कुनै मुक्तकमा सामाजिक विकृतिको नाडी छामेर मूल रोग पत्ता लगाउने वैद्य बन्छन् भण्डारी त कतै फेरि चरम व्यावहारिक एवम् राजनीतिक बेइमानीका जरामुन्टा धूलोपिठो पार्ने विद्रोही बन्छन्।
मान्छेले त्यही कुरा सोचेको हुन्छ
आफूलाई आवश्यकता जेको हुन्छ
हामीले हातमा बाँध्ने त घडी न हो
समयले त हामीलाई नै बाँधेको हुन्छ।
‘असुरक्षित गुलाब’ मुक्तकसङ्ग्रह भित्रको पहिलो मुक्तक हो यो। कृतिको सुरुमै यसलाई स्थान दिएर समयको शक्तिको महिमा प्रस्तुत गर्दै हामी मानव जाति समयका दास हौँ भन्ने गम्भीर जीवनसत्य प्रस्तुत गरेका छन् मुक्तककार जीवनसागर भण्डारीले। समयलाई चिन्नु र समयसँगै हिँड्नु नै सफल जीवनका सूचक हुन्। जीवनसागर स्वयं जीवनलाई परिभाषामा बाँध्न मन पराउँदैनन्। व्यक्तिपिच्छे र व्यक्तिका भोगाइपिच्छे जीवनको भोगाइ फरक–फरक हुने उल्लेख गर्दै उनी मुक्तकमार्फत् उद्घोष गर्छन् ‘जीवन भोग्ने कुरा हो परिभाषित गर्ने कुरा होइन।’
सबैजसोले महसुस गरिरहेको तर धेरैले खुलेर बोल्न नसकेको कुरा हो ‘न्यायालयमा भ्रष्टाचार’। पूर्व प्रधानन्यायाधीशहरू नै अदालतको अवहेलनाको मुद्दा खेपिरहेको वर्तमानमा प्रकाशित यो मुक्तक सङ्ग्रहभित्र लेखकले भ्रष्टाचारको जरो न्यायालयमै रहेको ठोकुवा गर्ने हिम्मत गरेका छन्। उनको यो साहसले ‘लेखक सत्यका पक्षमा निडर उभिन्छ’ भन्ने कुरालाई ल्याप्चे ठोकेको छ।
वर्तमानमा समाज विकृत बन्दै गरेको कुरालाई यसरी प्रस्तुत गर्छन् जीवनसागर – ‘समाजमा कोही सत्यवादी भेटियो भने पनि शङ्का मान्नुपर्ने अवस्था सिर्जना भएको छ।’ यद्यपि एउटै व्यक्ति दह्रोसँग नैतिक र इमानदार बन्ने हो भने समाजमा धमिलो पानीमा माछा मार्नेहरू पोखरी छोडेर कुलेलम ठोक्छन् भन्नेमा लेखक विश्वस्त देखिएका छन्, मुक्तकहरूमा।
मूर्ति चोरहरू नै गेरू बस्त्रमा मन्दिरका महान् पुजारी बन्दै हिँडेको दृश्यमार्फत् धार्मिक अपराधको सङ्केत गर्दै जनताको सार्वभौमिकतालाई कुल्चिनेहरू भेष बदलेर सबैखाले राज्य व्यवस्थामा उपस्थित भइरहेको यथार्थ छर्लङ्ग्याइएको छ मुक्तकहरूमा। सत्ताको कुर्सीमा पुगेपछि आफ्नो धरातल बिर्सेर देश बेच्न पछि नपर्नेहरूका आन्तरिक मनोभावना उद्घाटित गर्दै पदलोलुप नेतृत्व, भ्रष्ट प्रशासक, अराजक जनता, गैरजिम्मेवार समाज सबैलाई निशाना बनाई चारहरफे मुक्तकका व्यङ्ग्यबाण प्रहार गर्छन् जीवनसागर। राष्ट्रिय सम्पदा र ढुकुटीमा ब्रह्मलुट मच्चाउनेहरू नै राज्यका भान्से बनेको कार्यप्रति उनी असन्तुष्टि पोख्छन् र देशको मालिक जनता हुनुपर्छ भन्दै मुठ्ठी कस्छन्।
