बिहानी रिमरिममा
भालेको डाँकसँगै खुलेको आमाको निद
हाँडीमा कप्टेरोको किरिङकिरिङ आवाजसँग
पड्कियो मकै, बुटुटु उठ्यो फुलौरा!
आमा भन्दै हुनुहुन्थ्यो-
बाबु उठ्!
एक घान सक्कियो।
समाचार छ,
सहरमा आज नारी दिवस रे!
कालो किट्लीमा भोरी च्या
सिलाबरको मगमा एक मग हाली
एक फाँको मकै र एक घुट्कि च्यापछि
'बा' उठ्नु भो
आङ तान्दै पटुकीमा सिरुपाते खुकुरी भिरेर
नाम्लो काँधमा बोकेर
'बा' भन्दै हुनुहुन्थ्यो-
दुदुखोला पुग्नु छ आज
वाक्सिमारेमा घाँस सक्कियो।
समाचार छ,
सहरमा आज श्रमिक दिवस रे!
लौरो टेक्दै
लौरो जस्तै कुप्रिएको ढाडसँगै
हजुरबा खोक्दै खकार्दै अँगेनामा
पिँडुला सेक्दै
सातु र नुन च्या सुरुप्प पारी
भन्दै हुनुहुन्थ्यो-
पोहोर सालभन्दा
यसपालि जाडो
औधि बढेछ।
समाचार छ,
सहरमा आज जेष्ठ नागरिक दिवस रे!
हातपाउ थरथर कमाउँदै
पोल्टामा हँसिया भिरेर
एक अँगालो दाउरा बलेसीमा बिसाउँदै
जोर लौरी टेकेर
हजुरमा भन्दै हुनुहुन्थ्यो-
खुइयऽऽऽ
कस्तो हात बाउँडिएको
अब त मस्ति गलेछ।
समाचार छ,
सहरमा दर्जनौं वृद्धाश्रम खुले रे!
डोकामा एक निम्ठो
घाँसको भारी छाँदेर
थाप्लोमा नाम्लो हाल्दै
कान्छी काकी
भन्दै हुनुहुन्थ्यो-
दूध चुस्न नपाएर
नानी रोइसक्यो होला
नानीका बाको फुन आउँछ
आज मलेसियाबाट
मेरो त भारी पुग्यो।
समाचार छ,
सहरमा कैयौँ म्यानपावर कम्पनी खुले रे!
रेडियोमै कान थापेर
साइँला बडाउ
सुन्दै थे, नेताजीको भाषण-
सदरमुकाममा नेताजीको बडेमानको शालिक बन्यो रे!
मन्त्री ज्यु आज सवारी हुने रे!
बजारको भ्युटावर उद्घाटन गर्ने रे!
पिएम ज्यु भन्दै थिए
यसपालि त करोडौं रेमिट्यान्स भित्रियो रे!
समाचार छ,
आज बाकसमा सात जवान विमानस्थलबाट भित्रिए रे!
टेलिभिजन हेर्दै
माडसाब चस्मा खोलेर
भन्दै हुनुहुन्थ्यो-
माडसाबले पढाको
विद्यालयमा निजी लगानी
अचाक्ली भित्रियो रे!
समाचार छ,
अभिभावकसँग बच्चा पढाउने खर्च छैन रे!
समाचार,
समाचार,
समाचारै समाचार छ,
जताततै,
देशले (सहरले) कोल्टे फेर्यो रे!
'गाउँ त अझै बेखबर छ।'