काठमाडौँ सहरको भव्यता। आकाशै छुन खोजेर बनेको सनसिटी अपार्टमेन्ट। त्यही अपोजिटमा बनेको तीन तले इँटाका पुरानो घर। सानो कम्पाउण्ड। लहरै फुलेका बेगम बेली र गुलावहरू झट्ट हेर्दा आकर्षक, मनोरम र भव्य लाग्छ।
म त्यही घरको विपरीत घरमा बस्न थालेको एक वर्ष पुग्यो। म यहाँ आएदेखि नै त्यस घरमा खास चलहपहल देखेको छैन। साह्रै सुनसान र एक्लो लाग्छ, भर्खरै दुलही अन्माएको पार्टी प्यालेस जस्तो।
बिहान घाम लाग्ने वित्तिकै देखिन्छिन् एक वृद्ध महिला। माछापुच्छ्रेको शिर जस्तो कपाल। चाउरिएको अनुहार। अगाडिपट्टि फुस्किएको दुई वटा दाँत। हरियो धोती र उलनको चोलीमा देख्छु प्राय। उमेर अनुमानित ७५ वर्ष।
साथमा छ एउटा खैरो रंगको कुकुर। जो उनलाई कहिल्यै छोड्दैन, किनारले खोलीलाई जस्तै। ती वृद्ध महिलासँग उदाउँछ र अस्ताउँछ हरेक दिन।
मैले याद गरेदेखि कुकुरले उनको साथ छोडेको छैन। बुढी आमा जहाँ पुग्छिन् त्यही हाजिर हुन्छ। उनी लौरोको सहारामा बजारतिर निस्किन्छन्, ऊ पनि बजार निस्कन्छ। मलाई यो दृश्य मैले धेरै पटक पढेको लैनसिंह वाग्देलको 'लंगडाको साथी' उपन्यासको जस्तो लाग्छ।
मेरो लेखक मन यो दृश्यसँग भावुक भैदिन्छ। म हरेक बिहान पल्लो घरको छत नियाल्छु। सधैँ रंगहीन लाग्छ। उडालु फुल्ने महिना जस्तै।
मलाई अचेल काममा खास जाँगर चल्दैन। म सानै हुँदा मलाई एक्लै छोडेर भगवानको घर पुगेको आमाबुबा सम्झन्छु। सेतै फुलेकी पल्ला घरकी आमा र पर्समा लुकाएर राखेको मेरी आमाको पुरानो तस्बिर उस्तै लाग्छ मलाई।
म किन किन उनीसँग बोल्न निकै उत्साहित हुन्छु। पानी किनेर आँसु बेच्नुपर्ने सहरमा यो आत्मीयता अर्थ के म जान्दिनँ।
एक साँझ ती बुढी आमा लौरो टेकेर बजार निस्किन्छन्। कुकुर उनको पछि लाग्छ। उनीसँग बोल्ने उचित वातावरणको खोजीमा हुन्छु म पनि। त्यसकारण उनको पछि लाग्छु।
बुढी आमा लौरोको सहारमा पर चोकमा पुग्छिन्। पानीपुरीदेखि साग बेच्ने, सेकुवादेखि चटपटे खानेको भिड छ चोकभरि।
कुकुरले उनको साथ छोडेको छैन। म नजानिँदो पारामा उनको पछि छु। ठेलामा बेच्न राखेको बीस रुपैयाँको साग किनिन् बुढी आमाले। अलि पर मासु पसलमा गएर दुई पाउ मासु पनि किनिन्। म उनको पछिपछि लागिरहेँ।
