लेक ओन्टारियोको किनारमा लमतन्न पसारिएको थियो ब्लफर पार्क। यही पार्कको पश्चिमपट्टि थुप्रै मान्छेहरु लाइट हाउस तर्फ जाँदै थिए।
भिडमा प्रायजसो उमेर ढल्केका मान्छेहरु थिए। सबैले मुखमा मास्क लगाएका। लामो लामो सेतो पहिरन गरेका। टाढाबाट हेर्दा लाग्थ्यो कि यो भिड कतै मुर्दा घरतिर जाँदै छ।
सबैको हिडाइको चाल उस्तै। बीच बीचमा कोही रोएको आवाज आउँथ्यो। ढल्किँदै गएको प्रहरसँगै रापिला घाँम पनि डुबुल्की मार्ने जमर्को गर्दै थियो।
लेकको अर्कोपट्टि थुप्रै जोडीहरु सर्वाङ्ग नग्न अवस्थामा बालुवामा लमतन्न पसारिएका थिए। केही मान्छेहरु पानीमा छ्यापा छ्याप पनि गर्दै थिए।
बालुवामा टावेल बिछ्याएर कैयौँ जोडीहरु नग्न शरीर घाममा सुकाइरहेक थिए। रसिला, कसिला र पोटिला अर्धनग्न केटाकेटीहरु स्वछन्द वातावरणमा पुरै डुबुल्की मारेका थिए।
म पोप्लरको रुखमुनि बसेर दुवै तिरको गतिबिधि हेर्दै थिएँ। सानो लोखर्केले मेरो खुट्टामा पुच्छरले हानेर नजिकैको झाडीभित्र छिर्यो। मैले निकै बेरसम्म झाडीतिर हेरिरहें, कतै त्यो लोखर्के निस्कन्छ कि भनेर।
केहीबेरमा अर्को एकजोडी मानव लोखर्के पो निस्के। नजिकैको ढुंगामा बसेर चोचा जोडे। एक-अर्कालाई सुम्सुमाए। न उनीहरुलाई मेरो उपस्थितिले फरक पार्यो, न माथिपट्टिको मौन मानव लस्करले नै। केहीबेरमै त्यो जोडी ढुंगाबाट तल ओर्लियो र बालुवाको थुप्रोमा लडिबुडी गर्न थाल्यो।
आफ्नो अस्तित्व त्यहाँ भएका ढुंगा, वृक्ष, बालुवा र माटोभन्दा केही फरक नभएको मैले महशुस गरेँ।
त्यसैबेला एक ताँती कमिलाहरु रुख चड्दै थिए। माथिपट्टि रुखको हाँगामा ब्लु जे फुर्र फुर्र ओल्लो हाँगा र पल्लो हाँगा गर्दै थियो। लेकबाट बेगमा आएको पानीको छाल किनाराका ठूला ठूला ढुंगाहरुमा ठोक्किएर एकनासको छप्लाङ छप्लाङ आवाज निकालिरहेको थियो।
म साइकल डोहोर्याउँदै लेकको नजिकै गएँ। पानीको हल्का सतहमा खुट्टा डुबाएँ। टाढा टाढा तैरिँदै गरेका डुंगातर्फ आफ्नो दृष्टि पुर्याएँ। आकाश नग्न थियो। नग्न आकाशको निलो रंग लेकको पानीमा पोतिएको थियो। यही रंगिन पानीको मात चढेको थियो लेकको छेउछाउमा लुट्पुटिएका युवा युवतीहरुमा।
बालुवामा छाता गाडेर यसैको छहारीमा उत्तानो परेका थिए सेता जोडीहरु। बालुवामै रंगी बिरंगी टाबेल बिछ्याएर आकाशतर्फ नाइटो फर्काइ मस्त निन्द्रामा थिए कैयौँ काला जोडीहरु।
सुरेली खेल्दै आइरहेको पानीमा उभिएर चुम्बन गर्दै कैयौँ जोडीहरु कोरोनाको खिसीटिउरी गर्दै थिए। उनीहरुलाई मुर्दा मानव लस्करतर्फ कुनै ध्यान थिएन।
