तिनै गाउँको कथा
जसले मेरो जीवनको बिहानी सुम्सुम्यो
प्रत्येक बिहानी
सूर्यका पुञ्जले धर्ती चुम्न नपाउँदै
तप तप पसिनाले रुझेर
ठूल-ठूला घास र दाउराको भारी उकालो लाग्थे।
पसिनाले निथ्रुक्क भिजेका आमाहरु
पटुकीको सप्कोले पसिना पुछेर
विद्यालय जान आतुर
तिनै सन्तानको हतारोमै रुमलिन्थे।
शिक्षाले जीवन फेरिन्छ भन्थे
थाहा छैन ती पसिनाको मूल्य तिर्छ वा तिर्दैन!
सम्झिन्छु ती बाहरु
जसले थकानको विश्राम कहिल्यै पाएनन्
पट पट फुटेका ती पैतालाहरु
विश्राममै भौतारिएका जस्ता देखिन्थे
थाहा छैन ती बाहरुको विद्यताले
विश्रामको साँस फेर्न पाए पाएनन्
थाहा छैन आमाहरुको जीवन फेरियो फेरिएन
बाहरुले सुखको साँस फेरे कि फेरेनन्!
मसँगै पढेको रामे
चटक्क स्कुल छोडेर सात कक्षामै मुग्लान छिरेको
एकपटक मलाई चिठी लेखेको थियो
'मलाई पढ्न मन छ हेर्, बाको ऋण तिरेपछि पढ्छु'
थाहा छैन मेरो साथी रामे फर्कियो कि फर्किएन
पढ्न पायो कि पाएन, रहर न हो
बाध्यताले विवश भयो होला।
यादहरुले झस्काई रहन्छन्
माया र ममता भरिएका तिनै गाउँ अनि बेसीहरुको
सम्झनाहरु बल्झी रहन्छन्
त्यही गाउँको बाटो हिँडेको तलका कान्छा बाले
कथा हालेको गएको वर्ष सुनेँ
ती कान्छा बाले पनि संसार छाडे रे
मुटु भरिएर आयो
सम्झनाहरु सात समुन्द्रपरिबाट मेरै गाउँमा पुगे।
प्राय देखिने मेरा सपनाहरु
तिनै वनपाखा, छहरा अनि फाँटहरुमै छरिन्छन्
सात समुन्द्रपारिबाट
सम्झिन्छु त्यही गाउँलेको माया
थाहा छैन, जीवन फेरियो तर सपनाहरु फेरिएनन्।