दिनभरिको कार्यव्यस्तता पश्चात् बेलुकीको खाना खाएर आफ्नो कोठातिर लागेँ। रातको करिब ११ बज्न लागेको थियो।
रेडियो सुनेर बिस्तारामा निन्द्रादेवीको प्रतिक्षामा थिएँ म। अचानक 'गाजलु ती ठूला ठूला आँखा' भन्ने गीत रेडियोमा घन्किन थाल्यो। अहो! एक बेला सुबोधलाई अति नै मन पर्ने त्यो गीत धेरैपछि आज सुनेको थिएँ मैले। मिठो अनुभूतिको साथ म आफ्नो अतीत तिर फर्किएँ।
साधारण निम्न वर्गीय परिवारमा गाउँमा हुर्किएकी छोरी म, डिग्री पढाइको सिलसिलामा काठमाडौँ पसेकी थिएँ। पहिलो चोटि कलेज प्रवेश गर्दा मलाई विचित्र लाग्या थियो।
सहरमा त कोही पनि कोहीसँग बोल्न नआउने रहेछन्। कसैलाई कसैको वास्ता नै नहुँदो रहेछ। गाउँमा हुँदा साथीहरूको धनी थिएँ म तर त्यहाँ भने मैले आफूलाई एक्लो महशुस गरिरहेको थिएँ।
ती मेरा साथीहरूलाई खुब मिस गरेकी थिएँ मैले। एक दुई दिन गर्दै कलेज जाने आउने क्रम चलिरहेको थियो। ५ औँ दिनको दिन एउटा क्लास खाली भएको हुनाले बाहिरपट्टि रहेको ठूलो चौरमा घाम तापेर आफू पढ्ने कलेजलाई राम्रोसँग निहाली रहेकी थिएँ।
अचानक पछाडिबाट मलाई कसैले 'एक्स्क्युज मी' भनेर कसैले बोलायो। म पनि एकछिन त मलाई हैन कि जस्तै पनि लाग्यो तर पनि पछाडि नफर्की बस्नै सकिनँ। यसो फर्किएँ।
हेर्दा गोरो गोरो, हसिलो मुहार भएको हल्का जिरोमा राखेर काटिएको दारी, अहो! हेन्डसम लाग्या थियो पहिलो नजरमा नै मलाई।
'हेलो, म सुबोध' उस्ले आफ्नो दायाँ हात अगाडि बढाउँदै भनेको थियो।
एकछिन त म के गरौँ के गरौँ पनि भएँ। अनि मैले पनि 'हाई, म लता' भन्दै आफ्नो हात अगाडि बढाएर एकअर्कालाई स्वागत गर्दै परिचय आदान प्रदान गरेका थियौँ।
एकदिन पनि कलेज नछुटाउने म पढेर परिवारको लागि पनि केही गर्नुपर्छ भन्ने मलाई लागिरहन्थ्यो। दिनदिनै कलेज जाने आउने क्रम भइरहेको थियो। कलेजमा मेरो मिल्ने साथी भनेको सुबोध मात्र एक थियो।
अरु त यसो हाई हेल्लो मात्र। काठमाडौँको बसाइ त्यसमाथि आकाशिएको महंगी अनि परिवारको सहयोग गर्ने अवस्था नरहेपछि मलाई आफ्नो पढाइ खर्च, खाना र घरभाडा तिर्न हम्मे हम्मे पर्न थालिसकेको थियो।
त्यो बेला सुबोधले नै उसले चिनेको एउटा कन्सल्टेन्सीमा मलाई काम लगाइदिएको थियो। समय क्रम सँगसँगै हामी एउटा मिल्ने साथी मात्र नभएर हाम्रो मित्रता प्रेममा परिणत भएको थियो।
सुबोध मलाई अत्यन्तै केयर गर्थ्यो। 'कुनै दिन हामी टाढा हुनु पर्यो भने के गर्छौ?' भनेर म उसलाई जिस्काई रहन्थेँ। ऊ भने सिरियस भएर मेरो काँधमा टाउको राखेर 'कदापि हुन दिन्नँ' भन्थ्यो।
