जबसम्म यो अनुहारमा भूकम्पले चिराचिरा भएको जमिनमा जस्ता रेखाहरू कोरिएका थिएनन्, मैले यो कुरा कहिल्यै पनि अनुभव गरिनँ, सोचिनँ, सायद सोच्न जरूरी पनि थिएन। तर आजकाल हरेक क्षण मन काँपिरहन्छ, आँखामा कंचेरा लागिरहन्छन् र दिमाग हरबखत खलबलिरहन्छ।
आफू कहिले जन्मिएको हुँ, थाहा छैन तर अब यो निश्चित छ कि मृत्यु भने एकदमै नजिकै छ।
सायद जिन्दगी जिउने दौरानमा मैले यो बिर्सिएको थिएँ कि मैले कुनै दिन मर्नु पनि पर्छ। जबसम्म मेरा हातहरू चल्थे, जबसम्म मेरो बोलीमा दम थियो, सायद यमराज पनि डराउँथ्यो मसँग। तर आजकाल हातहरू काप्न थालेका छन्, बोलीमा दम हैन सास नै रोकिने दम रोगले चेपेको छ र लाग्छ यमराज यतैकतै घुम्दै छन् र मलाई कमजोर बनाएर लैजाने दाउ हेरेर बसेका छन्।
सायद पन्ध्र वर्षको थिएँ होला जब मैले पहिलो पटक यो काम थालेको थिएँ। गिट्टी कुट्ने। मैले जिन्दगीमा गरेको पहिलो काम थियो यो जसले मलाई संसारमा बाँच्नलाई अनिवार्य ती कटकटाउँदा नोटहरू हातमा पारिदिएको थियो।
एकान्तमा गएर मैले ती नोटलाई मज्जासँग सुँघेको थिएँ। एउटा अनौठो वास्ना थियो ती नोटहरूमा। किन किन मलाई त्यो वास्ना अत्यन्तै मन पर्न थाल्यो। त्यो वास्नामा एउटा अद्धभुत क्षमता थियो कि त्यसले संसारका हरेक वासनाहरू खरिद गर्न मिल्थ्यो।
त्यही नै पहिलो क्षण थियो होला जसले मलाई त्यो नोटको वास्नासँगै संसारका अनेकौ वासनाहरूसँग परिचित गरायो। मलाई जसरी भए पनि बढीभन्दा बढी वास्नादार नोटहरू जम्मा गर्नु थियो। भनौं म त्यो वास्नाको उन्मादमा निर्लिप्त भएको थिएँ र केबल मेरो एक इन्द्रिय सक्रिय थियो जसले ती नोटको वास्ना जानोस् र मेरा सम्पूर्ण अन्य इन्द्रियहरूले काम गर्न छाडेका थिए।
जीवनमा मैले कयौं वास्नाहरू उपभोग गरेँ, कयौं चाहेर पनि गर्न सकिनँ र कति वास्नाहरू त मेरा चाहनाभन्दा पनि माथि थिए होलान्।
गिट्टी कुट्ने, गाह्रो लगाउने, ढलान गर्ने , रोडा बालुवा सिमेन्ट इत्यादिको काम सिक्दै गएँ, वासनादार नोटहरू जम्मा गर्दै गएँ, खर्च गर्दै गएँ, कयौं वासनाहरू अनुभव गर्दै गएँ। पाखुरा डढेर काला भए, हात पाखुरामा मासु डल्ला पर्न थाले र मेरो जोस जाँगर बढ्दै गयो।
संसार मलाई एउटा रंगीन रंगमञ्च जस्तो लाग्न थाल्यो। कति रंगमञ्च गएँ, ती नोटका वासनाहरूसँग अनेकौ वासनाहरू साटेँ। जिन्दगीदेखि मैले के चाहेको छु वा मबाट कसैले केही चाहेको छ भन्ने कुनै पनि कुरामा मेरो ध्यान थिएन।
निन्द्राका लागि कहिल्यै संघर्ष गर्नु परेन। चाहे भन्दा अगाडि नै निन्द्राले मलाई समात्थ्यो। पेटभरि खान पुगेपछि हातमा कहिल्यै बलको कमी भएको महसुस भएन। तर सधैं एउटा कुराको भने कमी भएझैं लाग्थ्यो र त्यसैको निम्ति दिनरात म खटिरहन्थे – ती वासनादार नोटहरू।
साँच्चै कति असल थिए ती। सहरमा के आउँदैन थियो र त्यसले ? क्षणभरमै बेहुलो जस्तो भइन्थ्यो, क्षणभरमै होटलवालाको “सर” भइन्थ्यो । क्षणभरमै भट्टिवालीको प्रिय बनिन्थ्यो, क्षणभरमै उनको राजकुमार बनिन्थ्यो, क्षणभरमै कलिलो जवानीको मालिक भइन्थ्यो। साला कुनै यस्तो वासना थिएन यो सहरमा जुन ती नोटले किन्न नसकून्।
जब काम सक्थेँ म मेरा कटकटाउँदा नोटहरू लिएर सहर पस्थेँ र विभिन्न वासनाहरूको मजा लिन्थेँ। ती पसलका हरेक बोतलमा फरक फरक वासना थियो, हरेक पसलमा पनि फरक वासना थियो, हरेक कोठा कोठामा फरक वासना थियो, हरेक गल्ली, सडक या भनौं हरेक ठाउँका वासनाहरू फरक थिए।
