शाब्दिक अर्थले कार्यकर्ता भनेको कुनै खास उद्देश्य वा कारणले काम गर्ने व्यक्ति भएतापनि व्यवहारतः हामी कुनै काम नभएकाले राजनैतिक दलको कार्यकर्ता भएका हौँ।
काम नभएपनि भेला, बैठक, जुलुस, आन्दोलन, बन्द हड्तालले हामीलाई जहिल्यै व्यस्त बनाउँछ। देशको रक्षाका लागि सीमामा तैनाथ सेनाजस्तै पार्टीको रक्षाका लागि हामी दिनरात सतर्क भै तैनाथ छौँ। तैपनि आजकल हनुमान, भेडा, झोले आदि उपमाले अपमानित गरिँदा मन दुख्छ।
सामाजिक सञ्जाल चलाउँदा अरु आफ्नो विचार, आफ्नो राम्रो फोटो राख्छन् तर हामी आफ्नो स्वार्थ हेर्दैनौँ। विरोधी पार्टीलाई कसरी होच्याउने, आफ्नोलाई कसरी राम्रो देखाउने त्यस्तै मात्र लेख्छौँ। अरुको राम्रो काम पनि देख्दैनौँ। आफ्नो पार्टीको नराम्रो काम पनि देख्दैनौँ।
आफ्नो पार्टीले गल्ती गरे त्यसलाई जसरी पनि ढाकछोप गर्नु र गरेका कामलाई बढाइचढाई गर्नु वा हुँदै नभएका र नहुने कामको पनि सपना प्रस्तुत गर्नु हाम्रो कर्तव्य हो।
बिहे, व्रतबन्ध, भोजमा जाँदा सबैको ध्यान केको मासु छ, नाचगान कता छ, त्यता हुन्छ तर हाम्रो ध्यान हाम्रो पार्टीको नेता कता छन्, उहाँसँग नजिक कसरी पुग्ने र सेल्फी लिने भन्नेमा हुन्छ। कति पटक त नेता चाँडै निस्कनाले पछि लाग्दा भोजै पनि खान पाइँदैन।
आन्दोलन, जुलुसमा झन् दुख छ। घामपानीको सास्ती अनि फेरि घोक्रो सुक्नेगरी चिच्याउनु पर्छ, फेरि झण्डा उचाल्दा उचाल्दा हातै गल्ने। आफ्नै पार्टी सरकारमा भए त हो नत्र पुलिसको डर त्यत्तिकै।
उता फेरि हल्ला भने मासुभातको। एकमन त म छुटेछु कि भन्ने पनि भयो तर आफ्नै नेताले दालमोट चिउरा खाएको फोटो देखेपछि मन बुझाएँ।
चुनाव हाम्रो सबभन्दा ठूलो चाड हो। यो बेलामा हाम्रो खुब खोजी हुन्छ र तानातान हुन्छ, दशैँमा खसीबोकाको जस्तै। चुनावमा त म दाँत कोट्याउने सिन्का बोकेरै हिड्छु। तर संबिधान हाम्रो हितमा छैन।
चुनाव त प्रत्येक वर्ष हुनुपर्ने किन पाँच-पाँच वर्षमा? हामीले जिताएको नेताले महिनैपिच्छे तलब भत्ता पाउने, हामीले पाँच वर्ष कुर्नुपर्ने? झन् अस्ति त मुखमा आइसकेको चुनाव अदालतले संविधानमै छैन भनेर रोकिदियो।
झन् चुनाव होला र हाम्रो किनबेच होला भन्या त नेताकै पो मोलमोलाई सुरु भयो। तर, जे भएपनि पार्टीको झण्डा छ भने दण्ड छैन। ल, म झण्डा नबोकी सार्वजनिक सम्पत्ति तोडफोड गरुँ त, कसले छोड्छ मलाई? लाग्छ कानुनको आँखामा लगाइएको पट्टी पार्टीको झण्डाको हो कि?
बेरोजगारहरुको जमात भएतापनि हामी सबैतिर फैलिएका छौँ। मजदुर, किसान, उद्योगी, व्यापारी, शिक्षक, विद्यार्थी, कर्मचारी, डाक्टर, ईन्जिनियर, वकिल, कलाकार, पत्रकार, नागरिक समाज त्यस्तो कुनै पेशा, व्यवसाय छैन जहाँ हाम्रो संगठन नहोस्।
कति उच्च ओहदा र पदका लागि कार्यकर्ता छन् भने कति कार्यकर्ता भएकै मात्रले उच्च ओहदा र पदमा छन्। म त भन्छु सबैजना एक एक पार्टीको कार्यकर्ता भए चुनावै गर्नु पर्दैन, जनगणना गर्ने कुन पार्टीको सोध्ने नतिजा आइहाल्छ। देशको कति खर्च जोगिन्छ। यो त आफ्नै पेटमा लात हान्ने कुरा भयो, त्यसैले कसैलाई भन्दिनँ।
हाम्रो आफ्नो छुट्टै विचार छैन, नेताको विचार नै हाम्रो विचार हो। हामी आफैँ हिँड्न सक्दैनौँ। नेताले जता डोहोर्यायो त्यतै, नेताको बाटो नै हाम्रो बाटो। नेताले बोलेको नबुझेपनि ताली पड्काउँछौँ। एउटा नेताले बोलेको त घर गएर तीनचोटि भिडिओ हेर्दा नि बुझिनँ तर ठिकै बोले होलान्।
नेताले भनेपछि नलाग्ने औषधि पनि खानुपर्छ तर अस्ती विश्वास गर्दा कोरोनाले झण्डै मारेन, धन्न अस्पताल गएँ र बाँचे।
हामी एकदम नरम छौँ। जता पनि सजिलै बाङ्गिने। माथिका नेता मिले मिलिहाल्छौँ, माथि फुटे फुटिहाल्छौँ। कतिबेला मित्र शत्रु हुने हो र शत्रु मित्र हुने हो पत्तै हुँदैन।
हामीले जहिल्यै राम्रो नेताभन्दा पनि हाम्रो नेता छान्यौँ, त्यसैको बदला उनीहरुले पनि देशको सेवा गर्ने भन्दा आफ्नो सेवा गर्ने मान्छे नियुक्ति गरे। यही त हो पालोको पैँचो।
हामी जन्मदै वर्ण, जात, धर्म, लिंग आदि, इत्यादिको बन्धनमा बाँधिएर कहिल्यै स्वतन्त्र हुन सकेनौँ। हामी यिनै बन्धनबाट मुक्त हुन लड्यौँ तर झन् यो राजनैतिक दलको बन्धनले अर्को बन्धन बाँधेन, मात्र अरु बन्धन झन् कसिलो पार्यो।
यो बन्धन सबै चुडाल्न पाए, साँच्चैको मुक्ति पाइँदो हो, स्वतन्त्र भएर बाँच्न कति आनन्द हुँदो हो। अनि साँच्चै संघीयता, प्रजातन्त्र, गणतन्त्रको फल पाइँदो हो।