मेरो बुवा मुटुको बिरामी हुनुन्थ्यो। बुवालाई केही भयो भने के गर्ने होला भनेर सधैँ परिवारको पिर लागिरहन्थ्यो। म अलि संवेदनशील खालको मान्छे थिएँ।
कहिलेकाहीँ सुबोध 'तिमी अति गर्छौ लता, जिन्दगी जसरी चल्छ त्यसरी नै चल्न दिनु पर्छ, तिमी अनावश्यक टेन्सन किन लिन्छौ' भनी गाली गरिरहन्थ्यो।
कहिले रमाइलो त कहिले दुखका कुराहरु साटासाट गर्दै घुम्न गएका थियौँ। घुमिसकेर नास्ता खाने क्रममा होटलको एक छेउमा रहेको क्यासेटमा ठूलो आवाजमा 'गाजलु ती ठूला ठूला आँखा...' गीत घन्किरहेको थियो।
सुबोधले मलाई मेरो मन पर्ने गाना भनेर क्यासेट तिर इन्कित गर्दै भनेको थियो।
एकदिनको कुरा हो गाउँमा मेरो बाबा अत्यन्तै बिरामी परेर हस्पिटलमा राखेको छ, तुरुन्त मुटुको अप्रेसन गर्नुपर्ने भयो भनेर फोन आयो। 'अप्रेसन नगरे बाबाको ज्यान नै जाने सम्भावना छ रे' भनेर आमाले अप्रेसनको लागि २ लाख चाहिने कुरा फोनबाट रुँदै सुनाउनु भएको थियो।
सायद छोरी जागिरे छे, कतैबाट जोहो गर्न सक्छे कि भनेर होला। मैले आमालाई न आत्तिनु म छु भनेर ढाडस दिएकी थिएँ। साह्रै तनाव भएको थियो मलाई। तर मेरो कमाइले काठमाडौँ जस्तो ठाउँमा घर भाडा र पढाइ खर्चमा नै सकिन्थ्यो।
मलाई त्यो समयमा एकातिर बाबाको स्वास्थलाई लिएर तनाव भएको थियो भने अर्कोतिर कहाँबाट त्यत्रो पैसा जोहो गरौँ भनेर। मैले पनि यस्तो कुरा सुबोधलाई नसुनाइ बस्न कहाँ सक्थेँ र, सुबोधलाई मैले आफ्ना सबै समस्याहरु फोन गरेर नै सेयर गरेको थिएँ।
उसले पनि धैर्य गर्न आग्रह गर्दै फोन राखिदिएको थियो। विचरा सुबोधले पनि त्यत्रो पैसा कहाँबाट ल्याउथ्यो होला र! ऊ जहिल्यै पनि भन्ने गर्थ्यो 'म त निम्न वर्गीय किसानको छोरो हुँ। मलाई परिवारबाट १ रुपैयाँ पनि सहयोग गर्ने अवस्था छैन। एउटा एनजिओमा काम गरेर जसोतसो आफ्नो पढाइ र खाना खर्च निकाल्छु।'
मलाई आफ्नो बुवाको चिन्ताले पिरोली रहेको थियो। मनमा छट्पटी भएको थियो। आमालाई 'मैले पिर नगर्नु म छु' त भनेँ तर यस्तो अवस्थामा म बुवासामु खाली हात कसरी जाउँ? मलाई नमिठो लागिरहेको थियो। यस्तो अवस्थामा पनि मैले केही गर्न नसक्ने भएँ भनेर।
मान्छेलाई दुखको घडीमा साथले पनि हौसला दिन्छ भनेर अन्ततः मैले जे पर्ला पर्ला भनेर गाउँ जाने निर्णय गरेको थिएँ। भोलिपल्ट बिहानै उठेर गाउँ जान भनी बसपार्क तिर लागेकी थिएँ। टिकट लिएर बसको प्रतिक्षामा बसिरहेकी थिएँ म।
