नमर्नेहरूको नाम नजन्मनेको सूचीमा हुन्छ
नहार्नेहरुको नाम नखेल्नेहरूको सूचीमा हुन्छ
मर्ने अनि हार्ने त केवल त्यस्तो व्यक्ति हुन्छ
जो धर्तीमा जन्मेर प्रतिस्पर्धामा होमिएको हुन्छ
हरेक परिणामहरूलाई सहज रुपमा लिएको हुन्छ।
नबोल्नेहरूको नाम सधैँ ज्ञानी र सोझामा हुन्छ
नचल्नेहरूको नाम पनि ध्यानी वा शान्तमा हुन्छ
बाठो र चकचके त केवल त्यस्तो व्यक्ति हुन्छ
जसले बोल्ने शब्द आफैले जानेको हुन्छ
अनि सक्रिय जीवनलाई ठिक मानेको हुन्छ।
अँध्यारो त केवल प्रकाश नहुँदा हुन्छ
बेखुसी पनि केवल सफलता नमिल्दा हुन्छ
उज्यालो र खुसी त केवल त्यति बेला हुन्छ
जति बेला ज्योति बालिएको हुन्छ
अनि सफलताको पाइला चालिएको हुन्छ।
अस्थिरता सधैं स्थिरताको अभावमा हुन्छ
बिस्फोट हरेक कुराको चर्को दबाबमा हुन्छ
पाइनँ, सकिनँ भन्ने त केवल लाचारीपन मात्रै हो
किनकि सफलता भन्ने कुरा नै
त्यस कुराप्रतिको साँचो लगावमा हुन्छ।
निडर र साहसी त त्यस्तो व्यक्ति पो हुन्छ,
जो धर्तीमा जन्मेर प्रतिस्पर्धामा होमिएको हुन्छ।
असफलता र सफलतालाई सहज नै ठान्दै
त्यसलाई चुनौतीका रुपमा लिएको हुन्छ
अरुलाई समेत चुनौती दिएको हुन्छ।