पूर्णिमा गेस्ट हाउस, पोखरा। मुख्यमन्त्री निवास अगाडि तेस्रो तलाको त्यो छेउको कोठा। बिहान आठ बजिसकेको छैन। म कोठा बाहिर पुगेर उस्लाई फोन गर्छु।
भित्रबाट आवाज आउँछ- 'खुलै छ, आउँदा हुन्छ।'
म ढोका खोली भित्र जान्छु। नजिकैको त्यो टेबल माथिको फोनमा लेखिएको थियो 'पुकुली कलिङ।'
'ए फोन त काट्' उस्को आवाज।
नाम दीपा भए पनि आठ वर्षपछि भेट हुँदा पनि उस्को फोनमा पुकुली देख्दा मन निकै खुसी नै थियो।
'निर्मल किन गरिस् त यस्तो?' मेरो पहिलो प्रश्न तर जवाफ भने मुस्कान मात्र।
कपाल पाल्न निकै रुचाउने ऊ आज बिना कपाल मेरो अगाडि छ। म केही बोल्न सकेकी छैन। खै! खुसी धेरै छु होला। तर पनि प्रयास जारी छ अनेक प्रश्न सोध्ने ऊसँग तर हरेक प्रश्नलाई एक मुस्कानमा टार्ने उस्को त्यो बानी अलिक मन परिरहेको छैन।
मसँग हरेक कुरा खुलाउने ऊ आज बोलिरहेको छैन। सायद म जस्तै खुसी छ ऊ पनि। म डायरी निकाली उस्को अगाडि राखी दिन्छु। तब बल्ल उस्को ध्यान पाउन सकेँ।
'अँ, मैले भनेको यही हो पढ्।'
मुस्कुराउँदै उस्ले त्यो डायरी खोल्छ अनि पढ्न थाल्छ त्यहाँका एक/दुई कुरा
'आवाज मात्रको हाम्रो मित्रताको आठ वर्ष।'
'तैले कहाँ छु भनेर पनि कहिले भनिनस् अनि भिडिओ कल पनि कैले भएन। त्यसैले आवाज मात्र लेखेँ।'
मेरो कुरा सुनी ऊ मुस्कुराउँछ मात्र अनि पढ्न थाल्छ आफैले वर्षौं अगाडि लेखेको त्यो पत्र तर अक्षर भने मेरो।
'मर्छु भनी लेखिएको उस्को त्यो पत्र।
खै कस्को हातमा पर्ने हो, त्यो पनि थाहा छैन। हातमा पर्दासम्म म जिउँदो हुन्छु कि हुन्न भन्ने पनि थाहा छैन। तर म मर्दिनँ होला। धेरै टाढा हुने छु होला। कति जना त खुसी पनि हुनु होला यो पढेर। कस्ले पढ्नु हुन्छ भन्ने थाहा नहुँदा आफ्नै नाममा यो पत्र लेखेँ।
निर्मल म हारेको मान्छे हुँ। यो जीवनबाट हार खाइसकेँ मैले। परिवारबाट हारेँ, आफ्नो सपनाबाट हारेँ, मित्रताबाट हारेँ। परिवारले सोचेको जस्तो म हुन सकिनँ। मित्रहरुको प्रिय बन्न सकिनँ।
बा, दुई वर्ष अगाडि मलाई बुटवल पठाउने बेला तपाईले भन्नु भएको थियो नि 'तलाई त मसानघाट पठाउन आट्या हो' भनी, आज त्यही जान्छु जस्तो पनि लाग्दै छ।
दाइ हरेक पल्ट तैले भन्ने त्यो वाक्य 'तँ त मरे पनि हुन्छ, म बल्ल खुसी हुन पाउथेँ होला।' अब त खुसी हुने दिन आए जस्तो छ। मैले निकै दुख दिए है? तैले भन्ने ती कुरा याद छ मलाई।
म जस्तो भाइ पाउनु तेरो कुनै जुनीको पापको फल थिएन तर मैले यो जुनीमा पाप गरे जस्तो लाग्छ तलाई दुख दिएर।
