म बग्दै थिएँ
लेख्दै थिएँ
जिन्दगीका आयामहरू
कोर्दै थिएँ
गन्तव्यको परिदृश्य
तिमी आयौ
अनि,
महशुस गर्दै थिएँ
आफू भित्रको त्यो
अद्भूत खुसी
अविश्वास थियो आफैंमा
अलौकिक लाग्न थाल्यो
हरेक दिन, हरेक प्रहर
सामान्य त पक्कै थिएन
मूर्त झनै थिएन
म सायद म रहिनँ अब
नेपथ्यमा तिमी थियौ
तिम्रो अमूर्त साथ थियो
सृष्टिको अनुपम उपहार
या मायाको सुन्दर फूल
सल्बलाउँदै थियौ मुटुभरि
उत्साह बढ्दै थियो
हृदयमा अनुहार कल्पदै
धड्कन सुन्दै थिएँ
मनमनै प्रेम गर्दै थिएँ
साँच्चै!
जुनी सफलीभूत हुँदै थियो
पर्खदै थिएँ
यायावर गर्दै थिएँ
एउटा छुट्टै अध्यायको
ऋतुहरु फेर्दै थियो
पालुवाहरु पलाउँदै थियो
धुमिल प्रतिमा थियो
आफ्नोपनको आभास
समय बित्दै थियो
उर्लदै थियो ढुकढुकी
भदौको भेलजस्तै
उद्घोष गर्दै थियो
नौलो किरणको आगमनको
आहा! फूलजस्तै जीवन
प्रफुल्लित हुँदै थियो
मग्मगाउँदै थियो पर्यावरण
मुटुमा न्यानो स्पर्श गर्दै
परिभाषाहरु दिलाउँदै थियो
किनकि,
प्रेमको आधारहरु
विभेदको पर्खालहरु
तिम्रो मृदुल हाँसोले
पराष्ट गर्नेछन्
अँध्यारोमा अभिरूप बन्दै
तिमी आउनेछौ
यति मात्र कहाँ हो र!
प्रताडित आचरणलाई
बहिस्कार गर्दै
हाम्रो धरातललाई बुझ्नेछौ
मायाको युद्ध जित्दै
उज्याला सपनाहरु
फक्राउनेछौ क्षितिजहरुमा
लटरम्म लहराहरु झुलाउनेछौ
जीवनको, आशाहरुको
अब त लाग्छ,
आँखाका डिलहरु
खुसीका रहरले
ओसिन थालेका छन्
कतै,
तिम्रो जादुमय कला
विस्तारित तरंग त होइन?
ममा छाएको
भर्भराउॅंदो सुन्दरता
यी आँखाहरुमा टल्केका
अनुपम आभा
अजस्र प्रेमको अंकुरण
त्यसैले त आजकाल,
गुलाफी रंगले
मुस्कान भर्दैछु अधरभरि…।