आश्वासनका भारी
ढाक्रेको गतिमा
गलेका काँधको परवाह नगरी
रिडको हड्डी भाजुन्जेल
अझै बोकी रहेछौ
बाजेले बोके
बाले बोके
मैलेसम्म बोकिरहँदा
आत्मग्लानी भएको छ
मेरै सार्वभौम अधिकार प्रयोग गरी
मेरै मतले
मैमाथि शासन गरेको
दशकौं भएछ
हात लागी शून्य झैँ
रैती पारामा
तिम्रा आश्वासनलाई सत्य मानी
तिमीलाई राजा मान्दै
जदौ गरिरहँदा
नखुलेका चेत
अब खुल्दै छन्
तिम्रो शासन
कुशासन भैरहँदा
भाग्य सराप्ने होइन
हिसाब खोज्न उद्दत छु
हिसाबको डेबिट क्रेडिट नमिली
जुन दिन ट्रायल ब्यालेन्स गडबडिनेछ
त्यो नै तिम्रो अन्तिम दिन हुनेछ।