म बकुल्लाहरुको बीचमा काग जस्तै बनेको थिएँ। एक्लो मानव आकृति। बाटो बिराएर अनौठो बस्तीभित्र छिरेको अमानव जस्तै। कतैबाट उछिट्टिएर आएको ढुंगो झैँ नसुहाउँदो ठिङ्ग उभिरहें धेरैबेरसम्म। त्यसपछि फरक्क फर्केर मौन मानव लस्कर तर्फ लागेँ।
नजिकै एउटा सानो झाडी थियो। साइकललाई त्यही छोडेर लस्करको बीचमा घुसेँ। सबैको अनुहार भुइतर्फ घोप्टिएको थियो। मलिन र अत्यासलाग्दा देखिन्थे उनीहरु।
काला, गोरा, सेता, पहेला, कलेजी रंगका मानवहरु स्वेत वस्त्रमा एकतमासले हिँडिरहेका थिए। कहाँबाट आए ती मान्छेहरु? कहाँ जाँदैछन् उनीहरु? केही अत्तोपत्तो थिएन मलाई।
त्यसैबेला कसैले मेरो काँधमाथि हात राख्यो। म पछाडि फर्केँ। अनौठो थियो त्यो आकृति। काला गहिरा खोपिल्टा परेका आँखा। चाउरिएको छाला, अनुहारभरि मुजा मुजा परेको। कानमा काला कुन्डल झुन्डिएका।
शिरदेखि पाउसम्म सेतो कपडा बेरिएको। उसले मेरो हात च्याप्प समायो। चिसा हत्केलामा हड्डीमात्र थिए। त्यहाँबाट तानेर उसले मलाई बाहिर निकाल्यो। हातले डोहोर्याउँदै डाँडामाथि उकाल्यो।
डाँडाको टुप्पोमा कुहिरो जस्तै देखिने धुवाँको बीचमा काँडैकाँडाले बारेको एउटा घर थियो। घरभित्र खुल्ला ठाउँमा चारैतिर सेता वस्त्रहरु झुन्डाइएका थिए। दायाँपट्टिको कोठाबाट एकोहोरो मानव चित्कार निस्किरहेको थियो।
मान्छेहरु यता उता गरिरहेका थिए। तर धुवाको तुँवालोले गर्दा कसैको अनुहार पनि प्रस्ट चिन्न सकिने अवस्थामा थिएन। महिला हो या पुरुष छुट्याउन सकिदैनथ्यो। केही मान्छेहरुको आकृति भीमकाय थियो भने कोही मान्छेहरु लिलिपुटे देखिन्थे।
'यो कहाँ ल्याउनु भएको मलाई? कुन ठाँउ हो यो?' मैले आत्तिँदै सोधेँ।
'हामी लिन गएका हैनौँ। तिमी आफै आएका हौ। तिमी सांसारिक जीवनको आवरणबाट आफै मुक्ति खोज्दैछौ। जीवनका रंगिन पर्दा आफै च्यातेर यो लाईनमा उभिन पुगेका छौ।
तिमी थकित छौ जीवनबाट। आफ्नो लक्ष्यबाट विचलित भैसकेका छौ। तिम्रो जीवनको कुनै खास लक्ष्य छैन। तिम्रो मनमा आनन्द छैन। तिम्रो आत्मामा शान्ति छैन।
तिमी सुखको खोजीमा भौतारिरहेका छौ। वास्तवमा भन्ने हो भने तिमीले आफैलाई नचिनेर हराइरहेका छौ। तिम्रो सुख होस् या दुख, अरुसँगको तुलनामा निर्भर छ स्वयम् आफूमा होइन। त्यो तिम्रो भुल हो।'
'सफलता होस् या असफलता, दुवै कुनै न कुनै व्यक्तिसँग तुलना नगरिकनै मिल्ने कुरो होइन। यसमा मेरो के भुल भयो? यो संसारमा सबै मान्छेहरु एकअर्काको देखासिकी गरेरै चलेका छन्।
उनीहरुको शैली फरक होला। साधन फरक होला। तर मूलभूत रुपमा संसारभरिका मान्छेहरु एकअर्कोको देखासिकीमै चलेको छ। यसमा मेरो के गल्ती भयो? यदि यो मेरो भुल नै हो भनेपनि के यहाँ मैले यी सबै कुराहरुबाट मुक्ति पाउन सक्छु?'