उनी आफ्नो घरतिर फर्किइन्। नजिकै किराना पसलमा पुगेर भनिन्, ‘बाबु एक जार पानी लगिदिनुस् न।’
पसलले झर्किँदै भन्यो, ‘म त आज भ्याउदिनँ, पैसा छोडेर जानुस् भोलि बिहान ल्याइदिन्छु।’
पसलेको आवाज निकै नमिठो थियो। आमाको अनुहारमा हेरेँ, थोरै निराशा झल्किए झैँ लाग्यो।
चुपचाप पानीको जार उठाएँ र आमालाई भनेँ, ‘जाऊँ आमा।’
उनी लौरोको सहरामा अगाडि बढिन्। कुकुर उनको गोडामा लुट्पुटियो। पानी बोकेर म पछिपछि लागेँ। घर नजिकै पुगेपछि उनका थोते दाँत हाँसे। प्रतिउत्तमा मेरा पनि आधा ओठ मुस्कुराएँ।
भर्याङ चढ्दै गर्दा आमाको मुखबाट लामो सुस्केरा निस्कियो। कुकुर उनको गोडामा चाटिरहेको थियो। पानीको जार बोकेर आमाको घरको सिँढी उक्लँदा मेरो मन कपासजस्तै भयो।
आमाले किचेन देखाउँदै भनिन्, ‘बाबु त्यहाँ राखिदिनुस् पानी। आज ठूलो धर्म गर्नुभयो। मलाई भगवान् भेटेँ जस्तै लाग्यो।’
‘आफ्नो आमाजस्तै आमालाई सहयोग गर्न पाउँदा म निकै खुसी छु आमा’ प्रतिउत्तर दिएँ।
‘कोही नहुनेको भगवान् हुन्छ भन्छन्, मेरो लागि तपाई पनि भगवान् हो। आमाको आवाजमा हार्दिकता मिसिएको थियो।
यति सानो सहयोग गर्दा पनि आमाले भगवान् सोचिन्। संसारमा भगवान् हुन केही नचाहिँदो रहेछ।
‘म त्यही पल्लो घरमा बस्छु आमा! हजुरलाई गाह्रो भयो भने बोलाउनुस् है। आफ्नै छोरो सम्झँदा हुन्छ।’
उनले मलाई चियाको लागि आग्रह गरिन्। मलाई आशा चियाको मात्र थिएन, उनीसँग लामो समय बस्ने र मिठा मिठा कथा सुन्ने थियो। त्यसकारण म फेरि आउने वाचासहित निस्किएँ। कुकुर मलाई पुर्याउन गेटसम्म आयो।’
कोठामा पुगेर खाटमा पल्टिएँ।
ल्यापटप अन गरेँ। फेसबुकमा निकै नयाँ मेसेजहरु रहेछन्। कसैको पनि रिप्लाई गर्न मन लागेन। रेडियो अन गरेँ। उज्यालो नाइन्टी नेटवर्कमा जीवन शर्माको गीत बजिरहेको रहेछ-
सिमली छायामा बसी भरिया लामो सास फेरेको...
कति गाह्रो रहेछ बुढेशकाल पार गर्न। पल्ला घरकी बुढी आमाको जस्तो दैनिक नेपालमा अधिकांश बुढाबुढीको छ। खै कहिले पो मुक्ति पाइएला र यो समस्याबाट?
