आफू निर्दोष हुँदा समेत कारागारमै ४० वर्ष बिती गयो
आफूले देखेका सपना पूरा गर्ने आशाको पनि अब त लाग्छ, मिति गयो।
कक्षा २ सम्म पढिसकी, ज्योतिषीमा पनि रुचि राख्ने,
आमाको खुसीको लागि हरेक तवरबाट जुटिराख्ने।
२० वर्षको हुँदा मलाई झुटो आरोपमा फसाइयो,
अदालतको फैसला बिना नै मलाई कारागारमा बसाइयो।
सिस्नुपानीको पीडा अनि लठ्ठीका दागहरु आज पनि छर्लङ्ग देखिन्छ
आज पनि मेरो आमाको आँखामा मेरो लागि उत्तिनै माया भेटिन्छ।
आज ६१ वर्षमा पिंजडा मुक्त हुँदा पनि म ४० वर्ष नगरेकै पापमा रोएको छु
म अरुको अपराधमा आफूले हजारौं पटक आँसुले मुख धोएको छु।
म निशब्द छु, यो संसारलाई पुन: नियाल्न पाउँदा,
संसारको सामु 'रेशम फि..री..री' पुन: गाउँदा,
मेरो आगमनले पूरा गाउँमा नै खुसियालीको किरण छाउँदा
मेरी आमाले पीडाको आँसु नभई खुसीको आँसु पुछ्न पाउँदा।
करेन्ट हानिएको, लठ्ठी मेरो शरीर निर तानिएको,
सिस्नुपानी मेरो शरीरको लागि छानिएको, पल म बिर्सेरै छाड्नेछु
म मेरा मानसिक तथा शारीरिक समस्यालाई हटाएर नै जिन्दगीमा अघि बढ्नेछु।
६१ वर्ष नै त छु बल्ल, म सपना जीवित पार्नेछु
म मेरो जीवनको अन्तिम श्वाससम्म पनि
सँच्चाई अनि जितको लागि नै अघि बढ्नेछु।
म छिटै ठिक भइसकी, म जस्ता अन्यायको चपेटामा
परेका कैदीको विषयमा बोल्नेछु
म, मलाई फसाउने व्यक्ति बारे पनि अब छिट्टै मुख खोल्नेछु।