'मुक्ति मिल्ने या नमिल्ने तिम्रो कर्ममा भरपर्छ। यदि तिमीले सत्कर्म गरेका रहेछौ भने मुक्ति अवश्य पाउछौ। यदि दुष्कर्म गरेका रहेछौ भने पुनः तिमी मानव योनीमा जन्म लिनेछौ र यसैगरी भौतारिने छौ।'
'म अहिले नै फर्किन चाहन्छु। म आफ्नै संसारमा रमाउन चाहन्छु। म यस्तो कहालीलाग्दो ठाँउमा एकैछिन पनि बस्न सक्दिनँ। मलाई छोडिदेऊ' भन्दै म चिच्याएँ।
'पानीको छेउछाउ थुप्रै मान्छेहरु स्वतन्त्रसँग जलक्रिडा गर्दैछन्। तिमी पनि सांसारिक जीवनको रंगिन पर्दा भित्रै बस्नु पर्दथ्यो। उनीहरुजस्तै हाँस्नु पर्दथ्यो। सांसारिक जीवनको आनन्द लिनु पर्दथ्यो। जुन दिन यी भौतिक बस्तुहरुप्रतिको मोह भंग हुन्छ। जीवनका रंगिन सपनाहरु श्यामस्वेत बन्न पुग्छन्। त्यसै दिन तिमी यता आउनुपर्थ्यो या हामी तिमीलाई लिन आउथ्यौँ। तर तिमी आफै आएका हौ। तोकिएको समयभन्दा अघि नै।'
त्यसैबेला कसैले मेरो दायाँ हातमा च्याप्प समात्यो र देब्रेपट्टिको कोठा भित्र लग्यो। त्यहाँ अनेक थरिका रंगी बिरंगी बत्तीहरु बलिरहेका थिए। बाहिर एकोहोरो दमाह बजेको आवाज प्रष्टै सुनिन्थ्यो।
अगाडिपट्टि अलिकति अग्लो भागमा अजङ्गको शरीर भएको मानव आकृति थियो। हातमा रंगिन बत्तीहरु समातेकोले गर्दा उसको अनुहारको रंग पनि छिनछिनमै परिवर्तन हुन्थ्यो।
अनुहारभरि लामालामा सेता रौ थिए। बत्तीको उज्यालोमा उसका चिम्सा आँखा बेला बेला बिजुली चम्के झैँ चम्किन्थे। धुवाँको मुस्लो कतैबाट निस्केको थियो जसले सम्पूर्ण कोठा धुमिल बनाएको थियो।
'म यो ब्रह्माण्डको सृष्टिकर्ता हुँ। मैले नै सम्पूर्ण जीवजन्तु, मान्छे, पशुपन्छी र वनस्पतिको निर्माण गरेको हुँ। सबैलाई बाच्नको लागि आयु पनि तोकेको थिएँ। खानको लागि सबैलाई व्यवस्था गरेको थिएँ। जल, जमिन सबै एकअर्कालाई परिपूरक बनाएको थिएँ।
आखिर अन्त्यमा सबै आउने सृष्टिकर्तासँगै हो। निश्चित समय पश्चात हामीले सबैलाई बोलाउछौँ। केही मान्छेहरु आफै आउने गर्छन्। हामीले बोलाएकाहरुलाई उनीहरुको कर्मको मूल्यांकन गरेर आवश्यक परे उसको स्वरुप र कर्मको भारी बोकाएर पुनः पृथ्वी मै फिर्ता पठाउछौँ।
कसैलाई स्वर्गको नगरीमा अप्सराहरुको सामिप्यमा छोडिदिन्छौँ। आफै आउनेहरुलाई एक्काइस वटै नर्कको पनि भ्रमण गराइदिन्छौँ।'
मनमनै सोचेँ 'यो स्वर्ग र नर्कको कुरा किन सुनाइँदै छ। म मोरिसकेको त छैन। म अझै जीवित नै छु।' कतै यो सपना पो हो कि भन्दै आफ्नै गालामा एक चड्कन हानेँ। अहँ! केही परिवर्तन देखिएन।