आफ्नो दलको झण्डा समातेपछि हिजोको देशद्रोही पनि देशभक्त बन्ने र अर्काको दलमा रहेका देशभक्तहरू पनि देशद्रोही देख्ने दोषी नजरयुक्त राजनीतिक नेतृत्व नबढारिएसम्म देशको नवनिर्माण सम्भव नभएको निष्कर्ष निकाल्छन् उनी। अनेक आन्दोलनमा जनताको बलिदानी खेर गएको भन्दै मुक्तकहरूमा कतै खुइ्यय सुस्केरा हाल्छन् त कतै राजनीतिक नियुक्तिका नाममा असक्षमहरूलाई नै राष्ट्रनिर्माणको तालाचाबी सुम्पनु नै देश ध्वस्त हुनुको प्रमुख कारण भएको फैसला सुनाउँछन्। आन्दोलनको भ¥याङ चढेर तानाशाह बन्ने होडबाजीमा रहेको नेतृत्वप्रति आगो ओकल्दै तिनलाई बढार्नुपर्ने विचार समेत मुक्तकिला बान्कीमा प्रस्तुत गर्छन्।
साँच्चै, मुक्तककार जति समाज र देशप्रति सचेत छन् उत्तिकै प्रेमिल पनि छन्। हामीले विषमताका बिचमा पनि प्रेम रोपिरहनु पर्छ, त्यसलाई मलजल गरिरहनुपर्छ र प्रेमफूल फुलाइरहनुपर्छ भन्दै प्रेममा बाँच्न सिकाउँछन् जीवनसागर। प्रेमिल बन्न सिकाउँछन्, प्रेममा डुब्न सिकाउँछन्, बिछोडको पीडालाई पनि प्रेमको उपहार स्वीकार गर्नुपर्छ भनेर प्रेमी–प्रेमिकालाई सम्झाउँछन्। प्रेमभित्र शृङ्गार अनिवार्य भएको सङ्केत गर्दै रूप र यौवनलाई शत्रु मान्न नहुने कुरामा उनी विशेष जोड दिन्छन् अनि भन्छन्–
बतासलाई लाग्ला डुलौँ कि नडुलौँ
आकाशलाई लाग्ला खुलौँ कि नखुलौँ
यदि रूप र यौवन दुवै शत्रु हुन् भने
फूललाई लाग्ला फुलौँ कि नफुलौँ।
सँगसँगै रूप र यौवनलाई समाजले प्राकृतिक रूपमै सहज स्वीकार्न सक्ने हो भने फूलले आफूलाई फुलौँ कि नफुलौँ भनेर द्विविधामा पर्नु पर्ने थिएन भन्छन् र फूलहरू निर्बाध फुलिरहून् भन्ने कामना गर्छन्।
कुनै मुक्तकमा सामाजिक विकृतिको नाडी छामेर मूल रोग पत्ता लगाउने वैद्य बन्छन् भण्डारी त कतै फेरि चरम व्यावहारिक एवम् राजनीतिक बेइमानीका जरामुन्टा धूलोपिठो पार्ने विद्रोही बन्छन्। मानवता हराउँदै गएका मानिसलाई व्यङ्ग्य कसेर दह्रो चड्कन लगाउन पछि नपर्ने उनी मुक्तककै माध्यमबाट मानवीय संवेदना जोगाएर सार्थक जीवन बाँच्ने प्रेरणा पस्कन्छन्। मानवताप्रतिको उनको आस्था र विश्वास कति सशक्त छ भन्ने कुरा प्रष्ट पार्न यो एउटै मुक्तक काफी छः
पछि नलाग्नू भिड जताजता हुन्छ
भिडकै पछाडि लाग्नू पनि दुर्बलता हुन्छ