साथीहरुका पनि गुनासा धेरै छन् होला मसँग। नयाँ पाएपछि त बिर्सने बानी रहेछ तेरो भन्ने त कति पटक सुनेँ पनि मैले। म तिमीहरुलाई नभुल्ने कोशिश नगरेको होइन। तर मैले जति पटक तिमीहरुको साथ चाहेँ, त्यहाँ त्यही नयाँको निस्वार्थ साथ पाएँ तर तिमीहरु स्वार्थी हौ भन्न खोजेको भने पक्कै होइन।
शिखर, नवीन, गीता, पारस... खै तिमीहरुले मलाई बुझेनौ कि मैले तिमीहरुलाई तर खुसी हौ आजबाट यो मान्छेको त्यो फेसबुकमा हरियो बत्ती देखाउने छैन। अन्तिम दिनमा सम्झिने भन्या नजिकको मान्छेलाई नै हो रे। त्यसैले यो पत्रमा नाम देख्दा आफूलाई दोषी नठान्नु है।
'प्लस टु'पछि कतै नाम निकाल्न सकिनँ मैले। यो अवस्थामा बुझिदिने खासै कोही भएन मेरो। परिवारको साथ त थियो होला तर मलाई लगाएका ती वचनमा मैले साथ देखिनँ। सायद मेरो नै गल्ती हो।
तपाई कसैलाई माया गर्नु हुन्छ, उस्लाई साथ दिइराख्नु भएको छ भने कहिले काहीँ देखाउने गर्नुहोला है। चाहिएको बेला साथ र माया नदेखाउँदा वा देखाउने त्यो स्वभाव नमिल्दा मन छिटै टुट्ने रैछ।'
'भयो अब अगाडि नपढ्, मनमनै पढ नभए पछि पढ्।'
यति भन्नासाथ ऊ रोकियो अनि एकोहोरो हेरिरह्यो।
आफूले आठ वर्ष पहिला के-के लेखेँ भन्ने कुरा त उस्लाई याद होला त् जस्ताको त्यस्तै पढ्न उसको अनुहार खिन्न भने देखिन्थ्यो।
'ल अब मेरो कुरा को उत्तर दे है।'
हसको इसारामा उस्को टाउको हल्लेको देखेपछि मैले प्रश्न सोधेँ 'किन गरिस् त यस्तो?'
'चाहना त मर्ने थियो यार तर मर्न सकिनँ। सबैलाई बोझ भएर बस्न सकिनँ। सायद मनमा भएका दुख देखाउन नसक्नु मेरो गल्ती हो। त्यसैले मैले गरेका हरेक कुरा सबैलाई नाटक नै लाग्ने गर्थ्यो।
म सबैको बोझ भएर बसेको थिएँ। त्यो बेला छोरो कमाउने बेला भैसक्दा पनि घरबाट नै पैसा माग्नु। एउटै कोठामा बस्ने मेरो दाइलाई म निकै बोझ भएँ। सधैँ तँ मरे मलाई आनन्द हुन्छ, म दिनकै यस्ता कुरा सुन्ने गर्थेँ।
सहने शक्ति कसरी आउँथ्यो थाहा छैन तर कुनै न कुनै त्यो नसक्ने अवस्थामा पुग्ने ढुक्क थियो अनि म भागेँ। पढाइ र परिवारको बारेमा नसोचेको हैन मैले तर पनि मेरो सोच्ने तरिका उहाँहरुले बुझ्नु भएन अनि मलाई आवारा बनाउनु भयो भने आफन्तले घमण्डी।
म अझै बस्थेँ भने कि म मानसिक रोगी हुन्थेँ कि नराम्रो लतमा फस्थेँ। त्यसैले मलाई भाग्नु नै उचित लाग्यो र भागेँ।'
'अनि आहिले के...?'
मेरो प्रश्न नसकिँदै ऊ बोल्यो- 'आहिले कति कमाउँछस? या कति कमाइस्? सोध्न खोज्या हो भने, म त्यही बसेको भए आत्महत्या गर्ने थिएँ। म भागेँ र जिन्दगी कमाएँ।'