'मलाई तुरुन्त फिर्ता पठाउनुहोस्। मैले कुनै गल्ती गरेको छैन। म अहिल्यै यो ठाउँबाट निस्कन चाहन्छु,' मैले भनेँ।
'तिमीलाई हामीले बोलाएको हैनौँ जुन कुरा मैले पहिले नै भनिसकेँ। धेरै मान्छेहरु यहाँ आफ्नो विवेकले आएका छन् आजभोलि। उनीहरको लागि हामीसँग कुनै खास योजना छैन।
सबैलाई तल लाईट हाउस नजिकको तलाउमा गएर सांसारिक पाप पखाल्न लगाइएको छ। त्यसपछि लाईट हाउसको माथिपट्टि लामबद्ध भएर जहाजलाई कुर्नुपर्ने हुन्छ। जहाजले भोलि बिहानै सामुन्द्रिक यात्रा सुरु गर्नेछ। त्यो अन्त्यहीन यात्रा हुनेछ। नर्कका सबै कुण्डहरुको भ्रमण गराउने छ।'
उसको कुराले मलाई नराम्रोसँग झस्कायो। कतैबाट भाग्न सक्ने बाटो छ कि भनेर यता उति हेरेँ। तर धुवाँको तुँवालोले गर्दा केही देख्न सकिनँ।
म जसरी पनि यहाँबाट निस्कन्छु। मलाई यहाँ बस्नु छैन। गन्तव्यहीन सामुन्द्रिक यात्रा गर्नु पनि छैन। धर्ती कोरोनाले आक्रन्त पारेको बेला पानीजहाजहरु झन् मुर्दा घर बनेका छन्। म अझैसम्म मुर्दा त बनिसकेको छैन।
मेरो आत्माले मलाई छोडेको छैन। यदि मैले यो बस्त्र फुकालेर सेतो बस्त्र लगाएँ भने म सरासर तलको लाईनमा गएर उभिनु पर्ने हुन्छ। आत्मालाई जबर्जस्ती त्याग्नु पर्ने हुन्छ। भोलि बिहानै गन्तव्यहीन यात्राको लागि तयार हुनु पर्नेछ।
अहँ! म यो धर्तीलाई कुनै हालतमा पनि छोद्दिनँ। कटक्क दाँत किटें। शरीरभरि काँडा उम्रिए।
सिधा अगाडि एउटा सिकुटे भाला समातेर ढोकामा उभिएको थियो। यहाँबाट फुस्केँ भने त्यो सिकुटेलाई ढलाएर भाग्न सक्छु भन्ने आँट आयो मनमा। एक्कासी हात झड्काएँ र त्यहाँबाट भागेँ। सिकुटेको हातको भाला खोसेर उसलाई दुई टुक्रा पारेँ र सरासर ब्रिम्लेको बाटो हुँदै लरेन्सतर्फ लागेँ।
सडकमा गाडीहरु एकाएक हराएका थिए। मान्छेहरु गायव थिए। हात्ती, घोडा र ऊँटमाथि बानरहरु सवार थिए। कसैले ताज लगाएका, कसैले पगरी गुथेका, कसैले फूलका माला लगाएका। केवल कट्कट्को एकोहोरो आवाज मात्र सुनिन्थ्यो। म एक्लो थिएँ सडकको छेउमा।
'आज एकाएक मान्छेहरु कता हराए? कमिलाको ताँती झैँ गुड्ने गाडीहरु कता गायव भए? मनमनै सोच्दै अगाडि बढें। हिड्दै जाँदा दाहिने तर्फ साँघुरो बाटो जोडियो। त्यो बाटो खाली थियो। म त्यतै लागेँ।
