यो फेरि मर्यो
हिजो दुखीका बीचमा बसेर उफ्रने
परिवर्तनको लागि प्राण आहुती गर्न तम्सने
यो एकाएक फेरि ढल्यो।
नौलो होइन-
यो धेरैपटक यसरी नै ढल्यो।
बेलाबेलामा, परिवर्तनको नयाँ संघारमा
बुरुक् बुरुक् उफ्रने,
हिजोसम्म ठिकै देखिने,
बबुरो थेगिँदा थेगिँदै ढल्यो।
हो, नैतिकतालाई अँगाल्दा अँगाल्दै,
राष्ट्रियताको लौरो टेक्दा टेक्दै,
स्वभिमानको माला जप्दा जप्दै,
अनायास यो ढल्यो।
ढलेको यो आज मात्र होइन-
यो हिजो सप्तकोशीमा पनि बगेको
अलि अस्ती खोक्रो छाती देखाएर सडकमै सुतेको
अझ अगाडि त इमानका नाउँमा
युद्धताकाका त झन् के कुरा?
कतिपटक वारितिरको
कतिपटक पारितिरको
आरोपमा यातना पनि सह्यो
रगत भएर पनि बह्यो
कहिले बाध्यताले,
कहिले डरले
घर पनि, देश पनि छोड्यो।
खोई? अलि अस्तीसम्म देशले नयाँ रुप लियो
भन्दा अपूरो मुस्कान पनि चुहाएको
अनायास थामिन खोज्दा खोज्दै
यो फेरि ढल्यो।
पख
तिम्रा रक्तरञ्जीत झण्डा टाढा राख
दुषित हुन सक्छ।
म चाहन्छु
यो यसरी मरोस् कि
फेरि नमरोस्।
तिम्रा शब्दमा जेसुकै भन-
यो भोकले मरेको
मेरो आफ्नै लाश हो।