मेरो देशले काँचुली फेरेको दिन
म मेरो थोत्रो बुट फुकाल्दै थिएँ
मेरो नेपालले नेता चुनेको दिन
मसक्क म मासु भात मर्काउँदै थिएँ
अब त देशले कोल्टे फेर्छ भन्ठानेर
गाउँ-गाउँ टोल-टोल आशा छर्दै थिएँ
अब त विकास उखर्माउलै हुन्छ भनेर
चियाको चुस्कीमा गफ फिट्दै थिएँ
मलाई के थाहा मेरो देशको काँचुलीसँगै
हाम्रा चालकहरुको रंग फेरिन्छ भनेर
मलाई के थाहा जनताका माननीयसँगै
गुन्डा र दलालमात्रै हुर्किन्छन् भनेर
म त सबैखाले विकास कुर्दै बसेको जनता
तर किन हो बिचौलीयामात्र मोटाएको देख्छु
देशले कुनबेला कोल्टे फेर्ला भनी ढुक्ने म जनता
तर किन हो आफ्नो देश त उत्तानै परेको पो देख्छु
लोकतन्त्रमा अन्याय अन्त्य हुन्छ भन्थे
यहाँ त न्यायलय आँखा छोप्दै नाङ्गै पो कुद्छ
कार्यपालिकाले मजाले काम गर्छ रे भन्थे
घाम ओइलिसक्यो अझै बदाम बाँकी हुन्छ
व्यवस्थापिकाले सिस्टम व्यवस्था के गर्थे र!
टेबुलमुनिको हात मिलाउनमै व्यस्त हुन्छन्
बरु म नाङ्गै हिँड्दा पनि यतिको लाज त लाग्दैन
तर यो भित्री बस्त्र फुकालेर त्यसैले मुख छोप्ने राजनीति चाहिँदैन।