खुसी केमा छ, मैले बुझिनँ
प्राप्ति या चाहानामा?
वा अरु कुनै बहानामा?
खुसी भोकमै छ भने भोजन किन?
भोजनमा छ भने भोक किन?
खुसी मनमा छ भने धन किन?
सत्यमा छ भने झुठा वचन किन?
खुसी केमा छ, मैले बुझिनँ
प्राप्ति या चाहानामा?
वा अरु कुनै बहानामा?
खुसी निद्रामा छ भने महंगो बिस्तरा किन?
बिस्तरामा छ भने निद्रा किन?
खुसी केमा छ, प्राप्ति या चाहानामा
वा अरु कुनै बहानामा?
खुसी महलमा छ भने झोपडी किन?
झोपडीमा छ भने महल किन?
खुसी सहरमा भए गाउँको रहर किन?
गाउँमै खुसी भए सहरी कहर किन?
खुसी केमा छ, प्राप्ति या चाहानामा
वा अरु कुनै बहानामा?
बोल्दा बोली नै सकिएला जस्तो गर्ने जन खुसी छन्?
कि कुहिएका मन खुसी छन्?
तीन पुस्ता पुग्नेगरी धन थुपारेका मन खुसी छन्?
या आगो नै नफुकी मागेर छाक टार्ने जन खुसी छन्?
कुहिएको साँसको पनि पैसा नै पर्ला जस्तो गर्ने खुसी छन् कि?
बेवारिसे रेडियो जसरी फतफताउने खुसी छन्?
आखिर खुसी केमा छ
प्राप्ति या चाहानामा वा अरु कुनै बहानामा?