सोच्दा सोच्दै छतमा निस्किएँ। आफ्नी आमाको धमिलो सम्झना याद गर्न खोजेँ, सकिनँ। मलाई आमाको सानो तस्बिर बाहेक केही सम्झना छैन। जब पल्लो घरकी बुढी आमालाई देखेँ, म २६ वर्ष अगाडिको संसारमा पुगेँ।
आकाशतिर हेरेर निकै बेर सोचेँ, के यस्तै थिइन् त मेरी आमा? छातीको देब्रे पाटो चस्कियो। हामीलाई छोडेर भगवानकी बन्न पुग्नु भएको आमाको यादमा म निकै विक्षिप्त भएँ।
केही लेख्न खोजेँ। किवोर्डमा औँला नै चलेनन्।
घडी हेरेँ। रातको बाह्र बजे र ४८ मिनेट गएको रहेछ। मनमा उकुसमुकुस सुरु भयो। आकाशमा तारा चम्किरहेका थिए। आँखा चिम्म गरेर आमालाई सम्झेँ। संसारमा सबैभन्दा भयानक चिज त याद पो हुँदो रहेछ।
त्यो रात त्यतिकै बित्यो।
अर्को बिहान सदाभन्दा फरक लाग्यो। तिनै आमासँगको साथ र संवाद मात्रै सम्झिरहेँ।
बाहिर मात्र के निस्केको थिएँ। पल्लो घरबाट आमाले बोलाइन्।
म केही नसोची गेटमा पुगेँ। कुकुर मलाई लिन आइपुगेछ। अहो! जनावरको पनि कति धेरै प्रेम।
आमाले म आउनुभन्दा अगाडि नै चिया बनाइसकिछन्। म चिया पिउन थालेँ। उनले आफ्नो उलनको चोलीको खल्तीमा सानो मोबाइल देखाउँदै भनिन् ‘धेरै दिन बित्यो बाबु, यसमा फोन आएको छैन। कहाँ नेर समस्या छ म बुढीले जानिनँ। हेरिदिनुहोस् न।’
मैले मोबाइल ओल्टाइपल्टाई पारेर हेरेँ। पुरानो मोडेलको नोकिया सेट रहेछ। बाहिरबाट हेर्दा खास समस्या देखिनँ। मैले उनको नम्बरबाट मेरो मोबाइलमा फोन लगाएँ। सहजै आयो।
फेरि मेरो मोबाइलबाट उनको मोबाइलमा फोन गरेँ सहजै लाग्यो। आमालाई तत्कालै त्यो कुरा भनिहाल्न मन लागेन। मोबाइल हेरेको बहाना बनाएर सोधेँ, ‘आमा को हुनुहुन्छ नि हजुरको, घर त सधैँ खाली नै देख्छु त?’
जवानीमा त धेरै थिए बाबु, अहिले कोही छैनन्। साथीको नाममा यही खैरे कुकुर छ। यसले कहिल्यै पनि मेरो साथ छोड्दैन।
अनि छोराछोरी?
छन् भनौँ कि छैनन् भनौँ।
बुढी आमाको अभिव्यक्ति विरोधाभाषपूर्ण थिए। मैले सामान्य किसिमले बुझ्न सकिनँ।
आमाले भनिन्, बाबु जाऊँ न पल्लो कोठामा आनन्दले कुरा गरौँ।
म उनको पछिपछि लागेँ। बैठक कोठा पूरै फोटो फ्रेमले भरिएको थियो अहो! मान्छे त तस्बिर र यादमा पनि बाँच्न सक्दो रहेछ।
उनले जवानीको भरिलो फोटो देखाउँदै भनिन्, 'यी हेर बाबु यो मेरो २६ वर्षको जवानीको फोटो हो। यो साइडमा बसेका मेरा जीवनसाथी हुन्। अगाडि उभिएका तीन जना छोराहरू हुन्। अहिले त यी सबैको बच्चा समेत भइसके।
यो मेरो उमेर नातिनातिनी आँगनभरि खेलेको हेरेर बस्ने उमेर हो। तर साथमा खैरे कुकुर र यो लठ्ठी बाहेक कोही छैन मेरो। मैले बुढेशकालमा आएर बुझेको कुरा संसारमा आफू बाहेक आफ्नो कोही नहुँदो रहेछ।
बिहे भएको दिन मन एकदम उत्साहित थियो। काखभरि छोराछोरी खेलाएको सपना देख्थेँ। जब छोराछोरी भए मेरो दुनियाँ बदलियो। जीवनशैली परिवर्तन भयो।
हामी बुढाबुढीले यी छोराहरूको लागि ज्यादै दुःख गर्यौँ बाबु, यो घर बनाउँदा बुढोको शरीर सुकेर सिन्को जस्तो भाथ्यो तर मनको कुरा कसलाई सुनाउनु? मनमा नै राख्यौँ।
अहिले लाग्छ यिनका लागि सुन्दर सपना सजाएर। मेरो जवानीवयका सुन्दर समय त्यसै खेर फालेछु।
जेठो र माईलो छोरा अमेरिकामा छन्। कान्छो अष्ट्रेलियामा छ। तीन वर्ष अगाडि बाबा बित्दा पनि नेपाल आउने समय भएन यिनीहरूलाई। विदेशमा पढ्न गएका उतै बिहे गरे। बच्चा जन्माए। उनीहरुको संसार उतै उज्यालो छ।
मलाई लागेको थिएन, मैले जन्माएका छोरा यति निष्ठुर होलान्। सानोमा काखामा राखेर तेल लगाउँदा मैले देखेको सपना यति संकुचित थिएन। पल्लाघरकाले फेसबुकमा छोराबुहारीको फोटो देखाउँछन्। बुहारीको शरीरमा कति छोटा लुगा देख्छु बाबु, गाउँलेले देखे पनि के भन्लान्? आर्थिक सम्पन्नता बढेपछि संस्कार, संस्कृति र प्रेम मास्दै जान्छ कि क्या हो?
