दिलमाया आज निकै खुसी देखिन्छे। हुन पनि किन नहोस्? लामो समयदेखि छुट्टिएर बसेको परिवार भोलि एकसाथ जुट्दै छ।
पाँच छोराहरू भएर पनि ऊ यो घरमा एक्लै बसेको धेरै भइसक्यो। तर यसरी एक्लै बस्न परेकामा ऊ पटक्कै दुखी छैन। किनकि उसका छोराले उसलाई त्यसै एक्लै छाडेर हिँडेका होइनन्। न उनीहरू बरालिएर नै हिँडेका हुन्।
उनीहर सबै आफ्नो काम विशेषले आ–आफ्ना कर्म क्षेत्रमा छन्। बेला बेलामा आमालाई भेट्न आइरहन्छन्। छोराहरूले उसलाई असाध्यै माया गर्छन्। आमालाई मात्र होइन, उनीहरू एकअर्कामा पनि प्रेम उत्तिकै छ।
आज दिलमाया र उसका छोरा देखेर गाउँमा उनको इर्ष्या गर्नेको पनि कमी छैन। गाउँमा उनको चर्चा नै हुन्छ– दिलमाया कति भाग्यमानी! कस्ता ज्ञानी र लायक छोराहरू! बाउ सानैमा मरेर गए पनि सब एक से एक। कोही बिग्रिएका छैनन्!
तर कुनै समय यस्तो थियो, गाउँभरिकाले उसलाई 'अगाभी आइमाई' को संज्ञा दिएका थिए। जति बेला उसको लोग्ने मानबहादुरले उसलाई एक्लै छोडेर यो संसारबाट एकाएक बिदा लिएर गएको थियो।
आठ वर्षदेखि पाँच महिनासम्मका लालाबालाकी एक्ली अभिभावक बनेकी दिलमाया आफैं जम्मा २७ वर्ष थिई। उसले पाउनुसम्मको दुःख पाई। मानबहादुर बितेको दुई–चार दिन गाउँले-आफन्तले अलि माया गरेजस्तो देखाए। काजकिरिया सकिएपछि कसैले फर्केर हेरेन। स्वार्थी दुनियाँ त हो!
अझ कतिले 'तेरो लोग्नेले यति ऋण लिएको, यति उधारो लगेको थियो, अब मरेर गैहाल्यो' भनेर टोकसिरहन्थे।
आफ्ना सन्तानको मुखमा माड लगाउन नसक्दा कुनै दिन दिलमायाले सबै छोरालाई लिएर घोप्टे भिरबाट फाल हान्दिऊँ कि भन्ने सोच पनि बनाई। तर हिम्मत नहारी जसोतसो जिन्दगी घिसार्दै अघि बढाउँदै लगी।
सम्पत्तिका नाममा एक टुक्रा पाखो बारी, दुइटा बाख्रा अनि एउटा पानी चुहिने छाप्रो। त्यसैसँग खेल्दै दुःखजिलो गरी, मेलापात धानेर छोरा हुकाउँदै लगी। जिन्दगीको बीच भवरमा लोग्नेले एक्लै छाडेर गएको नाउ आफ्नो रगत-पसिना बगाएर विस्तारै विस्तारै किनारा लगाउँदै गई।
सानै भए पनि उसका छोराले काममा सघाउन थाले। अर्काको मेलापात भ्याउनुपर्दा पनि छोराले पढ्न छाडेनन्। घरमा धेरै दुःख भएकाले जेठोले चाहिँ धेरै पढ्न सकेन। जेठो भएकाले भाइहरूको जिम्मेवारी पनि केही हदसम्म उसको काँधमा पर्यो। अरू छोराले भने पढाइ पूरा गरे।
अहिले कुनै छोरा गाउँमा छैनन्। जेठो काठमाडौं कारखानामा काम गर्छ। माइलो प्रहरीमा छ। साइँलो देशको सिपाही भएको छ। काइँलो छोरा चाहिँ के काम गर्छ, त्यति राम्रो थाहा छैन उसलाई। समानता, हक अधिकारका कुरा अनि दिलमायाको दिमागले नभ्याउने अचम्म अचम्मका कुरा गर्छ ऊ।
तर दिलमायालाई विश्वास छ, ऊ नराम्रो बाटोमा पक्कै लागेको छैन। किनकि गाउँको स्कुलमा पढ्दा पनि ऊ कक्षामा अब्बल थियो। शिक्षकहरूले 'यो साह्रै बुद्धिमान छ दिलमाया, तिम्रो यो छोरो चाहिँ भोलिपर्सि ठूलै मान्छे हुन्छ है' भन्थे। उसले आमालाई पनि साह्रै माया गर्थ्यो।
उसको कान्छो छोराले पनि यसपालि राम्रो नम्बर ल्याएर एसएलसी पास गर्यो। त्यसैले आफूले धेरै नपढे पनि भाइलाई क्याम्पस पढाउँछु भनेर ठूलेले उसलाई आफूसँग काठमाडौंमै राखेको छ।
दिलमायालाई आज के गरौं कसो गरौं भइरहेको छ। उसका छोरा आउने कुराले ऊ यति गदगद छे, उसलाई आज भोक पनि लागेको छैन। ऊ आफ्ना लागिभन्दा पनि भोलि छोराहरूका लागि मिठो लाग्ने के पकाऊँ भन्ने धन्दामा लागेकी छे। उसको साइँलो छोरालाई कुराउनी असाध्यै मन पर्छ। कराइमा दूध पकाउँदै ऊ मनमनै हर्षित हुँदैछे।