हुनत आज पनि सबै उस्तै छ सहरमा तर मसँग केबल वास्नादार नोटहरूको कमी छ र ती पाउनका लागि चलाउने मेरा हातहरू अब चल्दैनन्।
जीवनकालमा मैले सयभन्दा धेरै घरहरू बनाउन धेरै ठाउँमा काम गरेँ। तर कहिल्यै पनि म त्यो आलिसान महलमा बस्न पाइनँ। सधैं जस्ताको छानो र अस्थायी टहरामा जिन्दगी बिताएँ, बिताउँदै छु। बस्न मन नभएर हैन नपाएर र आज आएर यो अँध्यारो कुनामा सोच्छु, जिन्दगीका पानाहरू पल्टाउछु र हेर्छु मलाई दुनियाँले कहाँ र कहिले याद गर्ला ? मेरो अस्तित्वको वारेमा दुनियाँमा क-कसलाई चासो होला ? मैले बाँचेको र मैले बिताएको समयको यो दुनियाँमा कतै लेखाजोखा होला कि नहोला ? मलाई लाग्दैन मलाई कसैले याद गर्नेछन्।
म हुनु र नहुनुमा दुनियाँलाई सायदै केही फरक पर्ला। मेरा छोराहरू जो अहिले मेरो जस्तै वास्नादार नोटहरू जम्मा गर्न र सहरका वासनाहरू लुट्न व्यस्त छन्। उनीहरूलाई पनि मेरो अनुपस्थितिले फरक पार्दैन।
अहिले सम्झन्छु जब मेरा बुवा मजस्तै जीवनको अन्तिम क्षणमा थिए, मैले प्रार्थना गरेको थिएँ भगवानसँग बुवाको मृत्युको लागि किनकी मेरा लागि उनी बाँच्नु भनेको मेरा नोटहरू धेरै खर्च हुनु थियो जुन अहिले मेरा छोराछोरीले गर्दैछन्। र पछि उनी बितेर गएपछि न त उनको अस्तित्वको बारेमा कसैले सोध्यो न त कसैले समवेदनाका एक दुई शब्द नै खर्चे। इतिहासकै एउटा गुप्त मृत्युवरण गरेका थिए उनले र म आज त्यही सीमानाको नजिकै उभिएर आफैंलाई नियाल्दै छु।
मैले बाँचेको सार्थकता के त? म पन्ध्र वर्षको हुँदा मरेको भए अझ गर्वमै तुहिएको भए पनि यो दुनियाँलाई केही फरक पर्दैन थियो र न त अहिले मर्दा नै फरक पर्छ।
अहिले आएर लाग्छ ती वास्नादार नोटले सबथोकलाई थिचेको छ। बुवा छोराको नाता, आमा छोराको नाताभन्दा पनि प्यारो नाता छ ती नोटहरूसँग जसका लागि मैले आफ्नै बुवाको मृत्यु मागेको थिएँ।
यदि मसँग प्रशस्त ती नोटहरू हुन्थे भने आज म यसरी चिसो भुइँमा मृत्यु कुरेर बस्नु पर्दैन थियो होला।
मेरा अगाडि पछाडि सेवकहरू हुन्थे होलान्, मृत्युपश्चात पनि म मलामीहरू किन्न सक्थें होला र मेरो शोकमा रुने मानिसहरू पनि हुन्थे होलान् ।
तर अपसोच मेरो मृत्युसँगै मेरा छोरा केही हदसम्म खुसी हुनेछन् मेरो बोझ घटेकोमा। बुवाको माया नलाग्ने भएर त हैन होला तर यो वास्नादार नोटहरू जम्मा गर्न भौंतारिएको बोझमा त्यो माया कहाँबाट देखाउन सक्नु, जन कुरा मैले भोगिसकेको छु।
सानो छदाँ मलाई कसैले “बुवा मेरो माया लाग्छ कि लाग्दैन” भनेर सोध्यो भने म त्यो मान्छेले मलाई चकलेट दिएको छ कि छैन भनेर सम्झन्थेँ।
यदि दिएको थियो भने माया लाग्छ भन्थेँ, थिएन भने लाग्दैन भन्थेँ।
हो अहिले पनि त्यस्तै छ यहाँ। बस् चकलेटको आकार प्रकार परिवर्तन भएको छ, मूल्य परिवर्तन भएको छ र अहिले मानिसहरू विचार गर्छन् कि यसले कत्रो चकलेट मलाई दिएको थियो भनेर।
साँच्चै दुनियाँमा यदि यो वास्नादार नोट हुन्थेन भने माया गर्ने तरिका पनि फरक पथ्र्यो होला। मैले बुवाको मृत्युको लागि प्रार्थना गर्नु पर्दैन थियो होला र जिन्दगीभर जुन कुराको लागि संघर्ष गरें अन्तिममा त्यसैको अभावमा छट्पटिनु पर्दैन थियो होला।
बस् ! यहाँको दुनियाँ बुझ्न मलाई पुग्यो। अब त यसपछिको दुनियाँ बुझ्नु छ र त्यसका लागि म अब तयार छु र मनमनै पुकार गर्छु कि कम पीडामै मृत्युवरण गर्न पाऊँ र मेरा छोराहरूलाई तिनै नोटका लागि नातिहरूले मृत्युको प्रार्थना गर्नु नपरोस्।