जन्म लिएर पनि म,
आफ्नो जिन्दगी पूरा बाच्न सकिनँ
तिम्रो सपना पूरा गर्ने कसम खाएकी थिएँ आमा,
तर ती सपना अनि आकांक्षाहरुलाई विपनीमा म गाँस्न सकिनँ।
के भनूँ?
दैव संयोग भनूँ या तिम्रो मुहारमा
आँसु ल्याउन जन्मिएकी छोरी भनूँ,
आफू अनि शरीरसँगै जलेको ती अनगिन्ती
सपनाहरुलाई कसरी गनूँ आमा, म कसरी गनूँ?
२ वर्ष बितिसक्दा पनि अन्यायको
छहारीमा बस्दै गरेको यो मनमा,
न्यायको किरणले बाँस गर्नेछ,
आशमा म बसेकी छु आमा!
आफ्ना हरेक पीडामा, त्यो पापिष्टलाई कारबाही गरेपछि मात्र
केही मल्हम लाग्ने सोचेकी छु आमा।
'एकछिन साथीको घरमा जान्छु, आमा' भनेर
गएकी छोरीको त्यो स्थिति देख्दा
तिमी पीडामा असाध्यै रोएकी थियौ आमा,
न्यायलय हजारौं पटक धाउँदा पनि
अन्यायको चपेटामा तिमी परेकी थियौ आमा।
मेरो शरीरलाई आफ्नो तिर्खाको कुवाँ मान्ने पापिष्ट,
आज यत्रतत्र आरामले घुमिराखेको छ,
आफूलाई न्यायिक मान्छे भन्दै ऊ,
समाजमा 'आफू राम्रो छु' भन्दै हल्ला फुकिराखेको छ।
१३ वर्षकी बालिका मलाई,
आफ्नो छुद्र व्यवहार देखाउने ऊ,
आज मेरो लागि सामाजिक संजालमा
ह्यासट्याग जस्टिसफरनिर्मला भनी लेख्दैछ,
ऊ आफूलाई निर्दोष बताउँदै, म जस्ता अरु नारीलाई
आफ्नो अबको शिकार भनी देख्दैछ।
यस्तो समाजमा मलाई पुन: जन्म नदिनु आमा,
जहाँ म जस्ता लाखौँ चेली असुरक्षित रहुन्,
म चाहदिनँ आमा, उनी पनि म जस्तै,
आफ्ना पीडाका गन्थन कहुन्, आमा।
म चाहदिनँ उनी पनि म जस्तै
पीडाका गन्थन कहुन् आमा।
आज मेरो शरीर मबाट अलग्गिँदा पनि,
मेरो आत्मा, सबै कुराको प्रत्यक्षदर्शी बनिराखेको छ,
देशभर निर्मलाको आवाज गुन्जिरहँदा पनि,
न्याय नपाउँदा मेरो रत्ती आशपनि क्रमश: घटिराखेको छ।
यो जन्म तिम्रो सपना पूरा गर्न नसक्दा,
तिमीलाई सुख अनि शान्तिमा भेट्न नसक्दा,
तिम्रो मुहारमा हाँसो १३ वर्षभन्दा बढी देख्न नसक्दा,
तिमिसँग अकल्पनीय रुपले नचाहँदै पनि छुट्टिदा,
यो मन, असाध्यै रोएको छ आमा।
तिम्रो ममता, तिम्रो अपार प्रेम आज अनि
जिन्दगीभर पाउने आशा तोडिएको दिन,
मेरो अंगअंग शवमा रुपमा मोडिएको दिन,
कसैको जिन्दगीमा पनि नआओस् आमा
आज आकाशमा म जस्ता हजारौं चेलीहरु,
दु:ख बिसाएको देख्दा,
उनीहरुलाई परेको पीडा चिन्ता अनि
हामी सबैलाई अन्यायको झुपडीमा भेट्दा,
यो मन न्याय पाउने आशा मार्न खोज्छ आमा,
कानुन बिक्ने खेल सबै देख्दा,
यी पीडामा मल्हम नलाग्ने डर
आज यो हृदय देख्छ आमा।