हाम्रो समाजमा छोरी जन्मेको दिन आज पनि दुःख मनाउ गरिन्छ। मेरा छोरीहरु भएका भए कमसेकम भेट्न त आउँथे होलान्। बिरामी हुँदा अस्पताल लगिदिने साथी त हुन्थ्यो होला? अस्ति बिरामी भएर अल्फा अस्पतालमा एक हप्ता बसेँ।
यो कुकुर बाहेक आफ्नो कोही थिएन। सबैका आफन्त फलफूल बोकेर आउँथे। म टुलुटुलु त्यो दृश्य हेरेर भावुक बन्थेँ।' बोलिरहँदा उनको गला भूकम्प र पहिरोको कारण अवरुद्ध भएको अरनिको राजमार्ग जस्तै थियो।
आफ्ना जीवनसाथीले पनि छोडेर गए। म एक्ली बुढीलाई यो भव्य महल किन चाहिएको छ र? जब रात पर्छ, समय कट्दैनन् बाबु। सँगै हाँस्ने र रुने मान्छे नहुँदा कति एक्लो भइने रहेछ।
बुढेशकालमा त हेरन, यही कुकुर छ। बोल्न सक्ने भएको भए। मसँग मेरा दुःखमा कति रुँदो हो। हिजो कान्छो छोराको जन्मदिन थियो। फोन आउला भनेर रातिसम्म कुरेँ, आएन। उसले मासु धेरै मन पराउथ्यो। मिठाइ, मासु ल्याएर यही कुकुरलाई खान दिएँ।
हाम्रा कुरा कुकुरले ज्यादै चाख मानेर सुन्यो। बुझ्यो कि बुझेन उसैको मनले जानोस्। बच्चाहरुलाई मनपर्ने सबै खानेकुरा यसैलाई दिन्छु। मिठो मानेर खान्छ र मेरो गोडामा आएर लुटपुटिन्छ।
'छोराछोरी नभएको घर त मसान घाटजस्तै हुँदो बाबु, पहिला मलाई पहिलाका ससाना कुरा निकै याद छ। हामी पछि काठमाडौँ आएपनि बच्चाहरू उतै गुल्मीतिर जन्मिएका हुन्। ठूलो छोरो तीन वर्षको थियो। ऊ टुकुटुक हिड्ँदा म हर्ष विभोर हुन्थेँ।
घरमा सानो माली गाई थियो, जब म दुध दुहुन जान्थेँ। ऊ सानो गिलास लिएर पछि लाग्थ्यो। अलि ठूलो भएपछि मोजाको बल लिएर आँगनीमा डौडन्थ्यो। त्यति बेला मैले जिन्दगीको हरेक डौड जितेको महशुस गर्थेँ।
घरमाथि अम्बा र दाडिमका रुखहरू टन्नै थिए। सिजनको बेलामा उसले त्यो रुख कहिल्यै छाड्दैनथ्यो। माघे संक्रान्तिको दिन हामी गाउँका सबैजना काली गण्डकीमा नुहाउन जान्थ्यौँ। नुहाएर पूजा गरेपछिससाना सिक्का र नोट बगाउँथ्यौँ। ऊ दगुडेर टिप्न पुग्थ्यो। मलाई कम्ता डर लाग्थेन बगाउला भन्ने।
ऊ कक्षामा तीनमा पढ्थ्यो। एकदिन मेरो काखमा बसेर भन्यो, आमा म ठूलो भएपछि विदेश गएर टन्न पैसा कमाउँछु। हजुरलाई निकै सुख दिन्छु। कार किन्छु, हजुरलाई कारमा राखेर संसार घुमाउँछु। उसको तोतेबोलीमा ती शब्द सुन्दा संसार घुमेभन्दा बढी आनन्द मिल्थ्यो।
