गोधुलीको तरेलीमा भमरा झैँ मनको गीत उर्लिएछ
मैले लाको प्रितमाथि जुनको छाया टक्क टल्किएछ
पालुवाको फेर समाई सुस्तरी मैले पाइला चालेँ
हात दिएउ भरोसाको खुसीसँगै जीवनको रित् रचिएछ।
बिहानीको मोहकमा उत्साह लहर बनि तैरिएछ
निलो गगन शितभित्र मुस्कुराई मोति झैँ टल्किएछ
चम्किएको अभालाई टिप्न खोजे बसन्तले लाज छोप्यो
जीवनको गतिभित्र थाहै नभै उमंगको आस्था भरिएछ।
रहरको अंगालोमा मैलेपनि तिम्रो प्रेममय गीत गाएँ
विश्वासको तरेलीमा तिम्ले पनि भरोसाको संगीत भर्यौ
मैले पनि फक्रिएको फूलसँगै तिम्रो खुसी गाँसिदिएँ
बिहानीको किरण झैँ आँगनमा तिम्ले उमंगको उर्जा छर्यौ।
जुनेलीझैँ टल्क तिमी सधैँभरि स्नेहको भाव गाऊ
बिहानी झैँ छाऊ तिमी सधैँ उमंगको प्रित लाऊ
दुख्यो भने मनको पीडा पोखिहेर घाउ छैन कतै पनि
जिन्दगी हो जिउनु पर्छ रितसँग लानु छैन केही पनि।