कविता
त्यो अँध्यारो रात
त्यो कहालीलाग्दो रात
सम्झनाको पहिरोले
चिन्ता-निरासाको बाढीले
सपनाको बस्ती डुबाएको रात
आफ्नै नजरमा पनि
मेरो अस्तित्व गुमाएको रात
भविष्यको आकाशमा
कालो बादल छाएको रात
आत्मग्लानीको तापमा जलेको
पश्चतापको पीडाले गलेको
पीडामा अलपत्र ढलेको
आफू सँगै हारेको
त्यो रातको याद
अझै ताजा छ
घाउको दाग अझै पनि उस्तै छ
एक गलत निर्णयका कारण
साथै, अनुशासनको कमी ले गर्दा
समयको चाल सँग
म पराजित भएको त्यो काल-घडी
मेरा पाइला डगमगाएको
असफलता र निराशा पाएको
जीवन देखिनै हार खाएको
त्यो दु:खद् रात
त्यो पीडादायी रात
उफ् मैले अनिदो चिन्तिन बिताएको त्यो रात
मैले जीवन सँग मुक्ति मागेको त्यो मुश्किल रात
संसार र कर्तव्य सँग भाग्न खोजेको रात
जीवन सँग बिदावारि गर्ने बाटो लगभग रोजेको रात
कसरी बिर्सन सक्छु र म त्यो रात ?
जहाँ म मृत्युको एक पाइलामात्र टाढा थिएँ ....
तर मैले त्यो एक अन्तिम कदम चाल्न सकिनँ
आँखा चिम्ली सबै बाट टाढा भाग्न सकिनँ
एक्लै थिएँ कोठामा र जीवनमा पनि
तर सम्बन्धहरूको बन्धन बाट मुक्त हुन सकिनँ
अनि फेरि नयाँ बिहानीको लागि संघर्ष गर्ने
मेहनत गरी, राम्रो समयको सिर्जना गर्ने
अठोट र निर्णय लिएको रात
फेरि हाँस्न र बाँच्न हिम्मत देखाएको रात
मैले नयाँ जोश-जागर, उद्धेश्य पाएको त्यो यादगार रात
आखिर म कसरी बिर्सन सक्छु र त्यो रात?
मैले दोस्रो जन्म पाएको त्यो रात
मेरो पुनर्जन्म भएको त्यो रात!