उमेर बढ्दै गयो। ऋतुहरु फेरिए। ऊ पनि ठूलो भयो। क्याम्पसको पढाइ सक्यो। अमेरिका गयो। पहिला पहिला त निकै फोन गर्थ्यो। आमालाई निकै सम्झेको छु भनेर भावुक हुन्थ्यो। बाबु अब बिहे गर्नुपर्छ भन्दा के हतार भन्थ्यो। एकदिन कसैलाई नसोधी आफ्नै खुसीले बिहे गरेछ।
त्यतिबेला मन कस्तो भाँचियो, आफ्नै छोरोको बिहे हेर्न नपाउने हाय! कस्तो भाग्य?
हामीले त उसका खुसी चाहिरह्यौँ। बिहेपछि ऊ निकै परिवर्तन भयो। आमाको काखमा बसेर गरेको वाचा सम्झिएन। आफ्नो धरातल बिर्सियो। मैले मात्र उसलाई सम्झिरहेँ, उसका सम्झनामा हराइरहेँ।
निकै दिन भयो उसको फोन आएको छैन। उसले नसम्झेको हो कि मेरो मोबाइलनै बिग्रिएको हो। देखाउने मान्छे पनि कोही नभएर बाबुलाई सम्झेको मैले।' आमाले भूमिका बाँधिन्।
उनका कुराले मुटु हुप्प फुल्यो। मोबाइल बिग्रिएको होइन। आमाको मोबाइलमा फोनै नआएको कुरा मैले कसरी सुनाउनु? कुरा मोड्ने बहान गर्दै भनेँ, 'आमा, हजुर आफ्ना छोरा-बुहारीको साथ अमेरिका जानु भएन?'
'पोहोरो साल नाति जन्मिँदा गएको थिएँ। छोराले छ महिनको लागि भिषा मिलाएको थियो। जाँदाको खुसी र उल्लास धेरै दिन टिकेन। बाबु, कति गाह्रो त्यता त बच्चाको स्याहार गर्न पनि। छोरो बिहानै काममा जान्थ्यो, राति आउँथ्यो।
ऊ आउँदा म सुतिसकेको हुन्थेँ। कहिलेकाहीँ त मेरो छेउमा बसेर हात समाउँदै सुखदुखको कुरा गरोस् जस्तो लाग्थ्यो। तर खै, उसले त्यो समय मिलाउन सकेन या चाहेन?
कोठामा आउनेवित्तिकै आफ्नो बालक छोरालाई म्वाइँ खाँदै, मेरो बाबु, मेरो भविष्यको साहरा मेरो प्राण तिमी नै हौ भनेर अँगालो मार्न पुग्थ्यो।
मैले पनि उसलाई त्यतिकै माया गरेको थिएँ। जति उसले अहिले आफ्नो छोरालाई गर्दैछ। त्यति नै रहर थिए मेरा जति रहर उसको छोरासँग छ। तर बाबु, बाबुआमाको प्रेम छोराछोरीले कहिल्यै नबुझ्दा रहेछन्।
त्यही भएर भनिएको बाबुआमाको मन छोराछोरी माथि, छोराछोरीको मन ढुंगामुढा माथि। अचेल यो उखान साँचो लाग्छ। साँच्चै, माया उँधो बग्दो रहेछ। उसले मेरो काखमा बसेर गरेको वाचा बिर्सियो र आफ्नो सानो छोराले भविष्यमा आफूलाई पाल्ने सपना देख्यो।
तर मेरी आमाको सहारा म बन्नु पर्छ भन्ने आफ्नो कर्तव्य र दायित्व सम्झ्यो कि सम्झेन खै? उसले मलाई गरेको जस्तै व्यवहार आफ्नो छोराले गर्यो भने उसले सहन सक्ला कि नसक्ला?
