ओहो! हेर त,
बेला न कुबेला यो केको जात्रा?
चन्द्रसूर्य अंकित गौरवलाई बिर्सेर
हात-हातमा चारपाटे झण्डा बोकेर
देशको भन्दा पनि पार्टीको कथा घोकेर
घर घरमा शैक्षिक, आर्थिक अनि
मनमनमा शान्ति रोप्नुको सट्टा
भ्रष्टाचार, खिचातानी र जालझेल
मलजल गरी हुर्काउँदै छन्
हिंसा, अपराध र अपराधी नउखेली
निर्मला, सम्झना र भागरथीहरु निमोठ्दै छन्
अरे, यो समाजको मानवता त
त्यतिबेलै हराइसकेको थियो नि
जतिबेला पौरखी किसानले
आफ्नो पसिनाको मूल्य उठाउन
मृत्युवरण गर्नुपर्छ
जतिबेला एउटी नारी पटक-पटक
बोक्सी र बलात्कृत भैरहनु पर्छ
खैर केही छैन, अँध्यारो रातमा
जुन्किरी झैं ज्योति छर्दै
सयौं कोपिलाहरु, सपनाहरु
फेरि उठ्ने छन्, जुट्ने छन्।