अलिक पर एउटा बोर्ड राखिएको थियो सडकको छेवैमा 'रित्तो बगैँचा।' नाम अनौठो थियो। मनमा खुल्दुलीका साथ म अघि बढें। बाटो दुई वटा हाँगामा बाँडियो। एउटा बाटोमा लामा लामा सर्प जस्ता किराहरु सलबलाईरहेका थिए भने अर्को बाटोमा पानीले भरिएका खाल्टा र खुल्टीहरु थिए।
मैले सर्पहरुको बाटो छोडेर पोट्होल अर्थात् पानीले भरिएको खाल्टाखुल्टीहरु भएको बाटो रोजेँ। छेउछाउमा टेक्ने खाली ठाउँ नभएकोले गर्दा पानीमै पहिलो पाइला टेकें। टेक्नासाथ आगोको लप्का निस्केर क्षितिजतिर गयो। म अघि बढ्दै गएँ। मेरो पछि पछि आगोको कैयौँ लप्काहरु निस्किरहेका थिए। अचम्म! त्यो आगोको लप्काले मलाई पोल्दै पोलेन।
मेरो अगाडि भिरालो बाटो थियो। त्यो बाटो सिधा सानो खोलामा पुग्दथ्यो। खोला माथि काठको पुल थियो। साइकलको ट्रयाक पनि यसैसँग जोडिएको थियो। तर खोला वरिपरि एकदम सुनसान थियो।
न कुनै चराचुरुंगीको आवाज नै थियो न कुनै हावाको सुशेली। मैले पुलमा रोकिएर तलतिर हेरे। पानी जहाँको त्यही रोकिएको थियो। सबैकुरा टक्क अडिएको थियो। प्रकृति मौन थियो। मेरो मनमा अत्यास जाग्यो। छिटो छिटो अगाडि बढेँ।
हिँड्दै गर्दा बाटोको तलपट्टि ठूलो पिपलको रुख भेटियो। रुखको फेदमा एउटा अनौठो आकृति देखियो। शरीर घोडाको र टाउको मान्छेको। यो जीव अचल थियो। दुवै आँखा बन्द थिए। म झन् छिटो छिटो अघि बढें।
त्यति नै बेला पछाडिबाट आवाज आयो। म त्यही रोकिएँ। एकछिनपछि पछाडि फर्केर हेरेँ। रुखको फेदमा भएको आकृति चलेजस्तो लाग्यो। केहीबेरमा सोही ठाउँबाट धुवाँ निस्कियो।
'डराउन पर्दैन। तिमी यहाँ आऊ। म तिमीलाई सही बाटो देखाइदिनेछु' अदृश्य आवाज निस्क्यो। जंगलभरि उसको आवाज गुञ्जयमान भयो।
फर्केर धुवाँ निस्केको ठाउँमा हेरेँ। पहिले देखेको घोडाको शरीर थिएन। खाली धुवाँमाथि टाउको मात्र देखियो। अलि नजिक पुग्दा त्यो सिंगो आकृति एक साधु जस्तो थियो। ध्यानमा लिन शिद्धार्थ गौतम जस्तै। उसको आँखामा एक किसिमको ज्योति चम्किएको थियो। कालो लामो कपाल कुमसम्म झरेको थियो। सानो गोलोगोलो मुख, सेता टम्म मिलेका दाँत। गेरु बस्त्र।
'तपाई को हो? मैले नजिकै पुगेर सोधेँ।
'शून्य?'
'हो, शून्य।'
'शून्य जी, तपाईले मलाई किन बोलाउनु भएको?'
'तिमी आफै यहाँ आएका हौ। तिम्रो निराश अनुहार र गन्तव्यहीन यात्रा देखेर मैले रोकेको हुँ।'
'जीवनमा निराशा बाहेक के छ खुसी हुनलाई?'
