हिजोआजको मेरो समय
अलि पृथक छ पहिलेभन्दा।
अलि फरक अनुभूति
फरक महशुस
हिजो-अस्तीभन्दा।
वसन्त ऋतु नै आए झैँ
कुराहरुको पालुवा
रङ्गीन हुँदै, हरियाली हुँदै
सर्वत्र मनमोहक भए झैँ
मेरो मन नि कता-कता पुलकित हुन थालेछ।
कसैको समिप्यता महशुस गरेको भएर होला।
खुसी हुन ठूलो कुरा के नै चाहिन्छ र?
बस् सम्झना नै काफी छ।
ती यादहरुका ज्वारभाटा नै काफी छन्
मनमा सुनामी भित्र्याउन पनि।
एक वचननै भारी हुन्छ मन दुखाउनलाई
मन त हो, एकछिनमा खुसी
एकछिनमा दुःखी।
के नै चाहिन्छ र?
केही नभए नि खुसी हुन सकिन्छ नि होइन र?
खुसी छु म अचेल पहिलेभन्दा
दुःख पनि लाग्छ बेला बेला
तर पनि खुसी छु एकदम धेरै
तिमीले सोचेभन्दा पनि।
म अलि बढी बोल्छु
तिमीलाई कम सुन्नु पर्छ।
तर तिमीले बढी बोल्दा
मलाई कहिले बढी लागेन
कम नै लाग्यो।
तिमी कम बोल्दा चुपचाप झैं लाग्यो।
तिमी चुपचाप बस्दा
मेरो वरिपरी तिम्रा कर्णप्रिय आवाज
गुन्जिएर आइरह्यो।
वैज्ञानिकले डाइनोसरको आवाज
हाम्रै वरिपरि छ भने झैँ।
के यो माया हो?
तिमी हाँस्दा म हाँस्नु
तिमी रुँदा रुँनु,
तिमी हुँदा अर्कै हुनु
नहुँदा तिम्रो सम्झनाले मुटु छुनु।
हुरुक्क हुनु छटपटी हुनु
के यो पनि माया हो त?
हिजो म बढी बोले झैँ तिमीलाई लाग्यो
मैले हो भनेँ।
किनकि तिमीसँग बढी बोल्ने अधिकार छ जस्तो लाग्यो।
तर तिम्रो सुन्ने कर्तब्यको ख्याल गरिनँ
सुनेको थिएँ अधिकार र कर्तब्यसँगै आउँछन्
तर त्यस्तो सधैँ हुन्छ भन्ने छैन पनि।
म त मेरो रहर भूलिदिन सक्छु तिम्रो रहरमा
सँगै जान्छु भन लिएर जान्छु मेरो सहरमा
यादले त पिरोल्छ नि हर-प्रहरमा
थाहा छ? यस्तो लाग्छ कि
लेखेर आउँछु तिम्रो नाम त्यहाँ
फेरि मेटिदिन्छ एउटा सानो छालले समुन्द्रमा
होस् अब त लेख्दिनँ तिम्रो नाम बगरमा
मुटुमा खोपेको छु नि विश्वास दिलाउँ कसरी?
म माया गर्छु कहिले भन्दिनँ
म मन पराउँछु कहिले भन्दिनँ
महशुस के छ तिम्रो?
बुझ्न खोज्छु तर केही बुझ्दिनँ
त्यही पनि खुसी छु म।
किनकि खुसी हुने हो कसैले दिने होइन
राम्रोसँग बुझेको छु।
कहिलेकाहीं
म आफूले आफूलाई को हो भनेर नबुझेको बेला
कोही बुझ्न आइपुग्छ
हिँड्दा हिँड्दै अचानक पानी पर्छ, छाता खोल्छु
छातामा ओतिए जस्तै गरी
कोही रुझ्न आइपुग्छ।
के यो माया हो?
ऊसँग झगडा छ।
ऊसँग रिस उठ्छ।
दिक्क लाग्छ, वाक्क लाग्छ
विरक्त लाग्छ, अभद्र लाग्छ
बोल्दिनँ भन्छु फेरि उस्को नै याद आउँछ।
अनि फेरि सोच्छु
सायद माया छ र पो यो सब छ।
माया नहुँदो हो त के छ?
देखिनु र हुनुमा फरक छ
म जस्तो देखिन्छु त्यस्तो विल्कुल छैन।
माया लाग्छ र पो यो सब छ।
म बच्चा होइन, बच्चा जस्तो हुन्छु
बच्चा जस्तै हाँस्छु, रुन्छु
म वयस्क भैकन पनि किन बच्चा जस्तो हुन्छु?
