हेर्दा हेर्दै हिजो मेरो हात समाएर ताते ताते गर्दै हिँड्ने
सानी बहिनी आज तँ आफ्ना सपनाका पछाडि दौडने भइसकिछस्।
तर किन हो किन बहिनी, तेरो पंखेटा फर्फराउन नपाउँदै
यो समाजले तेरा पखेटा काटिदिने पो हो कि भन्ने डर लाग्छ
कारण, तँ त अरुका लागि ठुली भइसकिछस्।
हिजोसम्म निर्धक्क भएर हिँड्ने त्यो घर अगाडिको बाटो
अब तेरा लागि साँघुरो र अँध्यारो बन्न सक्छ,
साथीसँग खेलेर हिजोसम्म अबेला घर फर्किने तलाई
अब अलिकति अबेला हुँदा पनि समाजले प्रश्न उठाउन सक्छ,
कारण, तँ त अरुका लागि ठुली भइसकिछस्।
हिजोसम्म हामी चकलेट किन्न जाने त्यो चोकको पसलमा बसेर
तँमाथि गिद्धे नजर लगाउनेको कमी हुँदैन अब,
फूल बनेर फक्रिन नपाउँदै कोपिला नै चुड्न
पछि नपर्ने स्यालहरुको कमी हुँदैन अब,
कारण, बहिनी तँ त अरूका लागि ठुली भइसकिछस्।
आफ्नै हुन् भनेर जो कोहीसँग नजिक नहुनु तँ,
किनकि तेरो जितमा आहा! भन्दा डाहा गर्नेहरुको कमी हुने छैन अब।
तेरो हिँडाइ,बोलाइ,लवाइ, खवाइ आदिको लेखाजोखा गर्नेहरुको कमी हुँदैन अब,
कारण, बहिनी तँ त अरुका लागि ठुली भइसकिछस्।
छोरी भएर नि यस्तो... भनेर सुरु गरिएका वाक्यले
तँलाई पटक पटक प्रहार गर्न खोज्नेछन् अब
तँमाथि एउटा औंला उठाउँदा बाँकी चार वटा औंला
आफू तिरै प्रश्नवाचक चिन्ह बनेर ठडिएको कुरा भुल्नेहरुको कमी हुँदैन अब,
कारण, बहिनी तँ त अरुका लागि ठुली भइसकिछस्।
तलाई ठुली बनाउने आधार चाहिँ के?
के पहिलो पटक तेरो योनीबाट बगेको रगतले तलाई ठुली बनायो?
कि तेरो शरीरमा आएका ती अनेकौं बदलाबहरुले तँलाई ठुली बनायो?
त्यसैले बहिनी एकपटक आफैलाई प्रश्न गरी हेर् त,
के त साँच्चिकै ठुली भइसकिस् र?
मैले तँलाई यिनै कुराहरू भनिरहँदा दिक्क नमान्नु
किनकि यिनै कुरा म जस्ता धेरै दिदीले त जस्ता बैनीलाई
पहिले पनि भनिसकेको छन्।
तर दूर्दशा हिजो आमाले सानिमालाई सम्झाउँदा यो समाज जस्तो थियो
अहिले पनि दुरुस्तै उस्तै छ।
तर अब यसलाई बदल्ने काम बहिनी तँ लगायत अन्य थुप्रै बहिनीहरुको हो,
कारण, तिमीहरू अब ठूलो हैन बुझ्ने भइसक्यौ।
प्रश्न अब तैंले गर्न सिक्,
प्रश्न गर्न आखिर मैदानमा गएर ब्याटले बल नचाउन सक्ने
तेरो हातमा किन खाली त्यो बेल्नाले चौकामा गोलो रोटी नचाउन सिकाइयो?
अब यी प्रश्न हरुको जवाफ तैंले खोज्नु पर्छ
किनकि तँ अब ठुली हैन, बुझ्ने भइसकिस्।
बहिनी प्रश्न गर्न आखिर किन हिजोसम्मको
खुला आकाशको परेवा जस्ती तलाई
आज बन्द पिँजडाको त्यो अरूले जे बोल्यो त्यही बोल्ने
सुगा मैना बनाउन खोज्दैछन्।
प्रश्न मात्र हैन, तैंले अब प्रतिकार गर्
र आइलाग्नेहरुमाथि जाइलाग्ने बन्।
किनकि, तँ अब ठुली हैन बुझ्ने चाहिँ भैसकिस्।
वास्तवमा ठुली हुनु भनेको के रहेछ?
त्यसको जवाफ खोज् र सबैलाई सुनाइदे तैंले,
तँ जस्ता धेरै बहिनीहरूलाई यो जवाफको खाँचो छ।
सायद यो प्रश्नको जवाफ पाएसी
हिजो निर्मला, भागिरथी दिदीहरूसँग जस्तो घटना
भोलि बिमला र शर्मिला बहिनीसँग नघट्ला कि।
जसरी हुन्छ ठुली हुनु भनेको के रहेछ,
त्यो चाहिँ पत्ता लगा है
किनकि बहिनी त अब बुझ्ने चाहिँ भइसकिस्।