बिहानी लालीसँगै बिउँझिएर
हिमालको सेतो हिउँ परेलीमा सजाई
शीतबिन्दु बटुलेर
समृद्धिको सागर बगाउन चाहन्छु
म आफ्नै माटोमा
पहाडको शिखरबाट उदाएको
एक झुल्को न्यानो घाम ओढेर सधैँ
हिँड्न सकूँ– पुर्खाले रगत दिएर खनेको बाटो
जोगाउन सकुँ– पूर्वजले आर्जेको देशको सीमारेखा
रोप्न सकुँ– राष्ट्रियताका बीउ बिजन
फुलाउन सकुँ– नानीहरूका निश्चल आँखामा
रातो विश्वासले रङ्गिएको लालीगुराँस
म हिँड्दा कहीँ कतै नदुखोस्
म जन्मिएको माटोलाई
नलागोस् घाउ कसैलाई
सत्यको लडाइँमा
होमिन सकुँ ज्वालामुखीका लाभाहरूमा
न्यायको लडाइँमा
म बग्न सक्छु समुद्री सुनामीमा
निर्बल छैनन् पाखुरीहरू
आँधीहुरी बनेर बग्ने पहिरोलाई थाम्न सक्छु
नझिक्नु कसैले
मेरो देशको सीमाबाट एक चिम्टी माटो
नलग्नु कसैले हिमाली हावा
नच्यात्नु कसैले घामजस्तै उज्यालो
मेरो देशको इतिहास
अन्यायको बाछिटाविरुद्ध
जन्मिएकी हुँ म बारुद र आगो ओकल्न
जन्मिएकी हुँ घामको बीउ रोपेर आगो फलाउन
कमजोर छैन मेरो हृदयमा बगेको
लालीगुराँसको रंग झै यो रातो रगत
म जन्मिएँ यही माटोमा
हुर्किएँ यही माटोमा
न्याय र हितको पसिना बगाउदै
हराउन पाऊँ यही माटोमा ।