कविता
खोलावारि
एउटा वृक्ष
चुपचाप बसेको छ।
बेलाबखतमा उसका जराहरुमा कम्पन आउँछ
कहिले हाँगाहरु काटिन्छन्, ताछिन्छन्
ऊ चुपचाप खोलाको तुइन हेरेर बसेको छ।
तुइन चुँडिएर मान्छे खोलामा पुग्दासम्मको साक्षी बसेको छु भन्छ
उसले रातभरि आँखा भिजायो।
खोलापारि
बाक्ला घरहरु छन्
पातला मान्छेहरु छन्।
तुइनमा चढेर पढ्छु, पढेर ठूलो मान्छे बन्छु
घर फर्कन्छु अनि यो तुइन युगको अन्त्य गर्छु भन्नेहरुलाई
आजसम्म पनि तुइनले कुरिराखेको छ।
खै के के पढ्दा रैछन् आजकालका मान्छेहरु
घर बिर्सने, आमा भुल्ने, बुबाको काँध नसम्झनेहरुले
चौतारो, तगारो त के जान्दछन र?
ओथारो बसेको कुखुरी
आमाले पेवा दिएको पाठो
करेसाको मेवाको बोट
गोठको गाईको बाच्छी
पैँयु बोटेकी कान्छी छोरी
मामाघरकी हजुरआमा
सबैलाई बिर्सन सक्ने
मान्छेको मनै पो रहेछ
गाउँसहर त खाली बहाना हुने रैछन्
पढाइ लेखाइ त पैसाको लागि हुने रैछ।
आजसम्म
यो तुइन फेर्न सक्ने गरी
कसैले कमाएको रहेनछ।
बरु
ऊ आज आफ्नो थातथलोको मूल्य
यही तुइनको कारणले चिन्तित छ।
तुइन
आफै आत्महत्या गर्न चाहन्छ
तर उसलाई के थाहा?
अझै केही वर्ष
उसको नाम मान्छेको मृत्युसँग जोडिनेछ।
अनि
भोट माग्न आउनेहरुको
चुनावी नारा पनि त बन्नु छ।