हुन पनि कस्तो संयोग परेको, यसरी एकैचोटि त दशैंमा पनि भेट नभएको कत्ति भइसक्यो। कुनै दशैंमा माइलोको ड्युटी छोड्न नमिल्ने, कुनैमा साइँलोको। साइँलोको मुख नदेखेको त लगभग तीन वर्ष भइसक्यो। अब प्रहरी र सेनाको आमा भएपछि यस्तै त हो नि।
यसपालि भने अचम्मै भयो। आआफ्ना हिसाबले छुट्टी मिलाएर आउँदा पनि घर आइपुग्ने दिन एकै दिन परेको।
दिलमाया कुराउनी घोट्दा घोट्दै सोच्न थाली, 'आ...यसपालि त जेठो छोरालाई मनाएरै छोड्छु। जहिले पनि बेला भएको छैन, घरको व्यवस्था हुन दिनुस् भन्छ। अब त कान्छो पनि क्याम्पस पढ्ने भइसक्यो। सबै कमाउने छन्। के व्यवस्था हुनुपर्यो। यसपालि जेठोको बिहे नगरी छाड्दिनँ। जसरी पनि मनाउँछु त्यसलाई। भाइहरूलाई पनि भन्न लगाउँछु।'
उसले केटी पनि हेरिसकेकी छ। ऊ मनमनै गुन्दै गई, 'पल्लो गाउँको बमबहादुरकी छोरी साह्रै राम्री र स्वभावकी छे। मेरो जेठोलाई असाध्यै सुहाउँछे।'
दिलमाया कल्पनाको संसारमा डुब्दै गई। उसका घरका आँगनमा छमछम चुरा बजाउँदै हिँडेका बुहारी अनि नांगै दौडिँदै गरेका नातिनातिनाको धुमिलो आकृति आँखाअगाडि सल्बलाउन थाल्यो। उसका रंगीन सपनासँगै कति बेला ऊ झिमिक्क भई, उसले पत्तै पाउन सकिन।
'आमा ए आमा' भन्ने स्वरले ऊ झसंग भई।
'आम्मै कस्तो निदाएछु म त, लौन जेठो त आइसकेछ पो त। हेर झलमल्ल घाम पनि लागिसकेछ। राति धेरै बेरसम्म निद्रा लागेन, बिहान कस्तरी निदाएछु' भन्दै हतार हतार उठेर दिलमाया दैलोतिर लागी।
दैलो उघारेर हेर्दा पो उसले थाहा पाई उसलाई आमा भनेर बनाउने त पल्ला घरे बले पो रहेछ। जेठोको बच्चादेखिको साथी, सहरमा पनि सँगै काम गर्छ।
'ए बले, अनि जेठो खोइ त' भन्दै दिलमाया पिँढीबाट आँगनतिर लागी।
आँगनको दृश्य दिलमायाले के हो भनेर ठम्याउन सकिन। वरिपरि गाउँभरिका मान्छे भेला भएका, कोही खासखुस गर्दै केही मुखामुख गर्दै। भिडबाट विभिन्न गाइँगुइँ आइरहेको थियो।
'होइन के भएछ?'
'के हुनु नि काठमाडौंमा नेपाल बन्द भनेर गाडी, मोटर केही चलेको थिएन रे। एक्कासि भाइ चाहिँ पेट दुख्यो भनेर छटपटाउन थालेछ। अस्पताल लैजाने केही साधन नपाएर घरबेटीको मोटरसाइकलमा भाइलाई अस्पताल लैजान लाग्या रहेछ। नेपाल बन्दमा मोटरसाइकल चलाएको भनेर एक हुलदंगाले मोटरसाइकल ढालेर जलाइदिएछन्। घरबेटीको मोटरसाइकल, त्यही पनि भाइलाई अस्पताल लैजान लागेको बेलामा यस्तो गरेको भनेर कराउँदा बिचरालाई कुटी कुटी मारेछन्। उता भाइ त्यही सडकको पेटीमै छट्पटाएर मरेछ। यो तीन दिन अगाडिको कुरो रे।'
अर्को कुनामा अर्कै खासखुस चल्दै थियो।
'बिचरा दिलमायाको माइलो र साइँलो त दुवै माओवादीको हमलामा परेछन् नि! माइलो कालिकोटको प्रहरी चौकीको बम विष्फोटमा परेको रैछ। साइँलो चाहिँ दोरम्भाको सेना र माओवादीको दोहोरो भिडन्तमा मारिएछ।'
त्यसैगरी पिँढीको कुनामा अर्को साउती हुँदै थियो।
'लौन कस्तो थाहै नहुँदो रहेछ बाबै, दिलमायाको काइँलो त माओवादीको लडाकु पो रहेछ नि त। उसको गिँड मात्रै छ, टाउकै छैन नि। हिजो राति हाम्रै तल गाउँको जंगलमा पनि भिडन्त भा रैछ। भिडन्तमा मारिएछ। अनि पुलिस-सेनाले चिन्छ भनेर उनीहरूकै मान्छेले टाउको काट्दा रहेछन् रे।'
'दिलमायाको काइँलो त ६ अम्ले थियो नि। अनि आफ्नै गाउँको मान्छे, त्यै पनि छ अम्ले चिन्दैनन् त! अनि खै कसकसले बोकेर ल्याइदिएछन्।'
आँगनभरि यस्ता खासखुस चलिरहेको छ। प्रहरी भए पनि, सेना भए पनि, माओवादी भए पनि, साधारण कामदार भए पनि, विद्यार्थी भए पनि, मारिने त सबै दिलमायाकै छोरा थिए।
दिलमाया पिँढीको छेउमा बसेर एकोहोरो टोलाइरहेकी छे।
हिजो कल्पनामा उसका बुहारी अनि नातिनातिनाले सजिएको त्यो घरको आँगन आज यथार्थमा उसकै छोराहरूका लासले भरिएको छ।