त्यतिकैमा सुबोधले पछाडिबाट 'लता' भनेको आवाज मेरो कानमा आएर ठोक्कियो। मैले पछाडि फर्केर हेरेँ, सुबोधले इसारा गरेर मलाई अलि एकान्तकुना तिर लाँदै भनेको थियो।
'बुबाको राम्रो उपचार गरेर चाँडै फर्किनु, म तिमीलाई पर्खिरहेको हुन्छु' भनी पछाडि भिरेको कालो ब्यागबाट हजार हजारको गड्डा जम्मा २ लाख मेरो हातमा थमाइदिएको थियो।
त्यतिबेला मलाई अचम्म लागेर मैले प्रश्न गरेकी थिएँ, 'यतिका पैसा कहाँबाट ल्यायौ हँ?' जवाफमा उसले साथीहरूसँग जोहो गरेँ भनेको थियो।
गाउँ फर्कदै गर्दा बसमा मैले धेरै कुराहरु सम्झँदै आएको थिएँ। कति माया गर्छ सुबोधले मलाई, यति धेरै माया गर्ने मान्छेबाट कहिले पनि टाढा हुनु नपरोस् भन्दै भगवानसँग प्राथना गर्दै फर्किएकी थिएँ। मनमनै मैले सुबोध जस्तो माया, अनि कियरिङ गर्ने साथी मिलाइदिएकोमा धन्य छु प्रभु भनी पुकारेकी थिएँ।
रातभरिको यात्रापछि भोलिपल्ट बिहान म आफ्नो घर नगई सिधैँ बुवा भए ठाउँ हस्पिटल गएकी थिएँ। डाक्टरको सल्लाह अनुसार हस्पिटलको सबै प्रकृयापछि बुबाको अप्रेसन गरिएको थियो।
अप्रेसन सफल भएको ३/४ दिनको हस्पिटल बसाइपछि बुवालाई घरमा ल्याइएको थियो। घरमा ल्याएको भोलिपल्ट बिहान बुवाले मलाई आफू सुतेको ओछ्यानको छेउमा बोलाएर 'मेरो उपचार लागि यति धेरै रकम कहाँबाट ल्यायौ छोरी?' भनेर मेरो कपाल सुम्सुम्याउँदै सोध्नु भएको थियो।
मैले पनि कुनै कुरा नलुकाइकन बुवालाई सुबोधको र मेरो सम्बन्ध अनि सुबोधले गरेको सहयोगको बारेमा सबै भनेकी थिएँ। त्यतिबेला 'ओहो! यतिका पैसा कहिले अनि कसरी तिर्ने' भनेर चिन्ता व्यक्त गर्नु भएको थियो। मैले पनि सुबोध राम्रो मान्छे भएकोले विस्तारै दिँदा पनि हुने कुरा बुबालाई भनेकी थिएँ।
म काठमाडौँ फर्कने दिन पनि अब नजिकै थियो। आमा भने छोरीलाई खाजा हुन्छ भनेर सातु बनाउनको लागि आँगनको एउटा कुनामा रहेको अँगेनामा मकै भुटिरहनु भएको थियो। बुवा र म भने चियाको चुस्की लिँदै टेलिभिजन अगाडि बसेर समाचार हेरिरहेका थियौँ।
समाचार एउटा गतिमा भनिरहेको थियो। समाचारकै क्रममा काठमाडौँमा तीन जना 'डन'लाई प्रहरीले इन्काउन्टर गरेको कुरा भन्दै टेलिभिजनमा फोटो देखायो। फोटो हेरेपछि म छाँगाबाट खसेजस्तै भएँ, जमिन भासिए झैँ लाग्यो।
म केही बोल्न सकिनँ। बुवाले पुलुक्क म तिर हेर्नुभयो र प्रश्न गर्नुभयो 'के भयो छोरी?'
मेरो पनि मुखबाट मात्र 'सुबोध त्यही हो' भन्दै चोर औँलाले टेलिभिजन तिर इन्कित गर्दै देखाएकी थिएँ। किनकि ती मध्ये एउटा फोटो सुबोधको थियो।