'जीवन दु:ख हो। सुख खोज हो। खोज कहिले पूरा हुँदैन। यो त निरन्तर चलिरहने प्रकृया मात्र हो। बगैँचामा हामीले फूल रोप्छौँ। काँडा होइन। जन्मदेखि मृत्यु पर्यन्तसम्म हरेक मान्छे हर हालतमा खुसी चाहन्छ। ऊ खुसी प्राप्त गर्नको लागि स्वतन्त्र छ।
संसारकै अग्लो हिमाल चढ्न होस् या समुन्द्रको गहिराइ नाप्न, त्यो काम उसले आफ्नो खुसीको लागि गर्छ। तर बिडम्बना के छ भने आज धेरै मान्छेहरु खुसी खोज्ने नाममा दुखको मार्ग हिँडिरहेको छन् चाहे त्यो जानाजान होस् या अन्जानमा। ड्रग्स, अल्कोहोलिजम, हत्या, युद्ध, बलात्कार, वातावरण विनाश सबै खुसी हुनको लागि मान्छेले रोजेका गलत बाटाहरु हुन्।'
'त्यसो भए खुसी कसरी प्राप्त गर्न सकिन्छ?' मैले सोधेँ।
'त्याग, माया र ध्यान। यदि यी तिन तत्वलाई मूलमन्त्र मानेर जीवन जिउन सिक्यो भने जीवनमा खुसी नै खुसी छ। जीवनमा खुसी हुनलाई नै खुसी हुनु पर्छ। सुन्दा यो शब्द विरोधाभाष जस्तो देखिए पनि यथार्थ त्यही हो।
तिमीले आफूभित्र भएको सांसारिक बस्तुप्रतिको मोह भंग गर्न सक्नु नै जीवनमा प्रेमको वर्षात् गराउनु हो। हामीले आफूसँग आउँदा सिर्फ मृत्युसँगै लिएर आएका हौँ। अरु सबै झुटा हुन्। झुटा बस्तुहरुलाई त्याग गर्न सक्नु पर्छ। सत्यलाई आत्मासाथ गर्नु पर्छ।'
'त्याग भन्नाले परिवार र समाजलाई चटक्कै छोडेर गरेर तपाई जस्तो जंगलमा तपस्या गरेर बस्ने हो?'
'होइन। त्याग भनेको बलिदान पनि हो। सरल भाषामा भन्दा हामीले ईर्ष्या, लोभ र आलश्यलाई त्याग्न सक्नु पर्छ। मनमा उम्रेका नकारात्मक सोचलाई नहुर्किँदै गोड्नु पर्छ। तिनै नकारात्मक विचारहरुले जरो फैलायो भने उखेल्न गाह्रो हुन्छ।
सकारात्मक सोच हुर्कन पाउँदैन। ईर्ष्याले मनमा बेचैनी पैदा गर्छ। लोभले मान्छेलाई जस्तोसुकै हर्कत गर्नलाई हौसला दिन्छ। जसले गर्दा मान्छे आफूसँग जे छ त्यसमा खुसी हुन सक्दैन। अरुको खुसीमा आफू दुखि हुन थाल्छ। आफूसँग जे छैन त्यसको पछि भाग्छ।'
उसले हातबाट केही बस्तु हावामा उडाए जस्तै गर्यो। एकैछिनमा एकहुल परेवाजस्तै देखिने चराहरु धुवाँबाट निस्केर आकाशतिर उडे। म छक्क पर्दै आकाशतिर हेर्न थालेँ। ऊ पुन: बोल्दै गयो।
'जन्मदै हरेक मान्छेले फरक फरक रुप र बनोट मात्र होइन, फरक खालको खुबी पनि लिएर आएको हुन्छ। जो व्यक्ति आफ्नो शारीरिक बनोटदेखि खुसी हुँदैन, आफ्नो परिवार, सन्तानसँग खुसी हुँदैन, आफ्नो काममा खुसी हुँदैन, त्यो मान्छे जीवनमा कहिले पनि खुसी हुन सक्दैन।
खुसी साना साना कुराहरुमा फूलको रस झैँ लुकेर बसेको हुन्छ। त्यलाई माहुरीले झैँ चिनेर चुस्न सिक्नु पर्छ। मनलाई खुसीको भण्डार बनाउन सक्नु पर्छ। जब मान्छे आफू खुसी हुन्छ तब उसले अरुलाई खुसी दिन सक्छ। माया गर्न सक्छ। करुणा र दयाभाव जगाउन सक्छ,' उसले लगातार भन्दै गयो।'
'जसरी तपाईले सरसर्ती लेक्चर दिनुभयो के यो वास्तविक जीवनमा सम्भव छ त?'
