हजुरको भव्य घरको शानदार कोठामा
सजिएको त्यो रत्नजडित ऐनाअगाडि
एकैछिन उभ्याए आफूलाई नियालेर हेरें
लाग्यो- कुनै माहारानी ठाँटबाटले सजिएकी छन्
र अचानक मनको कुनै कुनाले भन्यो-
हजुर जस्तै हुन्छन् रानी साहेबाहरु
सुनको पिँजडामा थुनिएका सारा जिन्दगीहरु
चुम्बकले झैँ तानिएँ म मनकै धरातलमा
र मैले उहीँ मनलाई सोधेँ-
'के म साँच्चै जिन्दगीको एउटा बन्दी हुँ त?'
मुस्कुराउँदै उसले मलाई सोध्यो-
'कति पटक दिल खोलेर चुम्बन गर्नुभयो हजुरले आफूलाई?
दिल खोलेर कहिल्यै हाँस्नु भएको थियो?
अगाडि पछाडि राखेर लामा लाइनमा उनै पोशाकधारीलाई
छोडेर एक्लै कुनै सफर तय गर्नु भएको छ त?
असार लाग्दा रोपिने धान
अनि मंसिरमा फुल्ने तोरीबिचको त्यो सफरमा
कुनै दिन हजुरका नरम पैताहरुले
ती खेतका आली अनि बालीहरुलाई
स्पर्श गरेका छन् त?
कुनै चाडपर्व रमाइलोमा आफ्नै हातले माया मिसाएर
मिठो परिकार आफ्नै सन्तानलाई
खुवाउनु भएको छ त?
धाइआमाको काखलाई छोडेर हिँडेपछि
हजुरको काखमा ती लालाबालाहरु
खेलेका छन् र फेरि?
जुन कुरा हजुरका अभिन्न अंगजस्तै थिए कुनै बेला!
वसन्तका ती पालुवाहरुमा रमाउँदै रंगीचंगी
गुलाफहरुलाई
कति भयो आफ्नै हातले नगोडेको?
हिमालका ती सेता कञ्चन काखदेखि
पेरिससम्मको यात्रामा कस्तो शान्ति थियो त?
मठमन्दिर पाटीपौवा डुलेर
सादा जीवन अब कहिले भोग्नु हुन्छ?
धेरै भयो यो बन्दीगृहको बास
दुनियाँदारी छोडेर खोक्रो भलादमीपनमा लपेटिएको
त्यो भारी सारी उतारेर शान्तिले सास फेर्नुहोस्।'
हो त!
साँच्चै वर्षौ भएछ मैले बादलसँग लुकामारी नखेलेको,
साना केटाकेटीझैं नाच्दै उफ्रँदै गाउन छोडेको,
मेरो एक मात्र साथी त्यो सानो डायरीमा
निलो मसीले डोब नलगाएको...
स्फटिकजस्तो मेरो अनुहार त
ढपक्कै ढाकिएको रैछ
देखावटीपनमा रमेको खोक्रो आदर्शको
गाढा पर्दाले!
आफैमा मुस्कुराइहने पूर्णिमाको जून त
परतन्त्रताको अत्यासलाग्दो कालिमाले!