भन्न त भन्छन्
रातो रंग जीवनको रंग
उत्साहको रंग
उत्सवको रंग
साहसको रंग
तर प्रत्येक महिना
मासिक श्रावमा मैले बगाउने
रातो रंग
जीवनको रंग हैन?
साहसको रंग हैन?
उत्साहको रंग हैन?
उत्सवको रंग हैन?
यदि मैले बगाउने
प्रत्येक बुँदमा सिर्जनाको शक्ति छ भने
मैले बगाउने रातो रंगमा
जीवनको शक्ति छ भने
म किन भोगिरहेकी छु
छाउगोठका यातनाहरु
म किन अभिसप्त छु
म प्रत्येक महिना
अपवित्र हुन्छु
मानौँ म सिर्जना
फुलाउने प्रकृति हैन!
हो, जीवन फुलाउने
रातो रंग, गुलाव जस्तै
काँडाका बीचमा फुल्छ
तिमीले छाउका यातना गृहमा
हुर्काउछौ त्यो फूल
अपवित्रको ट्याग लगाइएको
त्यो रातो रंग
तिम्रो जीवनको
मेरो जीवनको
सर्जक हैन र?