स्वस्थ समाज निर्माणमा सम्पूर्णको भूमिका निर्वाह गर्नु हुनेछ भन्दै शिवरात्री लगायत सम्पूर्ण चाडपर्वहरुमा सभ्य, असल व्यवहार प्रदर्शन, स्वस्थकर खानपिनको प्रयोग गरी भव्यताका साथ मनाऔँ।