बोल्नेहरु काम गर्दैनन्
काम गर्नेहरु बोल्दैनन्
जस्को सृजनशीलता
ज्यामी माहुरीहरु जस्तै हुन्छ
उनीहरुलाई खुराफात आउँदैन
खुरुखुरु काम मात्रै गर्छन्
उनीहरुकै श्रमले संस्थाको साख जोगिन्छ
जो तथ्य सूचनाका पक्षपाती हुन्
परिवर्तनका संवाहक हुन्
तर, उनीहरु विरुद्ध जालझेल भइरहन्छ
त्यो पनि आफ्नै भन्नेहरुबाट
जस्ले राजनीतिको क्याप लगाएका छन्
व्यापारीको जुत्तामा उभिएका छन्
तस्कर र प्रशासनसँगको हिमचिमले
लाइफ ज्याकेट लगाउँछन्
यो स्वार्थी जमातमा उनकै बोलवाला छ
उनै वरिष्ठ पत्रकार कहलिन्छन्
जस्लाई अगाडि आशन र भाषण चाहिन्छ
जस्ले कहिलै समाचार लेख्नु पनि पर्दैन
बरु श्रमजीवीका बिरुद्ध
मालिकलाई कुरा लाए पुग्छ
चोचोमोचो मिलाउँदै
फेसबुक वालमा
फोटो पोष्टिए पुग्छ
कहिले मालिकको
कहिले मालिक्नीको
कहिले उनको कुकुरको
स्तुति गान गाए पुग्छ।
तिनै मध्येका केही हरेक निर्वाचनमा आउँछन्
श्रमजीवीको हक हितका डंका पिट्छन्
अनेक झुठा आश्वासन बाँड्छन्
जो कहिलै पूरा गर्न लाग्दैनन्
बरु निर्वाचनपछि
फरक रबाफ देखाउँछन्
नयाँ सामन्तका रुपमा खडा हुन्छन्
ती पुगेको ठाउँमा भव्य स्वागत चाहिन्छ
श्रमजीवीको खुन पसिनाबाट
दारु पानीको उचित व्यवस्था गरिनु पर्छ
नत्र उनीहरु टार्गेटमा पर्न सक्छन्
भनसुनबाट जागिर खोसिन सक्छ
त्यसैले आफ्नो स्वार्थका लागि
संस्था दाउमा लाउने चिटरहरु हैन
अब श्रमजीवीका पक्षमा काम गर्ने
इमान्दार नेतृत्वको खोजी हुन आवश्यक छ
नत्र महासंघ श्रमजीवी पत्रकारका लागि
काँचो पिँडालु सावित हुनेछ
जो निल्नु र ओकल्नु समान हुनेछ।