'छ, यो कुनै मंगल ग्रहको यात्राको वर्णन गरेको होइन मैले। यो त सबै तिमीभित्र अन्तर्निहित तत्वलाई प्रकाश पार्न मात्र खोजेको। तिमी घर फर्क। सबभन्दा पहिले आफूलाई प्रेम गर। तिमी आफैमा एक बिजेता हौ यो धर्तीमा मान्छेको रुपमा जन्मिने।
निस्वार्थ प्रेम गर आफ्नो परिवारलाई, समाजलाई र सम्पूर्ण जीव जगतलाई। दुखी गरिबहरुप्रति करुणाभाव राख। अरुबाट लिनमा भन्दा अरुलाई दिनुमा स्वर्गीय आनन्द मिल्छ। खुसी मिल्छ।'
उसले पुन: आँखा बन्द गर्यो र ध्यानमा लिन हुन पुग्यो।
'मान्छे जन्मजात स्वार्थी जिवत्मा हो। हरेक मान्छे सबभन्दा पहिले आफ्नो फाइदाको लागि काम गर्छ। त्यो काम चाहे आर्थिक लाभको लागि होस्, सामाजिक लाभको लागि होस् या मानसिक लाभको लागि।
स्वार्थ जुनसुकै कुरामा पनि अन्तर्निहित हुन्छ। कसैले दामको लागि काम गर्छन् भने कसैले नामको लागि। विशेष गरेर दाम कमाइ सकेकाहरु नामको लागि काम गर्छन्।
नाम कमाइसकेकहरु कमाएको इज्जत, मान सम्मान बचाउनको लागि काम गर्छन्। भौतिक रुपमा सम्पन्नहरु मानसिक फाइदाको लागि काम गर्छन्। अरुको सेवा भनेको सबै स्वार्थकै लागि हो। आफ्नै स्वार्थ,' मैले रुखो स्वरले भनेँ।
'मेरो कुरा तिमीलाई सत्मार्ग देखाउनु हो। त्यो बाटोमा हिँड्ने या नहिँड्ने तिम्रो काम हो। तिम्रो नितान्त व्यक्तिगत रोजाइ हो' भन्दै ती गेरु वस्त्रधारी मान्छे सम्पूर्ण रुपमा विलीन भए।
त्यहाँ मात्र चराचुरुङ्गीहरुको चिरबिर आवाज मात्र सुनिन्थ्यो। तलपट्टिको खोल्साखोल्सिहरुमा पानी बगेको कलकल आवाज सुनियो। केहीबेर अघिसम्म टक्क रोकिएको प्रकृति चलाएमान भैसकेको थियो।
त्यहीबेला सिरानीमा भएको मोबाइलमा अलार्म बज्यो। आफू कुन ठाँउमा छु भनेर झसंग भयो मन। बिहानको पाँच बजिसकेको रहेछ। मन नलागी नलागी ओछ्यानबाट उठेँ।
निन्द्राले अझै छोडेको थिएन। एकमनले सोच्यो 'सिक कल' गर्छु। काममा जाँदिनँ आज। ब्लफर पार्क र रित्तो बगैँचाको दृश्य सिनेमाको रिल उल्टो घुमेझैँ घुमिरह्यो दिमागमा।
'हैट! यसरी झोक्राएर बसेर हुँदैन। काममा त जानु पर्छ। सिक कल गर्न पनि ढिलो भैसक्यो।' दाहिने दिमागले पुरै मनलाई बदल्दियो।
'सोचे झैँ रैनछ जिन्दगी' भन्दै खानाको डिब्बा झोलामा हालेर गाडी स्टार्ट गरेँ। धेरैबेरसम्म मनको इन्जिन र गाडीको इन्जिन सँगसँगै थर्थराइरहे एकै सुरमा। सायद जीवन पनि गाडी जस्तै भैसकेछ, सकुन्जेल कुदिरहने।