म दिनभरि त्यो नाति र सुत्केरी बुहारीको स्यहार गर्थेँ। बुहारीलाई खुसी बनाउने प्रयत्न गर्थेँ। तर सधैँ असफल भएँ। कहिलेकाहीँ उनका धेरै साथीहरु आउँथे। के के कुरा गर्थे। मैले केही पनि बुझ्न सक्दैनथेँ।
मलाई कोठामा बस्न निकै असहज हुन्थ्यो। बाहिरी वातावरण केही थाहा थिएन। आफू पिंजडामा थुनिएको सुँगा जस्तै लाग्थ्यो।
छोराको बिदाको समयमा कहिलेकाहीँ पार्कतिर घुम्न जानुबाहेक छोरासँग मन खोलेर गफ गर्ने समय कहिल्यै मिलेन। न उसले मेरो दुःख सुख बुझ्ने चाहना राख्यो न त मैले दिल खोलेर सुनाउने अवसर नै पाएँ।
धेरै दिनदेखि दिल खोलेर मेरो हालखबर नसोधेको छोराले एकदिन अचानक आएर मेरो खबर सोध्यो। म खुसीले दङ्ग परेँ। तर मेरो खुसी धेरै बेर टिकेन। उसले मेरो अमेरिकाको समय सकिएको बतायो। भोलि बिहानको फ्लाइट छ। आफ्नो सामान र आफू तयार भएर नेपाल जान बस्नु भन्ने आदेश दिएर निस्कियो।
म सोचमग्न भएँ। फेरि अर्को मनले सोचेँ, यो पिंजडाबाट मुक्त हुँदैछु। किन दुःख मनाउ गर्नु?
उसले भनेकै समयमा म तयार भएँ। आफ्नो कारमा राखेर एयरपोर्ट पुर्याइदियो। कालीगण्डगीको किनारमा दुई रुपैयाँको सिक्का टिप्दा रमाउने छोरा आज करोडौँको कारमा चढ्दा कति खुसी छ उसैले जानोस्।
बाटामा केही संवाद भएन। मैले सोचेको थिएँ। ऊ पनि मसँगै नेपाल जाला तर मलाई एयरपोर्टमा उसकै एक जना साथीको जिम्मा लगाएर काम जान हतार हुन्छ भन्दै फर्कियो। आफ्नी आमालाई एक दिन पनि समय दिन नसक्ने यो कस्तो जिन्दगी? यो कस्तो प्रेम? यो कस्तो बाध्यता?
