बाँसबारीको ठूलो बाँसझ्याङ फँडानी हुँदाहुँदा अहिले सानो झ्याङ् कता कता मात्र बाँकी छ। वरिपरि ठूला ठूला भवनहरू खडा भइसकेका छन्।
मान्छेलाई विलासितामा रमाउँदा रमाउँदा खुम्चिँदै गएको बाँस बारीको न कसैलाई चिन्ता छ, न त पिर नै। फुलेर ढकमक्क हुने पनि होइन। फल खान पाइने पनि होइन। उही अलि अलि तामा खाने हो। त्यो पनि आजको जमानामा मामाघर जाँदा कहिलेकाँही मात्र।
त्यही बाँसबारीको बाँसझ्याङमा एउटा बाँसको फूलमा लागेको विउ तल माटोमा झरेछ। मल जल गर्ने माली पनि कहाँ पायो र त्यसले। मालीलाई गमला स्याहार्दै फुर्सद थिएन।
माटो मुनीको जीवन उसको लागि निकै कष्टप्रद थियो। न घाम । न हावा। गुन्द्रुक खाँद्ने भाँडोभित्र गुम्सिए जस्तो। झ्याल नभएको कोठामा थुनिए जस्तो ।
आकाशबाट परेको पानीको भरमा महिना दिनमा बल्ल बल्ल टुसायो ।
घामको पहिलो स्पर्शमा पलाएका टुसा सूर्यमुखी फूल जस्तै घामतिरै लम्कन खोजिरहेका थिए। घामपानीले धेरै माया गरेर पलाउ, पलाउ, अझ माथि पलाउ, तिमी धेरै अग्लो हुनुपर्छ भन्दै हौसला दिन आउँथे हरेक बिहानी ।
विस्तारै अग्लो पनि हुँदै गयो। वरिपरि हेर्यो । अग्ला अग्ला बाँस देख्थ्यो माथि हेर्दा । अगाडि फोहरी खोलामा नाली जस्तो गरेर पानी बगिरहेको थियो । सास फेर्ने हावा पनि उस्तै प्रदूषित।
‘कस्तो उकुसमुकुस भयो’, भनेर चिच्यायो ।
अग्लो बाँस माथिबाट आवाज आयो, ‘किन अतालिएको? अब त पलाइसकिस्। पलाउनै गाह्रो हो यहाँ त। अब त बढ्दै जाने मात्र हो।’
‘कति धेरै फोहर हो वरिपरि। कति धेरै प्रदूषण। सास फेर्नै गाह्रो भयो।’
‘मान्छेको काम अक्सिजन लिने हो कार्वन फाल्ने हो । बढी भएको कार्वन हामीले लिनुपर्छ । अनि मान्छेले सास फेर्न पाउन् भनेर अक्सिजन दिनुपर्छ।’
‘अनि अरू बाँस पनि होलान् नि त यत्रो धेरै मान्छे बस्ने ठाउँमा? हामी मात्र हो र?’
‘छन् अरू पनि तर संख्या कम भएको छ। त्यसैले जिम्मेवारी थपिएको छ।’
‘कार्वन लिएर अक्सिजन दिने भए पनि यति सारो उकुसमुकुस चाहीँ किन भएको मलाई?’
‘बाँस थोरै भए मान्छे धेरै। बाँसबारी थोरै भए फूलबारी धेरै। धुवाँ निकाल्ने फ्याक्ट्रिको त कुरै नगरौं।’
‘त्यसो भए, अरू बाँस रोपे हुन्थ्यो नि त। अरू रूख रोपे पनि हुन्थ्यो। वन फँडानी गरेर जथाभावी घर नबनाए पनि हुन्थ्यो। अगाडि गन्हाउने फोहरी खोला त्यस्तै छ फेरि। हे भगवान् मान्छेमा यति मति त हालिदेउ कि मैले चैनसँग कार्वन लिन सकौं नत्र म त आमरण अनसन बस्छु। सोझो बाँस भनेर हेपेको होला। हामीलाई अवहेलना गर्ने मानवताको मति समयमा पलाएन भने बरु मलाई काटेर तिनलाई हरियो बाँस चढाइदेउ’, उसको सानो उचाइबाट ठूलो आवाज निस्कियो।
पृथ्वीमा पनि जताततै जङ्गल फडानी भएको भयै छ। अग्ला अग्ला घर र होटेल ठडिने क्रम जारी छ। नेपालकै कुरा गर्ने हो भने पनि पृथ्वीनारायण शाहले राजधानी बनाउँदा उपत्यकामा राम्रा राम्रा पाटन दरबार, भक्तपुर दरबार र बसन्तपुर दरबार थिए। नेपाल आमाको बाटेको केश जस्तो । आज लट्टा परेको कपाल भन्दा केही कम छैन। प्रकृतिको कथा व्यथा पनि त्यस्तै छ । बाँसबारी र प्रकृतिको मिल्दोजुल्दो कथा।