झर्किन्छु, तर्सिन्छु, बाङ्गिन्छु, घुर्की लाउँछु
आखिर किन?
म जे पनि हुन सक्छु जस्तो लाग्छ तिमीसँग हुँदा।
तर तिमी मलाई बच्चा सोच्छौ वास्तवमै बच्चा
मलाई वयस्क बन्नु पनि छैन
जहाँ धेरै सोचेर कुरा गर्नु परोस्
हाँस्नु मात्र परोस्, ठूला ठूला सपना बनाउनु परोस्।
योजना बनाउनु परोस्
भविष्यको कुरा हुनु परोस्
चहिएन मलाई यो सब।
मलाई त केवल सानो सपना बच्चा जस्तो
खेलौनाको गाडी जत्तिकै खुसी भए पुग्छ।
न ठूलो सपना, न ठूलो रहर
न कुनै चिन्ता, न केही भर
कसैको मतलब नहोस्।
तिमीलाई थाहा छ?
सानोमा भाडाकुटी खेल्दा
तिमी बेहुली म बेहुला बनेको
घुम्टो ओढेर लुकेको सम्झना छ र?
त्यो बच्चा बेलामा हुन्थ्यो
अहिले चाहेर पनि हुन्न नि।
समयको ठूलो पर्खाल छ।
समाज छ वरिपरी अरु छन्।
फलानोले के भन्ला भन्नेमै अड्किएको छ दुनियाँ।
त्यो हिजोको जस्तो स्वतन्त्रता कहाँ छ?
स्वार्थ जहाँ तहाँ छ।
तिमी बुझ्दैनौ या बुझेर पनि नबुझे जस्तो गर्छौ?
म बच्चा जस्तो छु या बच्चा जस्तो हुन खोज्छु
त्यो त मलाई थाहा छ नि।
त्यही फरक छ नि तिमी र मबीच।
तिमी वयस्क हुन मन पराउँछौ
म बच्चा भएर रुन चाहान्छु
एकान्त सडक बीचमा।
तिमीले रुन एकान्त खोज्दा
म आँसु सुकाई सकेको हुन्छु।
तिमी भविष्यको योजनाको खातहरुले थिचिँदा
म स-साना रहरहरुको जहाजमा
उड्दै हुन्छु होला।
तिमीले देखेको सोचेको
भन्दा फरक बच्चा छु है म
फरक यही छ।
तिमीलाई मन पर्ने जस्तो हुन सकूँला या नसकूँला
तर पनि तिमीलाई याद आउने त बन्छु होला
तिम्रो खुसीमा हाँस्छु पक्कै पनि।
तिम्रो दुःखमा दुःखी हुन्छु।
म बच्चा नै हुन्छु।
मन पर्नु नपर्नु आफ्नो सोच
मलाई बचपनमा बच्चा हुन नपाएको पीडा छ नि त।
तिमीलाई गाली मन पर्दैन
मेरो चर्को स्वरको त के कुरा
तिमीले चाहे जस्तो त कसरी हुनु हौ?
हुन्छु भनेर नहुनु झन् नराम्रो है
त्यस्तै लाग्छ।
मनमा व्यथा हुँदा हाँस्न जानेको छु।
जीवन जीउने कलाको कथामा नाच्न जानेको छु।
समयसँगै चल्न जानेको छु
बस् एउटा कुरा
सपना सानो छ सानो बच्चा जस्तो
त्यो भएर त मलाई टेन्सन छैन
जति बेला हाँस्न सक्छु।
रिसाउन सक्छु।
घुर्की लगाउँन सक्छु।
झगडा गर्न पनि
तर ठूलो मान्छेलाई त कहाँ सजिलो छ र?
कोसँग झगडा गर्नु?
कहिले गर्नु?
कहाँ गर्नु?
कति गर्नु?
वाक्क दिक्क नि हुँदो हो नि?
म यस्तै ठिक छु।
फेरि भनौं
तिमीलाई मन नपर्ला
म ठिक छु मलाई लाग्छ
आत्मानुभूति नै अर्कै छ नि।
आत्मविश्वास नै अर्कै छ।
म सम्मान गर्छु तिम्रो सोचको
सकिनँ भने अपमान पनि गर्दिनँ।
तर फेरि भन्छु पिया
बोल्नेको पिठो पनि बिक्ने जमानामा छौँ हामी।
नरिसाऊ है, बोली बिक्ने जमानामा छौँ हामी
रिसाउनको लागि जिन्दगी छोटो छ पिया।