ऊ गएको बाटोतिर मेरा आँखाले पछ्याइरहे।
अहिले म सम्झन्छु, म त उनीहरूको आवश्यकता मात्र रहेछु। मेरो मायाले मलाई अमेरिका बोलाएको होइन, सानो नाति र सुत्केरी बुहारीको गोठालो गर्न मन बोलाएको रहेछ। तर पनि त्यो सानो नातिलाई काखमा राखेर जति समय खेलाएँ। बाँकी जिन्दगी तिनै समयको यादमा बिताउन सक्छु जस्तो लाग्छ।
मैले फर्किने बेलासम्म नाति पनि मुखमा हेरेर हाँस्ने भइसकेको थियो। बुहारी पनि सुत्केरीबाट तङ्ग्रिसकेकी थिई। जो मेरो सिङ्गो संसार हो, उसको लागि म गोठालो मात्र हुँदा मेरो मन कस्तो भएको होला तिमी आफैँ अनुमान गर।'
बुढी आमाले धोतीको सप्कोले आँखा पुछ्दै भनिन्, 'हिजो कान्छोको जन्मिदिन। फोन त पक्कै गर्यो होला? मेरै मोबाइल बिग्रिएर होला कुरा हुन पाएन। ढिलै भएपनि शुभकामना दिन्छु फोन लगाइदेऊ। म बुढी फोन हान्न पनि जान्दिनँ।’
उनले दिएको नम्बरमा फोन लगाएँ। मोबाइल अफ थियो।
मैले उनको मन राखिदिनकै लागि भनेँ, 'आमा उहाँ काममा बिजी हुनुहुन्छ भन्ने म्यासेज आयो। पछि उहाँले नै कल गर्नुहोला।'
बुढीको आमाको अनुहारको नसा निकै धमिलिएका थिए। बुझ्ने हो भने उनको अनुहारमा संसार पढ्न सकिन्थ्यो। चाउरिएका गालाको रेसारेसामा छोराहरूको लागि प्रेमको महासागर झल्किन्थ्यो।
अनि मैले तिनै आमालाई कसरी भनूँ, आमा हजुरको मोबाइल बिग्रिएको होइन, हजुरले जवानीमा देखेको सपना, छोराहरूको सोच र तपाईँलाई गर्ने प्रेम साँच्चै संकुचित भएछ।
म केही बोल्न खोज्दै थिएँ, सकिनँ।
बुढी आमा फेरि अगाडिको थोते दाँत देखाउँदै बोल्न थालिन्, 'मलाई त किन किन बाबु, पछिल्लो पुस्ताको सोच त्यति राम्रो लाग्दैन। बढ्दो महत्वकांक्षा। व्यस्त दैनिकी। कर्तव्य जिम्मेवारी र आफ्नो दायित्वलाई भुलेर पूँजीवादमा लिप्त पछिल्लो पुस्ताले आफ्ना आमा बाबु र अग्रजलाई बाध्यता होस् या वेवास्ता नै औसत प्रेम पनि दिन सकिरहेका छैनन्।
वृदाश्रम गाउँ र सहरका पुराना घरहरूमा बाबु-आमा एक्लै भेटिन्छन्। उनका छोराछोरीहरु नेपालीलाई माइती/ससुराली र प्रवासलाई आफ्नो घर बनाएर बसेका छन्। या त नेपालमै पनि बाबुआमालाई एक्लै छोडेर छोराछोरी पढाउने निहुँमा होस या जागिरको सिलसिलामा आफूहरु बेग्लै बसेका छन्।
संसारकै सबैभन्दा महान् आफूलाई जन्म दिने संसार देखाउने, पाइला चाल्न सिकाउने भविष्यको बाटो देखाउने र यहाँसम्म आउन प्रेरणा दिने आफ्नो आमाबाबुसँग बस्न पाउँदा सन्तानहरु गर्व महशुस किन गर्न सक्दैनन्? मैले बाबुआमा पालेको छु भन्ने सन्तानहरू किन मलाई बाबुआमासँग बस्ने सौभाग्य मिलेको छ भनेर भन्न सक्दैनन्?
यदि यस्तै अवस्था रहने हो र व्यस्तता देखाउँदै बाउआमाको प्रेम चाहिने बेला साना बच्चाहरुलाई कुनै अपरिचितको जिम्मा लगाएर स्कुलमा बोडस गरिदिने अनि कर्तव्य च्युत भएर बुढाबाआमालाई पनि हेर्न नसक्ने हो भने आजका बच्चाले के सिक्लान्?
बाबा आमाको माया नपाएका बच्चाले र आफ्ना बुबाआमाले उनका बुबाआमालाई गरेको माया पनि नदेखेको बच्चा पछि आफ्ना बाआमालाई कस्तो व्यवहार गर्लान्?'