कविता
घर बिदाका लागि निवेदन पेश गरेदेखि
ऊ आकाशमा उड्ने चिलगाडीलाई निर्निमिष हेरिरहन्छ
अनि कल्पना गर्छ
अब म पनि चिलगाडीमा चढेर घर जाने दिन आउँदैछ
ऊ भित्तामा झुन्डाइएको भित्तेपात्रोमा
एउटा तारिख गुज्रिएपछि कट्टा चिन्ह लगाउँछ
घर जाने दिन एकदिन नजिकिएकोमा अल्लादित हुन्छ
हरियो जंगल खोलानाला झरना नदेखेको धेरै भयो उसका आँखाहरुले
सिर्फ स्मार्टफोनका चित्र र भिडिओहरु हेरेर मात्र
उसको धित कहिल्यै मरेको छैन
ऊ साक्षात्कार गर्न चाहन्छ वनपाखाहरुसँग
स्पर्श गर्न चाहन्छ माटोलाई
बालुवा र बालुवाकै आँधी हेरेर अभ्यस्त भएको ऊ
हेर्न चाहन्छ हावा हुन्डरी र असिना
गहुँ र मुसुरो नष्ट गर्यो भनेर प्रकृतिलाई दोस दिनेवाला छैन अब
असिनाले झारेका टिक्लाको अचार खान लालाहित छ
विवाह गरेर एक महिनामै छोडेर आएकी जीवनसंगिनीलाई
चाँडै आउँछु भन्दै आश्वासनमात्र दिएको धेरै भयो
विचरा ऊ चाहेर पनि भनेको बेला आफ्नो घर जान सक्दैन
कहिले स्वास्थ्य प्रतिकूल बन्छ
अहिले समय प्रतिकूल बन्छ
लाचार ऊ आफ्नै श्रीमतीसँग घर आउने भाका सारिरहन्छ
बहाना बनाइरहन्छ कहिले कोरोना महामारीको
कहिले ठूलो ऋणको भारीको
उसलाई त सबैथोक पुगिसक्यो अब
तर खै कस्को लागि
आफैँलाई सधैं जोखिममा पारिरहन्छ
सबैबाट हारेको हो, आजकल आफैसँग हारिरहन्छ
उसको तन परदेशमा छ तर मन सधैं स्वदेशमै छ
जागिर जागिर भन्दै आफ्नाहरुलाई खुसी दिन
हरदिन दुखी र अपमानित हुन्छ
थोरै कमाउँदा अझै धेरै कमाउने अभिलाषा राख्ने ऊ
आजकल उसलाई पैसाले सन्तुष्टि दिन सकेको छैन
अर्थशास्त्रको उपयोगिताको ह्रास नियम जस्तै
पैसा धेरै भएर होला सन्तुष्टि शून्य बिन्दुमा झरेको छ
थाहा छैन अब शून्यबाट अझै तल गयो भने
कस्तो नकारात्मक परिणाम दिने हो?
भोलि के होला भन्ने असुरक्षाको घेराभित्र आफूलाई कैदी बनाएर
आफूभित्रको सम्भावनालाई नजरअन्दाज गर्दै
अरुको काम गरेर जीवन चलाउने ऊ
अब नयाँ योजना बुन्दैछ
आफ्नै माटोमा पौरख गर्ने
उद्यमशील बनेर आफ्नै खुट्टामा उभिने।
अब उसले फेरि फेरि घर बिदाको लागि
कसैसँग अनुनय विनय नगर्ने सोचेको छ।
उसले बिहान उठ्दा हिमाल नदेखेको धेरै भयो
खोलाको कलकल आवाज नसुनेको धेरै भयो
चराहरूको चिरबिर नसुनेको धेरै भयो
कहालीलाग्दो सागरको सुसाई सुन्न मन छैन
अत्यासलाग्दो यान्त्रिक सहर छोड्न मन छ
उसलाई सधैँ सधैँको लागि
उसलाई यस पटकको घरबिदा
अन्तिम पटकको घरबिदा बनाउने मन छ।