छेप्यास्त्र बनाएँ भनेर मख्ख नपर्नू
त्योभन्दा ठुलो एक चिम्टी मानवता हुन्छ।
शीर्ष मुक्तकमा बालबालिकाहरू अनेक प्रकारका हिंसाको मार खपिरहन बाध्य भएको र सुरक्षित जीवन बाँच्न नपाएको कुरालाई छर्लङ्ग्याउने ऐना देखाइएको छ। बालबालिकाहरू आफन्त र नजिकका मानिसबाटै असुरक्षित रहेकाले जोगाएर हुर्काउनै हम्मेहम्मे परेको यथार्थलाई मुक्तकिलो भावमा प्रस्तुत गरेर सारा अभिभावकको पीडाको प्रतिनिधि आवाज बोलेका छन् यस मुक्तकमा। सामाजिक अपराधको कालो प्रतिबिम्ब प्रस्तुत गरेको यो मुक्तकलाई शीर्ष मुक्तकका रूपमा रोजेर मुक्तककारले आफ्नो आलोचनात्मक यथार्थवादी विचारलाई प्रस्तुत गरेका छन्ः
अहँ जुगजमाना ठिक भएन
धेरै विश्वास पनि उचित भएन
फुल्न त फुल्छ गुलाब काँडाकै बिचमा
तर पनि ऊ सुरक्षित भएन।
भ्रष्टाचारको जालो यतिशक्तिशाली छ कि त्यसमा जेलिएर सिङ्गै देश निकास नपाउने गरी जकडिएको छ। भ्रष्टाचार र अन्य सामाजिक विकृतिका विरुद्ध बोल्दा उल्टै दण्डित हुनु पर्ने नेपालको गैरन्यायिक संस्कार र संरचनाप्रति तीव्र आक्रोश प्रकट गर्दै जीवन मुक्तकमै यसो भन्छन्ः
मेरो एउटा छिमेकी अधिकृत भयो
केहीदिनमै भ्रष्टसँग एकीकृत भयो
भ्रष्टाचार विरुद्धमा मुद्दा के हालेथेँ
म दण्डित भएँ, ऊ पुरस्कृत भयो।
विषयका हिसाबले प्रेम, राजनीतिक एवम् सामाजिक विकृतिका करिब दुई दुई दर्जन मुक्तकहरू छन्, सङ्ग्रहमा। यी तीन मुख्य विषय बाहेक जीवनदर्शन, वैदेशिक रोजगार, प्रविधि, गरिबी, भाग्यवाद, समयचेतना र देशभक्ति प्रमुख विषयका रूपमा उपस्थित छन् सङ्ग्रहभित्र। केही मुक्तकहरू यति विविधतामय ढङ्गले बुनिएका छन् कि तिनमा एकैसाथ अनेक विषय उत्तिकै प्रगाढ बनेर उभिएका छन्। अभिधार्थबाट लक्ष्यार्थसम्म पुग्दा विषयले यसरी रूप परिवर्तन गर्ने सामथ्र्य राख्छन् कि यसले लेखकको भाव सघनता र गम्भीर साधनालाई एकैपटक मुखरित गरिदिएको छ।
जीवनसागर मुक्तकमा पनि गेयात्मक गुण मिसाउने गीति लयात्मक धारका मुक्तककार हुन्। यस कुराको पुष्टि यही एउटा मुक्तकले नै गर्दछः
सम्झियो कि सम्झनाको पाटै बसाउँछ
ढुङ्गै बसाउँछ नि बरै माटै बसाउँछ
हुन हो किन हुन हो भेउ पाउनै सकिएन
धरोधर्म उनी हिँड्ने बाटै बसाउँछ।
