मेरो नाम कमला श्रेष्ठ, सबैले मलाई कमली भन्छन्। स्कुलको हाजिर कापीमाबाहेक म कमला कहिल्यै भइनँ।
मलाई थाहा छ मेरो नाम फूलको नाम हो, जो हिलोमा फुल्छ। सबैले कमललाई सुन्दर फूल भन्छन् मलाई पनि भन्छन् कि! तर मेरो अगाडि कसैले भनेको छैन। म चाहन्छु कसैले मलाई भनोस् म त्यो दिनको प्रतीक्षामा छु।
म छोरी हुँ, आमा हुने जातिकी पनि हुँ। तर म आमा हुने जातिकी मात्र रहेछु , सबैले मलाई ‘तँ आमा हुन सक्दिनस्’ भन्छन्।
मेरी आमाले पनि भनेकी थिइन् ‘तँ आमा हुन सक्दिनस्’ भनेर। उनलाई गुमाएको पनि वर्षौं भएछ। म चौध वर्षकी थिएँ जब मेरी आमाले मलाई कुनै डाक्टरकोमा लगेकी थिइन्।
डाक्टर कस्तो थियो मलाई याद छैन धेरै पहिलेको कुरा हो नि त। मलाई मात्र याद छ उसले आमालाई तपाईंकी छोरी कहिल्यै महिनावारी हुँदिनन् भनेको अनि आमा सुकसुकाएको। त्यस बखत मलाई केही लागेन मलाई थाहा थिएन महिनावारी नहुनु आमा नहुनु हो भनेर।
केटाकेटीमा भाँडाकुटी खेल्दा पनि म सबैकी आमा हुन्थें, मेरा साथीहरूले मलाई आमा भनेर बोलाउँदा खुसी हुन्थें। म आमा भएको सपना देख्थें। म केटाकेटीदेखि नै चाहन्थें म पछि गएर केही नभए पनि आमा पक्कै बनूँ।
मेरा केटाकेटीहरू मेरा अगाडि झुम्मिऊन्, म उनीहरूलाई अगाल्न सकूँ। तर कस्तो बिडम्बना म आमा हुने जातिकी मात्र भएर जन्मे तर आमा कहिल्यै हुन नसक्ने परेँ।
मलाई महिनावारीप्रति त्यति धेरै चासो छैन र अनुभव पनि छैन। तर त्योबिना म आमा बन्न सक्दिनँ भन्ने थाहा पाएपछि मलाई असाध्यै रिस उठ्छ आफूसँग, भगवानसँग र आमासँग पनि।
उनी बाचुन्जेल सधैं महिनावारी भइन् तर मलाई कहिल्यै नहुने जन्माइन्। मलाई यसप्रति खुब आपत्ति र क्रोध छ। तर मरिसकेकी आमालाई यस्तो भन्नु राम्रो त होइन, दु:ख पनि लाग्छ। अरूको झै मेरो योनीमा मैले रगत कहिल्यै देखिनँ, मलाई थाहा छैन त्यस्तो हुँदा कस्तो महसुस हुन्छ।
म त्यो अनुभूति एकपटक भएनि गर्न चाहन्छु। म छोरी मान्छे हुँ तर मसँग स्तन र योनीबाहेक छोरी मान्छे हुनुका केही अनुभूति छैनन्।
मलाई कहिलेकाहीँ आफ्नै स्तन देखेर पनि रिस उठ्छ आमा हुन नसक्नेलाई यो स्तनको के महत्व ?
मेरा प्राय: सबै साथीहरू आमा भैसकेका छन्। म उनीहरूलाई देख्दा लोभिन्छु। उनीहरूका काखे बालकहरू देख्दा यस्तो लाग्छ म उनीहरूका केटाकेटीहरूलाई चोरू र आफैंसँग राखूँ, तर म त्यस्तो गर्न सक्दिनँ।
हुन त आमा गुमाएपछि म घरकी आमाजस्तै भएकी छु। मेरा भाइबैनीहरूलाई मैले नै हुर्काएकी हुँ।
उनीहरूकै लागि मैले दश कक्षाभन्दा बढी पढिनँ। तर पनि उनीहरू मलाई आमा भन्दैनन्, म कसैले आमा भनेको सुन्न चाहन्छु। कहिलेकाहीँ लाग्छ आमाजस्तै हुनु र आमा हुनु फरक रहेछ।
म उनीहरूलाई माया त गर्छु सायद आमाले जतिकै तर मलाई थाहा छैन दश महिना कोखमा राख्दा कस्तो हुन्छ , आफ्नै स्तन चुसाउँदा कस्तो हुन्छ। म चाहन्थें र अहिले पनि चाहन्छु म सम्पूर्ण रूपमा आमा बनूँ जो सम्भव छैन।
गाउँलेहरूले मलाई बाँझी त भन्न सक्दैनन् तर कमलीको जस्तो भाग्य कसैको नहोस् भन्दा धिक्कार लाग्छ आफैंसँग।
आमा भएको भए यो सुनेर रुन्थिन् होला तर अब त रोइदिने पनि कोही छैन। भाइबैनीले माया त गर्छन् तर आमालाई जसरी होइन दिदीलाई जसरी। कहिलेकाहीँ लाग्छ उनीहरूले पनि अरूका छोराछोरीले झै मलाई आमा भनेर बोलाऊन्। तर म भन्न सक्दिनँ आमाले जसरी हक जताउन पनि सक्दिनँ।
मलाई अरूको लोग्ने देखेर कहिल्यै इर्ष्या लागेन। म कसैकी स्वास्नी नभएकोमा मलाई कुनै गुनासो पनि छैन। यदाकदा साथीहरूले सोध्छन् , ‘तँ बिहे नभएर दुखी छस् ?’ म सधैं भन्छु ‘म छैन’।
तर बिरलै सोध्छन् ‘अनि आमा नभएकोमा नि’।
‘हो म आमा नभएकोमा दुखी छु।’
म छोरी मान्छे भएको पूर्ण अनुभूत गर्न चाहन्छु। मलाई लाग्छ आमा हुन पाउनु एउटा छोरी मान्छेको नैसर्गिक अधिकार हो। म त प्रकृतिबाट नै ठगिएकी रहेछु। यदाकदा भ्रुण हत्याका समाचार सुन्छु यस्तो लाग्छ ती भ्रुणहरूको हत्या नगरी मलाई दिएको भए पनि हुने नि!
तर संसार अचम्मको छ। उनीहरू नजन्मेका बालखहरूको पनि हत्या गर्छन्।
आमा हुनुको महत्व तबमात्र थाहा हुने रहेछ जब तपाईं आमा हुन सक्नुहुन्न। म आमा बन्न तड्पिएकी छु। सायद यो मातृत्वको भोक होला। यस्तो भोक जो सधैं मसँग रहनेछ जीवनभर।
स्त्री हुनुको अनुभूति आमा हुनु बेगर अपूर्ण रहेछ। म अपूर्णताको अर्को पर्याय बनेकी छु। कहिलेकाहीँ यस्तो लाग्छ कुनै दुधे बालक आमा भन्दै मेरो छेउ आओस् र मलाई पूर्ण बनाइदियोस्, म आमा बन्न सकूँ।