छोरी जन्मँदा खुसी हुने र छोरीलाई शक्ति स्वरूपा देवी, लक्ष्मीको रूप मानेर गोडा ढोगी पूजा गर्ने हाम्रो समाज। त्यति मात्र कहाँ हो र, विश्व मानचित्रमा रहेको एकमात्र त्यस्तो देश जहाँ जीवित देवी कुमारीलाई पुज्ने गरिन्छ।
पक्कै पनि गर्व लाग्छ सबै महिला तथा छोरीहरूलाई सृष्टिले आफूलाई छोरी बनाई जन्म दिएकोमा। तर सायद कहिले कुनै महिला वा छोरीलाई आफ्नो जन्म अभिशप्त पनि लाग्न सक्छ जुन बेला समाजमा उसले विभिन्न यौनजन्य हिंसा भोग्नु परेको खण्डमा।
आजको दिनसम्म आइपुग्दा हाम्रो घर, समाज धेरै विकसित भइसकेको भान हुन्छ हामीलाई। समाजका विभिन्न क्षेत्रमा लगानी बढिरहेको देख्छौँ हामी। चाहे त्यो शिक्षाको क्षेत्र होस् या मनोरञ्जनको क्षेत्र या स्वास्थ्यको क्षेत्र नै किन नहोस्।
यसरी विभिन्न क्षेत्रको विकास हुनु एकदमै राम्रो पक्ष हो। यसले हाम्रो घर, समाज र राष्ट्र हरेक तवरले सक्षम हुँदै गइरहेको छ भन्ने बुझाइ हो। एकातर्फ यी विभिन्न क्षेत्रको विकास हुँदै छ भने अर्को तर्फ हाम्रो घर, समाज र देशमा यौनजन्य हिंसा आदिका समाचारहरू विभिन्न सञ्चार माध्यममा नआएको दिन नै छैन।
सन् २०२० को विश्व जनसङ्ख्या समीक्षा तथ्यांक अनुसार 'देशगत बलात्कार तथ्यांक' अनुरूप विश्वव्यापी रूपमा लगभग ३५ प्रतिशत महिलाहरूले आफ्नो जीवनकालमा यौन उत्पीडन भोगेको तथ्य देखिन्छ।
संयुक्त राष्ट्र संघको तथ्यांक अनुसार विश्वमा ७० प्रतिशत जति महिलाहरू आफ्नै अन्तरंग पार्टनरबाट शारीरिक तथा यौन हिंसाको शिकार भएका छन्।
नेपालको सन्दर्भमा हेर्ने हो भने वित्तिय वर्ष सन् २०१९/२० को तथ्यांक अनुसार २१४४ बलात्कार र ६८७ बलात्कार प्रयासका मुद्दाहरू छन् र यी घटनामा धेरैजसो साना नानीहरू शिकार बनेको तथ्यांक 'द राइजिङ नेपाल' ले दिएको छ।
हाम्रो घर समाजमा महिला माथि हुने दुर्व्यवहार दिनप्रति दिन बढ्दो अवस्थामा छ। स्वतन्त्रतापूर्वक हिँड्न पाउने छोरीको जन्मसिद्ध अधिकारमा कुठाराघात भइरहेको छ। जतासुकै यौन हिंसा बढ्दो क्रममा छ। आफ्ना छोरीहरूलाई सुरक्षित राख्न अभिभावकहरूलाई हम्मेहम्मे परेको छ।
आज समाज जति शिक्षित बन्दै गएपनि र विकासका खोल जति ओढे पनि छोरीहरू निर्धक्कसँग न त सार्वजनिक स्थानमा हिँड्न सक्ने अवस्था छ न त साना नानीहरू स्वच्छन्द रूपले खुला स्थानमा खेल्न र डुल्न सक्ने अवस्था छ।
थाहा छैन कता कुन बेला कुन ठाउँबाट मानवरूपी ब्वाँसो आई च्याप्प समातेर लछारपछार गर्दै घिसारी लैजाने हो। अथवा कोही नरपिचासले एउटा आत्मीय पात्रको नाटक गरी गाला र शरीर सुम्सुमाएर यौन प्यास मेटाउने हो।
हरेक दिन कोही न कोही महिला वा बालिका यस किसिमको यौनजन्य हिंसाको शिकार भइरहेका छन्। जसले गर्दा महिला तथा बालिकाहरूको आत्मबल घट्ने र व्यक्तित्व विकासमा पनि बाधा उत्पन्न भइरहेको छ।
अहिले समाजमा यी घटनाक्रम बढ्नुको मुख्य कारण इन्टरनेटको विकास साथै हरेक मानिसको ल्यापटप र एन्ड्रोइड मोबाइलमा पहुँच हो। जसले गर्दा उनीहरूको हातहातमा अश्लील सामाग्रीहरू पुगेका छन्। फलस्वरूप मानिसले आफ्नो यौन चाहना पूर्तिका निमित्त विभिन्न निकास खोज्ने क्रममा यौनजन्य हिंसा निम्तिन्छ।
तसर्थ, यौनजन्य हिंसा न्यूनीकरणको लागि सर्वप्रथम हामीले हाम्रै परिवारबाट सुरूवात गर्न जरुरी छ। परिवारमा भएका छोराहरूलाई सानैदेखि नारीशक्तिको सम्मान गर्न सिकाउनु पर्छ।
साना नानीहरूलाई आफ्नो शरीर अरूलाई छुन दिनु हुन्न भन्ने कुराको ज्ञान आमाहरूले दिन जरुरी छ। साथै 'गुड टच र ब्याड टच' को बारेमा पनि साना नानी तथा बाबुलाई बुझाउन आवश्यक छ।
विद्यालयमा पनि यौनजन्य हिंसा सम्बन्धित चेतनामूलक कार्यक्रम सञ्चालन गर्न अत्यावश्यक छ। साथै समाज र सरकारले पनि सार्वजनिक स्थानलाई सुरक्षित बनाउने तर्फ लाग्नुपर्छ।
जसले गर्दा महिला तथा छोरीहरू निर्धक्कसँग उच्च मनोबलका साथ बाँच्न पाउने अधिकारको उपयोग गर्दै खुला आकाशमा श्वास फेर्न पाउन् न कि पाइला पाइलामा डराइ डराइ बाँच्न परोस्।