मध्यरात
कालो क्यानभासमा
घामको चित्र कोरेर
दिन घोषणा गर्नेहरूलाई सलाम छ।
मध्यदिन
शुभ्र प्रकाशमा
फरेवको कालो पोतेर
रात घोषणा गर्नेहरूलाई पनि सलाम छ।
रातलाई दिन
अनि दिनलाई रात घोषणा गरिरहँदा
करतल ध्वनी सहित टेबल बजाउँदै
'हुन्छ' भन्ने टाउकाहरूलाई सलाम छ
विवेक बन्धक राखेका
यी 'हुन्छ बहादुर' छान्ने
हाम्रै हातहरूलाई पनि सलाम छ।
यिनकै पौरखले आजभोलि
दिनहरू
आफूलाई रात ठानिरहेछन्
अनि रातहरू
'घामका चित्र' हरुलाई नै सूर्य ठानेर
दिग्भ्रमित छन्।
आजभोलि धर्तीको यो पाटोमा
सखारै रात पर्छ
अनि गोधुलीमा सूर्य उदाउँछ।