संरचनागत कोणबाट यस सङग्रहका अधिकांश मुक्तकहरू रुबाई र रुबाइ शैलीमै संरचित छन्। यसले मुक्तककारको रुबाई शैली प्रेमलाई प्रस्तुत गरेको छ। मुक्तककार मुक्तकका पङ्क्तिमा अक्षर सङ्ख्यामा भने त्यति सचेत छैनन्। अक्षर सङ्ख्या मिलाउँदा भावको सङ्गठन बिग्रन्छ भन्नेमा उनको सचेतता हस्तक्षेपकारी बनेर आएको छ। मुक्तकको मूल संरचना (बनोट) लाई ध्यान दिँदादिँदै पनि उनी आन्तरिक संरचना (बुनोट)मा बढी केन्द्रित छन्। उनी भावलाई नै केन्द्रमा राखेर मुक्तकको प्रभावकारिता रक्षा गर्छन् र अक्षर साङ्ख्यिक संरचनालाई भने खास वास्ता गर्दैनन्। तुक मिलेका चार पङ्क्ति कोरेर र बिग्रेका गजलका दुई सेरलाई मुक्तक भन्दै पोस्ट्याउनेहरूलाई मुक्तकको खास रूपको उपस्थिति सङ्ग्रहमा गराएका छन्।
निष्कर्षमा भन्नु पर्दा आलोचनात्मक यथार्थवाद जीवनसागरका मुक्तकको मूल प्रवृत्ति हो। यही जगमा टेकेर उनी सामाजिक विकृति, जातीय एवम् क्षेत्रीय विभेद, असन्तुलित विकास, राजनीतिक विकृति, भ्रष्टाचारलगायतका कुकृत्यप्रति अर्जुन बनेर गाण्डीव धनु उठाउँछन्। व्यङ्ग्य उनको प्रमुख प्रवृत्ति हो। शृङ्गार रसमा उनको उत्तिकै मोह छ। मानवतावाद, दार्शनिकता, विसङ्गतिवाद र अस्तित्ववाद उनका मुक्तकका अन्य मूल विशेषता हुन्। केही मुक्तकमा भने चामत्कारिक भावसमेत अभिव्यक्त भएको छ।
दोबाटोमा एउटा ढुङ्गा थियो
यता पल्टियो उता पल्टियो
कुन साधुले मन्दिर पु¥याएछ
एकाएक त्यही द्यौता भइदियो।
भाग्यवाद पनि यस सङ्ग्रहका मुक्तकले उल्लेख गरेको अर्को एक मूल प्रवृत्ति हो। बिम्बात्मक र प्रतीकात्मक भाषाको प्रयोगमा लेखक सचेत छन्। विषय, शिल्पशैली र मारक क्षमता सबै सशक्त तुल्याएर मुक्तकको एक महत्त्वपूर्ण कृतिका रूपमा ‘असुरक्षित गुलाब’लाई जन्मदिएका छन्। यससँगै नेपाली मुक्तकमा एक गर्विलो कृति थपिएको छ। नेपाली मुक्तकको केन्द्रीय स्वर र प्रवृत्तिलाई प्रस्तुत गर्ने सामथ्र्य यस सङ्ग्रहका मुक्तकले राख्छन्।
सङ्ग्रहका अन्तिम दुई मुक्तकमार्फत उनी पाठकलाई जीवन पढाउँछन्। १०६ औँमुक्तकमा नैराश्यपूर्ण अभिव्यक्ति प्रस्तुतगर्दै निराश बन्दै गएका मान्छेका मनको प्रतिबिम्ब उतार्छन् र १०७औँ (अन्तिम) मुक्तकमा अस्तित्ववादी जीवन दृष्टि प्रस्तुत गर्दै जीवनप्रति मोह त्याग्न हुँदैन भन्ने निष्कर्ष बोलेकाछन्। जीवनमा निराशा जगाउने अनेक घटना र सन्दर्भ हुँदाहुँदै पनि आशाको दियो बालिरहनुपर्छ भन्ने अस्तित्ववादी चेतना नै यिनको कलमको मुख्य सन्देश हो। समग्रमा पुष्पमय मानव जीवन, समुन्नत समाज र सुरक्षित भविष्यको आकाङ्क्षा राखिएका मुक्तकहरूको सञ्चयन हो ‘असुरक्षित गुलाब’।