कसले ढोका खोलेर स्वागत गरेको छ?
मुल फुटेर जो छचल्किँदै
अशुद्धिको बोक्रा ताछ्न पल्केको छ।
फुर्सद कहाँ छ जाडोमा घाम ताप्दै
आँखा बन्द गरी ध्यान गर्ने?
नुहाउनु छ चिसो पानीको फोहोराले
नाराजुलुसको बीचमा शासकलाई जगाउने
परिचय कहाँ छ बजार बजार
विस्तारिँदै हिँड्ने?
बिक्री भैसकेको माल झैं
बाटैमा प्याट्ट फुट्ने।
दुनियाँ कहाँ छ?
मोबाइलको कैद भित्र
छामछुम गर्दै आफ्नै चरित्र।
हिम्मत कहाँ छ यत्रतत्र
छरिएको शान्ति सम्हाल्ने?
जहाँ प्रतिक्षा र परीक्षा
परिधिका घडी नाप्ने।
गुप्त गुफाहरु कहाँ छन्?
प्रश्न चिन्ह हराउने।
अठोट कहाँ छ?
रसातल हुँदै पाताल पुर्याउने।
विनोदी र नम्र कहाँ छन्?
दुनियाँमा हेपिनलाई रमाउने।
कसले बुझ्यो साँझपख
कार्यालयबाट फर्किएका आँखाको भाषा
हातपाउ जोरेर को उभिएको छ?
आन्नदलाई पिएर जो जिएको छ।
काखमा लुकाउने अँधेरी रात कहाँ छ?
चन्द्रमाको मधुमय मनोहर
उज्यालो जहाँ छ।
बर्बाद तुफान कहाँ छ?
बर्बाद बसेको छ आफैलाई पिएर
जो खितिती हाँस्दछ
आफ्नै प्राण लिएर।