उसले मलाई भनी- 'हजुर त कस्तो जान्ने, ट्यालेन्ट हुनुहुँदो रैच, डाहा लाग्यो मलाई त।'
म फिस्स हाँसिदिएँ। यसै पनि कम बोल्ने मान्छे म र बोलिरहन पर्ने ऊ। एकैछिनमा भनिहाली- 'म त ट्यालेन्ट छैन, साथी बनाउनु हुन्छ?'
'हँ! यो कस्तो प्रश्न? हावा कुरा नगर।'
फेरि एकैछिनमा फर्काई 'म हावा भए हजुर हुरी हि हि हि…।'
अचम्म लाग्यो, कति कति हँसिली, रसिली र हँसाइरहन खोज्ने चुलबुली केटी। म भने कहिल्यै खुलेर बोल्न सकिनँ। उसको मुस्कानलाई खुब निहालेँ अनि भनेँ 'तिमी हाँसेको साह्रै सुहाउने रैछ।'
'हाँसो कस्लाई सुहाउँदैन होला र! म उति हँसिली मान्छे हैन जति हजुर देख्दै हुनुहुन्छ। म आफै त हाँसिदिन्छु तर अरुले हँसाउन गाह्रो पर्छ। ठ्याक्कै म कस्तो छु, म आफैले खोज्दै छु। त्यसैले भनिहाल्न सक्दिनँ।'
उसको कुरा ध्यानपूर्वक सुनिरहेको थिएँ, एक्कासी उसको मुहार मलिन देखेँ। मैले के भो भन्न नपाउँदै उसको दुई थोपा आँसु तप्प चुहियो। उसको शिरले मेरै काँध समायो र विश्राम लियो।
केहीबेरपछि बोली 'जीवन कति गाह्रो छ है?'
'जसरी लियो, त्यस्तै हुन्छ जीवन त,' मैले भनेँ।
'मलाई हजुरजस्तै ट्यालेन्ट हुन मन लागेको छ। इन्टेलिजेन्ट के। जति मिहनेत गरेपनि खै, भ्याउदैन दिमागले।'
'मेरो जीवन जीउन नखोज, तिम्रोभन्दा कष्टकर छ। तिमीलाई मेरो एकेडेमिक प्रोफाइल बाहेक केही थाहा छैन। मैले गाह्रो जीवनलाई सजिलो बनाउन खोजेको छु। बनाउनभन्दा नि मान्न थालेको हो।
मलाई पनि तिमीजस्तो कृयटिभ हुन मन लाग्छ, मनको भावनालाई बाहिर व्यक्त गर्न सकेको भए सायद मलाई एनजाइटी हुँदैन थियो होला। बुबाको काख कस्तो हुन्छ महशुस गर्न पाइनँ, पटक पटक आमालाई एक्लै पागल झैँ रोएको देखेको छु।
म त हेर्न पनि सक्दिनँ अचेल। मैले राम्रो पढिदिओस्, असल डाक्टर बनोस् आमाको आकांक्षा पूरा गर्नु नै मेरो जीवनको लक्ष्य हो। हामी आफूसँग भएको कुरा देख्दैनौँ, नभएको कुरा छैन भनेर दुख मनाउ गर्छौं। तिमीलाई म झैँ हुन मन छ, तिमीलाई यो थाहा छैन कि कोही न कोहीलाई तिमीजस्तै बन्न मन छ।
यो मानव स्वभावप्रति अपरिचित भैदेऊ र आफूसँग जे छ, त्यसैलाई परिस्कृत गर्दे अघि बढ। त्यही दिनबाट तिमीलाई जीवन गाह्रो लाग्न छोड्ने छ।
दुई महिना मात्रै भयो होला, त्यो बहिनीले सुसाइड गरेको। एक वर्षं मात्रै बाँकी थियो डाक्टर हुन। कारण कति साधारण छ, पढाइ राम्रो भएन, साथीहरू सबैले प्रगति गरिसके आफ्नो हालत यस्तो भयो भनेर। सानै अर्थ बोक्ने कुराले जीवनमा खास महत्व राख्छ। खुसी हुने कि चिन्तित हुने भन्ने कुरालाई निर्धारित गर्छ।'
मानव आचरण नै हुन्छ सानोतिनो कुरामा कम्पियर गर्ने, विस्तारै बढ्दै गएर यसले ठूलो रूप लिन्छ अनि मानसिक रुपमै कमजोर हुन्छौँ। अहिलेको यो कम्पिटिटिभ संसारमा हामीलाई हर कुरा सिक्नु छ, जान्नु छ जस्तो लाग्छ।
साथीले गरेजस्तो, अरुले भनेजस्तो गर्न सकिनँ भनेर आत्मविश्वासलाई पछाडि धकेल्न त भएन नि। हामी सबै फरक छौँ, कम्पियर गर्नु नै गलत हो। किन बेकारमा अरूजस्तो बन्न खोजेर आफूभित्रको म पात्रलाई मार्ने भन त।'
यति भनेर नसक्दै उसले भनि- 'अहो! मैले त जानेर नजानेर आफैलाई मार्दै रैछु। मभित्र एउटा चेतना पस्यो। यो समयको लागि आभारी छु।'
मैले फेरि थपेँ, 'जान्नु र व्यवहारमा उतार्नु फरक कुराहरु हुन्। भन्न सजिलो गर्न गाह्रो हुन्छ। तिमी योगा र ध्यान गर्नं थाल्यौ भने तिमीलाई जीवन सहज लाग्नेछ। जीवनको सार्थकतासँग नजिक भएजस्तो लाग्ने छ। हुन त म पनि सिक्ने क्रममा छु।'
'म पनि धेरै सपना देख्ने मान्छे हुँ कि जस्तो लाग्छ। यी सपनाहरु पूरा भएनन् भने पनि समस्या सृजना हुन सक्ला है?'
हेर, सबै सपना पूरा नै गर्नुपर्छ भन्ने छैन, केही केही सिकिरहन, अनुभूति गरिरहनको लागि देख्छु म सपना। यसले अझै सिकाइरहन्छ, बुझाइरहन्छ। समस्या पटक्कै हुँदैन।'
यति भनिसकेपछि ऊ फुरूंग देखिई। मख्ख पर्दै मलाई अंगाली। मलाई पनि यताकता आत्मियताको भावना जाग्यो। जीवनमा पहिलोपल्ट कुनै केटीसँग यति नजिक जो भएको थिएँ।